पछिल्लोपटक राष्ट्रपतिसँग भएको सर्वदलीय बैठकपछि राजनीतिक सहमतिका लागि भन्दै सत्तापक्षले घोषणा गरेका विरोधका कार्यक्रम रोके भने विपक्षी दलले घोषणा गर्ने भनेका विरोधका कार्यक्रम पनि घोषणा गरेनन् । राष्ट्रपतिसँगको सर्वदलीय बैठकले दलहरूले विरोधका कार्यक्रम केहि पर सारे । त्यो बाहेक अरू कुनै आशलाग्दो कुरा आउने देखिँदैन । विगतदेखि नै माओवादीले सहमतिका लागि वार्ता भन्दै अन्य दललाई फकाउँदै आइरहेको छ । सहमति गर्न ऊ कुनै पक्षबाट पनि तयार छैन । उसका लागि यही अवस्था र सत्ता नै प्यारो छ ।
सत्तापक्ष र विपक्षी दलबीच त मतभेद छँदै थियो त्यो भन्दा पनि अचम्मको कुरा सरकारको दाबी गरिरहेको कांग्रेसमा नै मतभेद देखियो । सर्वदलीय सरकारको नेतृत्व कांग्रेसले गर्ने भनेदेखि नै सरकारको नेतृत्व गर्न कस्सिएका सुशिल कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच चर्को प्रतिस्पर्धा चलेको छ । तिनीहरू नै आपसमा जुधेका छन् । एउटै दृष्टिकोण राखेर प्रतिस्पर्धा गर्न अप्ठ्यारो हुने हुँदा कोही निर्वाचनमा जाने भन्दै छन् भने कोही मरिसकेको संविधानसभा ब्युँताउनुपर्छ भन्दै छन् । आन्दोलनकै कुरा गर्दा एकथरी विपक्षी दलको वैठकमा गएर आन्दोलनलाई सशक्त बनाउने कुरा गर्छन् भने अर्काथरी आन्दोलनमा जनताको उपस्थिति हुँदैन भन्दै सत्तापक्षको सहानुभूति लिन खोज्दै छन् । कांग्रेस नै अहिले आन्दोलनको बाधक बनेको छ । कांग्रेसको एउटा पक्ष सरकारसँग नजिक हुन खोज्ने अर्को पक्ष प्रतिपक्षसँग नजिक हुने यो कस्तो विपक्षी दल हो ? माओवादीको विभाजनपछि ठूलो दल बनेको कांग्रेसले अबको बाटो कुन हो छुट्याउन सकेको छैन । त्यसले गर्दा अन्य दलमा पनि अन्योलता देखिएको छ भने सर्वसत्तावादी सोच राख्ने माओवादीलाई सजिलो भएको छ ।
कांग्रेस नेता शेरबहादुरले सरकारको नेतृत्वको दाबी गर्नु पनि मनासिव नै देखिन्छ । किनकि गणतन्त्र आउनुअघि शेरबहादुर त्यस्ता प्रधानमन्त्री हुन् जसले जम्बो मन्त्रीमण्डल बनाए, पजेरो भित्र्याए, पुरुषलाई सुत्केरी भत्तारूपी औषधि खुवाए, हुँदाहुँदा संसद् भंग गरी प्रजातन्त्र दरबारलाई बुझाए । सबैभन्दा धेरैले विश्वास गरेका प्रधानमन्त्री बाबुराम भट्टराईले पनि इतिहासमै सबैभन्दा ठूलो मन्त्रीमण्डल बनाए, पूर्व विशिष्ट व्यक्तिलाई करोडौँको सुविधा उपलब्ध गराए, राहतका नाममा राज्यको अर्बांै रुपियाँ कार्यकर्तालाई बाँडे, अपराधीका मुद्दा फिर्ता लिए, हुँदाहँुदै एक जुगमा एक पटक पाइने संविधानसभा पनि विघटन गरेर देउवाको रेकर्ड ब्रेक गरे । पुन: नयाँ इतिहास बनाउन देउवा सरकारको नेतृत्व गर्न कस्सिएका छन् । हामी नेपालीलाई साँच्चै सतीले सरापेकै रहेछ क्यारे † नयाँ ब्यवस्था ल्याएर नयाँ व्यक्तिलाई सत्ता दिदा पनि हिजोका नालायक नै आज फेरि सरकारको नेतृत्वको दावेदार भए । अब, यिनैले सरकारको नेतृत्व गर्ने भए भने यो मुलुक को हालत अझ कस्तो होला ?
