हो, भोलि सबै बदलिनेछ…

कवितामा शिल्पगत वैशिष्ट्य र भाषा वैभवले विश्वका आमपाठकलाई सर्वाधिक आकर्षित गर्न सफल विश्वसाहित्यका एक अविस्मरणीय इतिहास हुन् – पाब्लो नेरुदा। शब्दको आत्मासित अत्यन्तै निकट सम्बन्ध रहेका यी कविका कविता त्यस्तो शस्त्र हो जसलाई पढेपछि संवेदनशील पाठकले पानी माग्न सक्छ। नेरुदाको खुबी भनेकै कवितालाई बेजोड मर्मभेदी बनाएर पाठकलाई आफ्नो आत्मीय हिरासतमा राख्नु हो। तिनै नेरुदाले आफूलाई मन परेको कवि र कविताका किताब बारे लेखेको दुई छुट्टाछेट्टै शीर्षकको लेखका केही अशंलाई अनुवाद गरी यहाँ एउटै शीर्षक दिएर प्रस्तुत गरिएको छ :

हाम्रा प्रतिष्ठित कवि निकोनार पाराद्वारा सम्पादित एवं अनुदित सोभियत कविताहरूको एक संग्रह हालै चिलीमा प्रकाशित भएको छ । मैले यसलाई भर्खर–भर्खर पढेर पूरा गरँे । साँच्चै म आश्चर्यमा छु कि सोभियत कविताको धेरै स्पेनिस अनुवादमा मैलै पहिलोचोटि असली कविता पाउन सकेँ ।
कुनै अर्कै देशको कवितालाई अनुवाद गर्नु ज्यादै मुस्किल काम हो । कुनै भाषामा अभिव्यक्त गरिएको विम्ब र पराई तुक्काले आफँैमा चकित पार्ने ताजापन सजाएको हुन्छ, जसको तुलना बिहानीको शीतसँग गर्न सकिन्छ । र, कहिले यसले पाठकलाई चम्किरहेको नीलमणिको जस्तै आभास दिन सक्छ त कहिले कठोर काँचो फलामजस्तो । कहिलेकाहीँ जंगली जनावरले जसरी यो विम्बले अनुवादकलाई नै झम्टन सक्छ र प्राय: उसैलाई खाइदिन पनि सक्छ ।
यस्ता धेरै कवि छन् जसका कविता मुलरूपमा ज्यादै खारिएका छन् । के. अलेक्जेन्डर त्वारदोवस्की तिनैमध्येका एक कवि हुन् । उनका कविताको ढाँचा विशुद्ध रुसीजस्तै छ जसले अन्य भाषामा स्थानापन्न खोज्नै सक्दैन । नयाँ संग्रहमा उनका दुई कविता छन् । तर, एउटै अनुवाद ‘एब्रोड इन दोज डेज’ले उनका नयाँ पाठकलाई यस्तो आभास दिलाउन सक्षम छ कि उनीहरू एक महान् कविको कविताबाट गुज्रिरहेका छन् ।
येवगेती यब्तुसेन्को परीक्षामा खरो उत्रिएका छन् । अनुवादकले उनलाई नयाँ सुट पहिराइदिएका छन् । तर, स्पेनिस भाषामा यति मुनासिब तह जरुर छ जसले उनीहरूलाई सुन्दर बनाइदिन्छ । येब्तुसेन्कोका कविता सहज, प्रभावशाली र सुन्दर लाग्छन् । मलाई येवनेजी विनोकुरोबको कविता ‘भेरायटी’ ले पहिलोपटक पढ्नेबित्तिकै छोयो । यो निर्विवादरूपमा बलवान् छ र यसको अन्त्य कुनै यात्राजस्तै छ, गहिरो र टाढासम्म प्रहार गर्नसक्ने खतरापनले भरिएको । तर, मलाई बज्रले जसरी प्रहार गर्ने कविता भने सर्गेइ येसेनिनकको १९२० मा लेखिएको ‘कन्फेसन अफ अ हुलिगन’ हो । अहिलेसम्म म यो कवितासित कसरी अपरिचित रहँे ? यस्तो आँखा खोल्ने र यति धेरै कुरा भन्ने यो कविता हिजो भर्खरै लेखिएको हो, ४६ वर्ष अघि होइन । कविता सीमारहित रुसी भूमिको भावनाबाट ओतप्रोत छ । यो कविता यति गीतात्मक छ कि