एपिएफ हार्‍यो, मनाङ सेमिमा

काठमाडौं : लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङदी क्लब एनसेलकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा अनिल गुरुङको गोलमा मनाङले एपिएफलाई १–० ले पराजित गरेको हो । सेमिफाइनलमा मनाङले नेपाल पुलिस क्लब र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय हुने अनुमान गरिएको खेलमा अतिरिक्त समयको १९आँै मिनेटमा अनिलले गोल गरे । विपक्षी गोलरक्षक समित राजभण्डारीले अक्षम्य गल्ती गरेपछि अनिलले गोलको मौका पाएका थिए । समितले हातबाट बल फुत्काएपछि अनिलले अवसर पाएका हुन् । उनले एपिएफको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै गोल गरेका थिए । आइतबारको पराजयपछि १० पटकको भेटमा एपिएफ मनाङसँग विजयहीन नै रहेको छ ।
सुरुआतदेखि एपिएफमाथि अलिकति हाबी भएको मनाङका अग्रपंक्तिका खेलाडीलाई पहिलो हाफमा विपक्षी रक्षकले कुनै मौका नै दिएनन् । पहिलो डरलाग्दो आक्रमण भने एपिएफले गरेको थियो । ३२आँै मिनेटमा गणेश लावतीले २५ यार्ड टाढाबाट गरेको उत्कृष्ट प्रहारलाई मनाङका गोलरक्षक अमानुएलले मुस्किलले बचाएका थिए । पहिलो हाफमा मनाङको आक्रमणलाई झेल्ने क्रममा एपिएफका फरवार्ड गणेश लावतीसमेत डिपमा रहेर रक्षकहरूलाई राम्रो साथ दिएका थिए । ५७आँै मिनेटमा भने एपिएफ गोलको नजिक पुगेर पनि चुकेको थियो । वानभर्सेस वानको अवस्थामा गणेशले प्रहार गरेको बल क्रसबारमा लागेर गोललाइनको छेवैमा खसेको थियो । त्यत्तिकै राम्रो मौका गुमाउनेमा मनाङका फरवार्ड नीराजन मल्ल पनि रहे । उनले ६३आँै मिनेटमा अनिलले दिएको राम्रो पासलाई उपयोग गर्न सकेनन् । त्यसको लगत्तै सुजल श्रेष्ठको डाइभिङ हेडले गोलपोस्टको दिशा लिन सकेन । ७५औँ मिनेटमा रञ्जन विष्टलाई दिनुपर्ने बल आफै प्रहार गरेर एपिएफका गणेशले अर्को अवसर खेर फाले । एपिएफका राजेन्द्र रावलले गरेको हेड प्रहारलाई असिस्टेन्ट रेफ्री पद्म भुजेलले अफसाइड लिएपछि विभागीय टोलीले केही समय खेलमा अवरोध पुर्‍याएको थियो । (सौस)

प्रतिक्रिया