२००७, ०१६ र ०४६ सालको जनआन्दोलनपछि पटकपटक स्पष्ट बहुमत ल्याउँदा पनि सरकार चलाउन नसकेको कांग्रेसले अब बन्ने सहमतीय सरकारको नेतृत्व गर्न सक्ला भन्ने जनतालाई विश्वास छैन । प्रजातन्त्र ल्याउनमा कांग्रेसको लामो इतिहास भए पनि कांग्रेसकै कारणले प्रजातन्त्र धरापमा परेको इतिहासलाई पनि बिर्सन मिल्दैन । अहिले माओवादीले प्रजातन्त्र मासेर तानाशाही निरंकुश शासन चलाउन लागिपरेको छ । प्रजातन्त्रवादी र निरंकुशतावादीबीच युद्ध नै चलेको छ । लडाइँमा कुन शक्तिको विजय हुने हो भन्न सकिने अवस्था छैन । प्रजातन्त्रमा विश्वास गर्ने सबै दल एक हुनुपर्ने अवस्थामा सहमतीय सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्दादेखि पार्टीभित्र झगडा सुरु भएको छ । कांग्रेसका केही नेता आफू प्रधानमन्त्री हुन नपाए बरू माओवादीले नै निरंकुश शासन चलाओस् भन्ने सोचमा छन् । यस्तो विचार राख्नेलाई प्रजातन्त्रका लागि लडेको भन्न मिल्छ ? यस्तै विचारका कारण २०१७ साल आएको हो, माओवादीको आतंक सफल भएको हो । अब पनि सौताका रिसले लोग्नेको काखमा … गरे जस्तै गर्ने हो भने माओवादीको निरंकुश शासन चलाउने पक्का छ । यस्तो सोच प्रजातन्त्रका लागि कति घातक छ भनेर कांग्रेसका नेताले होइन त्यो पार्टीका कार्यकर्ताले पनि सोच्न आवश्यक छ । किनकि प्रजातन्त्र प्रधानमन्त्रीको आस गर्नेका लागि होइन युवाका लागि खाँचो छ ।
नेपालको इतिहासमा सबैभन्दा सफल प्रधानमन्त्री मनमोहन अधिकारी हुन्, जसको अरू कसैसँग तुलना हुनै सक्दैन । दुइतिहाई मत ल्याएर प्रधानमन्त्री भएकादेखि सामान्य बहुमत ल्याएर प्रधानमन्त्री भएकाहरूले विदेशीको आडमा सत्तामा टिकिन्छ भनेर राष्ट्रहित विपरीत सन्धि सम्झौता गरेका छन् । इतिहास साक्षी छ प्रधानमन्त्रीको पद बचाउन कसले कतिसम्म राष्ट्रघाती सन्धिसम्झौता गरेका छन् भनेर । तर, मनमोहनले विदेशीको त कुरै छाडौँ ३० वर्ष शासन चलाएको र जनआन्दोलनपछि राप्रपाका नाममा उदाएका शक्तिसँग पनि सम्झौता गरेर प्रधानमन्त्रीको कुर्सी बचाउन चाहेनन् । त्यतिबेला त्यो शक्ति प्रतिगामीका रूपमा थियो । तत्कालीन समयमा राप्रपालाई दुई, तीनवटा मन्त्री दिएको भए उनको सरकार कति समय जान्थ्यो भन्न सकिदैनथ्यो । गणतन्त्र आइसकेपछि पनि गैर कांग्रेसका चारवटा सरकार बने । त्यसमध्ये माओवादी सरकार चलाउन पूर्णरूपमा असफल भयो भने एमाले केही हदसम्म सफल रह्यो । त्यसमा पनि माधव नेपालको सरकार मनमोहनपछिको सफल सरकार रह्यो ।
