नेपाल श्रीलंका मर्चेन्टका अध्यक्षसहित दुई सञ्चालक पक्राउ

काठमाडौं, २२ असोज । तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष एवं सञ्चालकलाई प्रक्रियाविना ऋण प्रवाह गरी वित्तीय संस्थालाई हानिनोक्सानी पुर्‍याएको आरोपमा पक्राउ परेका छन् ।
नेपाल श्रीलंका मर्चेन्टका तत्कालीन अध्यक्ष कार्यकारी अध्यक्ष रुवी जोशी र दुई सञ्चालक डा. श्रीरामप्रसाद लामिछाने र गौरीशंकर चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो । निजको क्रियाकलापबाट संस्थालाई ३५ करोड ३१ लाख रुपियाँ क्षति भएको आरोप लगाइएको छ । नेपाल श्रीलंका मर्चेन्ट बैकिङ एन्ड फाइनान्स लिमिटेड हाल नेपाल बंगलादेश बैंकमा गाभिइसकेको छ । ती दुवै संस्था व्यावसायिक घराना एबी समूहसँग सम्बन्धित छन् ।
नेपाल राष्ट्र बैंकले दुई संस्था गाभिनका लागि अन्तिम स्वीकृति दिइसकेको अवस्थामा नेपाल राष्ट्र बैंकको निर्देशन प्रतिकूल हुनेगरी वित्तीय संस्थाको सेयर आफैँ खरिद गर्ने वा जनमानमा राखी ऋण दिन नहुने प्रावधान छ । त्यसैगरी, संस्थाका संस्थापक, सेयरधनी तथा कर्मचारीलाई कर्जा तथा गैरकोषमा आधारित सुविधा प्रदान गर्नमा समेत बन्देज लगाइएको अवस्थामा संस्थापक समूह एबी गु्रुपले संस्थापक सेयरको धितोमा कर्जाको प्रयोजनसमेत स्पष्ट उल्लेख नगरी वित्तीय संस्थामा ठूला परिणाममा ऋणीको भाखा नाघेको कर्जा बाँकी हुँदाहँुदै पनि कर्जा दिएको आरोप नेपाल राष्ट्र बैंकले लगाएको छ ।
वित्तीय संस्थाले विनापुष्टयाइँ व्यक्तिगत जमानीबाहेक कुनै धितो नै नलिई ऋणीले मागेको भन्दा बढी कर्जा प्रवाह गरेको राष्ट्र बैंकको अनुसन्धानबाट खुलेको थियो । संस्थाको यस्तो क्रियाकलापबाट बैकिङ स्रोत, साधन र सम्पत्तिको दुरुपयोग भएको र ऋणी व्यक्ति तथा संस्थालाई अनुचित फाइदा पुग्ने तथा वित्तीय संस्थालाई प्रत्यक्ष हानीनोक्सानी पुर्‍याई बैकिङ कसुर गरेको ठहर राष्ट्र बैंकले गरेको छ ।
बैकिङ कसुर गरेको आन्तरिक अनुसन्धानबाट पुष्टि भएपछि राष्ट्र बैंकले संस्थाका कार्यकारी अध्यक्ष जोशीसहित अन्य सञ्चालकको खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशनसमेत दिइसकेको छ । एनबी बैंकमा मर्जमा जाने निर्णय भइसकेपछि गैरकानुनी रूपमा ऋण लगानी गरेको पुष्टि भएपछि राष्ट्र बैंकले खाता रोक्का राख्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । श्रीलंका मर्चेन्टले एनबीसँग मर्जरमा जानुअघि अल्का अस्पताललाई नौ करोड रुपियाँ ऋण दिएको थियो । मर्जर प्रक्रियामा गइसकेको बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृतिविना दीर्घकालीन प्रकृतिको ठूलो ऋण लगानी गर्न पाउँदैन । नेपाल श्रीलंकाले राष्ट्र बैंकलाई नसोधी गोप्य रूपमा ऋण लगानी गरेको हो । प्रक्रिया मिचेर दिएको यो ऋणका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका व्यक्तिहरू वित्तीय संस्थाका कार्यकारी अध्यक्ष ६७ वर्षीय जोशी, तत्कालीन सञ्चालक ६३ वर्षीय डा. लामिछाने र ६९ वर्षीय अर्का सञ्चालक चौधरी हुन् । प्रारम्भिक अनुसन्धानबाट फाइनान्सलाई निजले ३५ करोड ३१ लाख रुपियाँ हानिनोक्सानी पुगेको आरोप लागेको छ । एनबी समूहसग सम्बन्धित सबै पब्लिक कम्पनी समस्याग्रस्त अवस्थामा रहेका छन् ।
बिमा समितिले हालै मात्र सोही समूहद्वारा प्रवद्र्धित एनबी इन्स्योरेन्सलाई बिमाको कारोबार सर्तसहित पुन: सुचारु गर्न अनुमति दिएको छ । सोही समूहद्वारा प्रवद्र्धित नेसनल हाइड्रोपावरको सेयर कारोबार नेपाल स्टक एक्सचेन्जमा रोक्का रहेको छ । संस्थाले विगत दुई वर्षदेखि साधारणसभा नगरेका कारण सर्वसाधारण सेयरधनीले माग गरेपछि पटकपटक साधारणसभा गर्न सूचना गरे पनि विभिन्न बहाना झिकेर साधारणसभा गरिरहेको छैन । पछिल्लोपटक साधारणसभा हुने दिन कोरम नपुगेको जनाउँदै साधारणसभा स्थगित गरिएको थियो । सोही समूहले प्रवद्र्धन गरेको निजी क्षेत्रका दुई बैंकहरू नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नेपाल बंगलादेश बैंकमा राष्ट्र बैंकले व्यवस्थापन लिएर हालै मात्र पुन: हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया