एउटा क्रोधी भिक्षु

यो दुर्घटना म बौद्धमै हुंदा भएको थियो ।
आनी सुलक्षणा आलसतालस भएर आउनुभएको थियो बौद्धमा एकाबिहानै । मलाई भेटेपछि अँगालो हालेर रुन थाल्नुभयो, ‘साना गुरुले अस्पतालमै देहत्याग गर्नुभयो सुजाता †’
पत्याउन गाह्रो भयो मलाई । हेरिरहेँ उहाँलाई । ‘के भयो ?’
आनी बोल्न सक्नुभएन । आनी पासाङ थिइन् साथमा, उनलाई सोधेँ ।
त्यो साँझ सुलक्षणा साना गुरुलाई खुवाईवरी ओछ्यान मिलाइदिएर आफ्नो कोठामा पस्नुभएको थियो रे † कोठामा यताउति तानेमाने गर्दागर्दै एक्कासि तल आँगनमा कुकुर र मान्छे चिच्याएको सुन्नुभएछ । झ्यालबाट तल हेर्दा अँध्यारोमा उहाँले खासै केही देख्नुभएनछ । त्यतिखेर लोडसेडिङ थियो रे †
‘हुन त ठ्याक्कै के भयो कसैले थाहा पाएन । तर, कुकुर तल ओर्लेछ कि राति, त्यसकै पछिपछि साना रिन्पोछे जानुभएछ क्यारे † रेशम भान्छामा काम गर्दै रहेछन् । ढोका खुलै थियो रे । भुक्दै चौरमा निस्केछ कुकुर, सायद चितुवा आएको थाहा पाएको हँुदो हो । कुकुरलाई क्वाँप्पै गाँजेछ चितुवाले ।’
‘अनि ?’
‘कुकुरलाई फुत्काउन जाँदा हो कि, चितुवाले साना गुरुलाई पनि हमला गरेछ । कुकुर त तत्कालै मरेछ, साना गुरु पनि रगतपच्छे भएर लडिरहनुभएको थियो । लामा पाल्देन साना गुरुको पढ्ने कोठामै हुनुहुँदो रहेछ । उहाँले समेत गुरु निस्केर गएको चाल पाउनुभएनछ ।’
पासाङ पनि रोइरहेकी थिइन्, ‘मेरो कोठाबाट पनि कुकुर बेस्सरी रोइरहेको … निकै लुछाचुँडी भए जस्तो मान्छे चिच्याए जस्तो आवाज सुनेपछि दौडेर तल जाँदा त अनर्थ भइसकेछ… ।’ पासाङले मुस्किलले कुरा टुंग्याइन् ।
म स्तब्ध भएँ सुनेर । साङ्गे लामाले हेलम्बुबाट गुम्बाका लागि भनेर ल्याएको सानो भोटे कुकुर मैले पनि देखेकी थिएँ । गुम्बाको बूढो कुकुरलाई चितुवाले लगेपछि त्यो कुकुर ल्याइएको थियो । चार तलामाथि साना रिन्पोछेको कोठाबाहिर कौसीको कुनामा एउटा खोर बनाएर राखिएको थियो त्यसलाई । साना गुरु घरीघरी गएर त्यसलाई हेर्नुहुन्थ्यो, ठुटो पुच्छर हल्लाउँथ्यो त्यो । खैरो भुवाको डल्लो जस्तो निकै सुन्दर थियो । साना रिन्पोछे बल फाल्नुहुन्थ्यो † कुकुर दौडेर बल समात्थ्यो र ल्याएर उहाँलाई दिन्थ्यो । कुकुरलाई उहाँको कोठामा जाने अनुमति थिएन, तर कुकुरप्रति प्रेम थियो साना रिन्पोछेको ।
आनी सुलक्षणा एक सासले बोल्नुभयो, ‘हाम्रो होसहवास गुम भएको थियो नानी । चितुवा चाहिँ देखिएन । सबै समाप्त गरेर त्यो बेपत्ता भएको थियो ।’
गुम्बाको जिपमा हालेर हिजो राति नै साना गुरुलाई अस्पताल ल्याइएको रहेछ । टाढा, कच्ची बाटो मोटरबाट ल्याउँदा करिब एक घण्टै लागेछ । राति नै अपरेसन भएछ ।
‘आज बिहानै साना गुरुले देह छोड्नुभयो । आन्तरिक रक्तस्राव धेरै भइसकेछ, हामीले केही गर्न सकेनौँ भने डाक्टरले ।’ पासाङले भनिन् ।
होसमा आउँदै बौरिँदै हुनुहुन्थ्यो आनी सुलक्षणा । मेरो काँधमा टाउको राखेर हिक्कहिक्क गरिरहनुभएको थियो । आँखाबाट आँसुको भल बगिरहेथ्यो । विक्षिप्त थियो उहाँको अवस्था ।
०००
बौद्ध परम्परा अनुसार ४९औं दिनका दिन साना गुरुको अन्त्येष्टि संस्कार सम्पन्न भयो । त्यति दिनसम्म उहाँलाई ध्यानमुद्रामा बसालेर बौद्ध गुम्बामै राखियो । उहाँको अन्तिम दर्शन गर्न टाढाटाढादेखि आएका थिए भिक्षु † भारत, भुटान, बर्मादेखि पनि आएका थिए । दलाई लामा आउने कुरा थियो, तर पछि किन हो, आउनुभएन । कतिपयले भन्ठाने… कुनै कूटनीतिक कारण होला ।
गुरुको अवसानपछि बौद्ध सभाको पहिलो बैठक बसेको थियो, तिब्बती गुम्बामा । नीति निर्णायक भिक्षुहरू उपस्थित थिए । सब चुप, स्तब्ध थिए ।
गुम्बामा साना गुरुको हेरविचार गर्ने आनी र लामामाथि लापरवाहीको आरोप लागेको थियो । उनीहरू बोलाइएका थिए ।
गुम्बामा पुग्दा देखेँ… आनी सुलक्षणा निहुरी परेर बस्नुभएको छ । उहाँका आँखाबाट अविरल आँसुका धारा बगिरहेछन् । आनी निमा, पासाङ र लामा पाल्देन अँध्यारो अनुहार लगाएर एउटा कुनामा बसेका छन् ।
गुरुदेव छोडेन गम्भीर मुद्रामा बसिरहनुभएको छ, आफ्नो आसनमा ।
युवक भिक्षु सुदर्शन आक्रामक रूपमा प्रश्न गरिरहेथे, ‘आनी सुलक्षणा † तपाईंहरूकै रेखदेखमा हुनुहुन्थ्यो साना टुल्कु रिन्पोछे । तपाईंहरूको मूल काम नै उहाँको हेरविचार थियो । यत्रो लापरवाही कसरी गर्नुभयो ? साना टुल्कु एक्लै राति तल झर्दा तपाईंहरू कहाँ हुनुहुन्थ्यो ? यो दुर्भाग्यपूर्ण अवस्थाको लागि तपाईंहरूलाई सजाय किन नगर्ने ?’
‘सजाय दिनुस् लामा । हामीलाई जति सजाय दिए पनि कमै हुन्छ । हाम्रै लापरवाहीले साना गुरुको ज्यान गयो । दोष हाम्रै हो ।’ आनी सुलक्षणा हात जोडेर रुँदै भनिरहनुभएको थियो, ‘गुरुहत्याको सजाय जे हुन्छ त्यही दिनुहोस् † स्वीकार छ हामीलाई ।’
म कुनामा बसिरहेकी थिएँ । मलाई खपिसक्नु भएन, उठेँ, ‘पख्नुस् भिक्षुदेव † आनी सुलक्षणालाई सजाय गर्नुअघि मेरा केही प्रश्नको उत्तर दिनुपर्नेछ तपाईंले ।’
सबैका आँखा ममाथि केन्द्रित भए । सुदर्शन खेन्पोले मलाई हेरे र थप क्रुद्ध भए, ‘न्यूनतम बुद्ध भिक्षुसरहको हैसियत पनि नभएको वितण्डावादी व्यक्तिलाई यो सभामा प्रवेश कसले दियो ? सामान्य जिज्ञासुलाई बौद्ध सभाको निर्णयमा औँला ठड्याउने अनुमति नै कसले दियो ?’