राजनीतिक दलको सत्तास्वार्थका कारण अहिले जनतामा निराशा छाएको छ । उनीहरूले सबै पार्टी तथा तिनका नेतृत्वलाई गाली गरेका छन् । नेता र पार्टीलाई जति गाली गरे पनि आखिरमा त्यसको अर्को विकल्प पनि छैन । मुलुकको यो कहालीलाग्दो अवस्थाबाट पार लगाउन अब पार्टी होइन, व्यक्ति छान्न आवश्यक छ । जनताले धेरै नेता र पार्टीको शासन देखे । अब, तीमध्येबाटै जनताले छानेको नेताले सहमतिय सरकारको नेतृत्व गर्नुपर्छ । त्यो नेता पार्टीभन्दा माथि उठेर सोच्न सक्ने, सिंगो नेपाललाई घर र जनतालाई आफ्नो परिवार सम्झन सक्ने हुनपर्छ । गिरिजाले मुलुकलाई बर्बादीमा लगे । मुलुकलाई युद्धभूमि बनाए । उनकै कारण आज मुलुकले यो दुर्गति भोग्दै छ । यति हुँदाहुँदै पनि उनी अन्तर्राष्ट्रिय स्तरका नेता थिए । उनको मृत्युपछि यो मुलुकमा अन्तर्राष्ट्रिय स्तरका नेता माधव नेपाल छन् । गिरिजाले लथालिंग पारेको अवस्था र त्यसमै रमाउन चाहिरहने माओवादीलाई पाठ सिकाउँदै मुलुकलाइ निकासा दिन सक्ने नेता उनी नै हुन । प्रजातन्त्रमा विश्वास गर्ने पार्टीले माधव नेपाललाई साथ दिनु पर्छ । माओवादीको टाङ्मुनि छिरेर होइन त्यसका गलत कामको भण्डाफोर गरेर चल्न सक्नुपर्छ । प्रधानमन्त्री हँुदा नेपालले गाउँगाउँबाट नागरिकलाई डर धम्की दिँदै राजधानी ल्याएर राज्यसत्ता कब्जा गर्ने उद्देश्यले गरेको माओवादीको आन्दोलनलाई असफल पारिदिए । त्यसैगरी अब पनि राज्यसत्ता कव्जाको सपना देख्ने सर्वसत्तावादीलाई पाठ सिकाउने नेता उनी मात्र हुन सक्छन् । कांग्रेस मुलुकको गम्भीर परिस्थितिलाई बिर्सिएर कुर्सीका लागि झगडा गर्दै बसेको छ । त्यसले सरकारको नेतृत्वको दाबी गर्नु र अन्य पार्टीले पनि सरकारको नेतृत्व कांग्रेसले गर्छ भन्नु मुलुकलाई झन् भड्खालोमा हाल्नुसरह हुनेछ । त्यसैले कांग्रेस प्रधानमन्त्रीको पदका लागि आपसमा झगडा गरेर बस्नुभन्दा प्रजातन्त्रमा विश्वास गर्ने परिस्थितिसँग जुध्न सक्ने नेताले नै अबको सरकारको नेतृत्व गर्नुपर्छ भनी आन्दोलनमा आउनु नै अहिलेका लागि हितकर हुनेछ । माधव नेपाल अहिले देखिएका नेतामध्ये नैतिकवान्, क्षमतावान् र विश्वास गर्न लायक नेता हुन् । जनता यही मूल्यांकन गर्दै छन् । प्रजातन्त्रमा विश्वास गर्नेले उनलाई अगाडि बढाएर जानु सबैको हितमा हुनेछ ।
प्रतिक्रिया