चार महिनापछि राहत वितरण

जाजरकोट, २१ असोज । गत असार अन्तिम साता आएको पहिरोबाट पीडित पूर्वी जाजरकोटको डॉडागाउ‘–३, स्थित चिउरी गाउँका एक सय ५६ परिवारले झण्डै चार महिनापछि आज राहत पाएका छन् ।
बर्षाका कारण गाउ“को विभिन्न भाग भासिनुका साथै अधिकांश घरहरु चर्किएका थिए । बर्षाले बालिनाली समेत नष्ट गरेको थियो ।
चिउरी गाँउका सबै परिवारलाई केही दिन अघि बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिले राहत उपलब्ध गराउने निर्णय गरेको हो । समितिले उनीहरुलाई प्रति परिवार एक हजार नगद र ५० किलो चामल वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णश्याम बुढाथोकीले जानकारी दिए ।
जिल्ला दैवी प्रकोप उद्धार कोषबाट प्रति परिवार एक हजारका दरले एक लाख ५६ हजार नगद वितरण गरिएको छ भने जिल्ला विकास समितिको दुई लाख र केयर नेपालको तर्फबाट ५० हजार बराबरको चामल राहतस्वरुप पीडित परिवारलाई प्रदान गरिएको बुढाथोकीले बताए ।
एक सय ५६ परिवार रहेको गाउँमा ७८ घर बढी जोखिम छन् । कुनै परिवार विस्थापित नभए पनि सबैको आर्थिक अवस्था नाजुक छ ।

प्रतिक्रिया