म आफ्नो नियन्त्रणमा थिइनँ त्यतिखेर । आनी सुलक्षणाको प्रेमले त्यसो भएको थियो वा बौद्ध परम्परामा गलत नजिर बस्न लागेकाले मलाई खपिनसक्नुभएको थियो, ठ्याक्कै थाहा छैन । तत्कालै प्रतिवाद गरेँ, ‘भिक्षुदेव † तपाईंले पोसाक त भिक्षुकै लगाउनुभएको छ, तर तपाईंको यो क्रोधी रूपमा म भिक्षु देखिरहेकी छैन । प्रश्नदेखि डराउने मान्छे गुरु कसरी हुन्छ भन्ते ? प्रश्न चाहे जसले गरोस्, गुरुले त्यसको उत्तर दिनैपर्छ ।’
बोल्न ठिक्क परेका उनको उत्तर नपर्खी मैले प्रश्न गरेँ, ‘भिक्षुदेव † यो आरोप तपाईं ती महिलामाथि लगाउँदै हुनुहुन्छ, जो अनुभव र ज्ञानमा तपाईंभन्दा धेरै माथि हुनुहुन्छ । आनी सुलक्षणा गुम्बा प्रवेश गरेकै पैँतीस वर्ष भएको छ, करिब–करिब तपाईंको सिंगै उमेरजति । साना गुरुलाई मुटुको टुक्रा जस्तो गरी स्नेह गर्नुहुन्थ्यो उहाँ † रेखदेख गर्नुहुन्थ्यो । जे भयो, त्यो लापरवाहीले भन्दा पनि आश्चर्यजनक रूपमा भयो । के भयो भनेर कसैले बुझ्नै सकेन, यति छिटो भयो ।’
आनीले बडो भरोसाले मलाई हेर्नुभयो । मलाई अपार सन्तोषको अनुभव भयो ।
‘भन्ते † यो घटनाले पहेँलो गुम्बाका सबै मान्छे मरेतुल्य भएका छन् । तपाईंको यो आरोपले तिनको हृदयमा जुन चोट लागेको छ, त्यो हिंसा हो कि होइन ? कर्मको सिद्धान्तमा विश्वास गर्ने बुद्धमार्गीले कसैको मृत्युको दोष अरूलाई कसरी लगाउन मिल्छ ? तथागत आफैँ करूणा र दयाका प्रतिमूर्ति हुनुहुन्थ्यो । तपाईं उहाँको शिष्य कसरी यति कठोर हुनुभयो ?’
‘बुद्ध भगवान्ले कर्मफलको पछि लागेर मान्छेलाई कर्तव्य र अनुशासनबाट विमुख हुनुपर्छ भन्नुभएन मूर्ख युवती † बुद्ध धर्मको कर्मवाद हिन्दूहरूको कर्मवाद जस्तो रुढ होइन ।’
म बोल्दाबोल्दै हस्तक्षेप गरे सुदर्शनले । निकै उच्च थियो उनको स्वर ।

(शर्माको प्रकाशोन्मुख उपन्यास ‘ताप’बाट)

प्रतिक्रिया