एउटा कविले आफ्नो मातृभूमिको नाममा एउटा चिठी लेखेका हुन् ताकि मानिस वर्षौंपछि उनको कन्फेसनलाई आत्मसात् गरून् र उनको प्रतिबद्धतालाई बुझून् । यी विशाल कविको मृत्यु अन्तर्राष्ट्रिय कवितामाथिको अपूरणीय क्षति हो । जब मैले यी कविका कविताका अंग्रेजी र फ्रेन्च अनुवाद पढेको थिएँ, त्यतिबेला पनि मलाई यस्तै महसुस भएको थियो । हाललाई अब यो संकलन पढेर म उनको विद्रोही मनको बेगलाई बुझ्न सक्छु ।
संकलनमा केही यस्ता कविता उपलब्ध छन् जसलाई म मन पराउँछु । तर, यसमा मार्गरिटा एलाहरको सुन्दर प्रेम कविता छ । मलाई उनका कविता अत्यन्तै डगमगाउँदो लाग्छ । जहिले मैले यी लेखिकासित भेटेँ, म चिलीको सहरभन्दा टाढाको गाउँमा यात्रामा थिएँ र उनी पनि मसँगै थिइन् भ्रमणमा । र, त्यसबेला मैले हावामा फर्फराइरहेको कुनै हरियो पातजस्तै गरी उनको आवाज सुनेको थिएँ । पत्याउनुहोस्, यो मैले विश्वासै गर्न सकेको थिइनँ कि उनी यति भावुक कविता लेख्न सक्छिन् भन्ने ।
नि:सन्देह, यस संकलनको सफलता उधारोमा छ किनभने केही कविका कविता यसमा परेका छैनन् । दु:ख लाग्दो कुरा के भने– यसमा सेम्योन किरसानोवका कविता छैनन्, जो आफ्नो स्पष्ट र साहसी विम्बको सिर्जनात्मक प्रयोगका लागि चिनिन्छन् । उनका हरेक कविता एउटा नयाँ उद्घोष हो । निकोनार पाराले उनलाई यस संकलनमा स्थान किन दिएनन् ? सम्भवत: उनी हामीलाई मौका दिन चाहन्छन् कि उनका कविता हामी आफैँ खोजाँै र पढेर मजा लिऊँ । अकाट्य तथ्य यो हो कि कित्सानोव र उनका मार्मिक कविताले स्पेनिसका मन जितेका छन् । संकलन र साथीहरू, दुवै परिचित र अपरिचितका पोट्रेटले ममाथि यस्तो छाप छाडेको छ । मलाई लाग्छ, कुनैबेला यिनीहरू मेरो घरका पाहुना थिए । र, ठन्डीको निकै चिसो दिनमा मेरो डाइनिङ टेबुलनजिकै बसेका थिए, वसन्तको तातो हावामा उडेर जानका लागि । उनी हामीसम्म गहिरो महासागर हुँदै आइपुगेका थिए ।
तिनीहरू विशाल रुसी भूमि, रुसका जनता र रुसको नायकत्वले भरिएका ती दिनका तमाम दु:खद् र सुखद स्मृतिहरू आफूसँगै लिएर आएका थिए । यस किताबका पानामार्फत् उनीहरूले मलाई विनारोकतोक आफ्ना कुरा सुनाए र सुकुमार गीत गाए । जो यस किताबमा समावेश हुन सकनेन्, ती सोभियत कविताको अर्को संकलनमा समावेश हुनेछन् । मलाई आशा छ, पहिलोजस्तै दोस्रो संस्करण पनि त्यस्तै ज्यानदार र सुन्दर हुनेछ । र, त्यसले हामीलाई समकालीन सोभियत कविताका बारेमा धेरै जानकारी दिनेछ ।
०००
मैले भर्खरै निकारागुआबाट निर्वासित विद्रोही कविहरूका कविता संकलन पढँे, जुन बाहिर छापिएको थियो । यो सानो किताबले मलाई नराम्रोसँग झक्झक्याइदियो । त्यो अपत्यारिलो देशको अँध्यारोको टोपी लगाएको बादलबाट निक्लिरहेको झसंग बनाइदने स्पटलाइटलाई म दुरुस्तै देखिरहेको छु । किताबमा करिब ६० ओटा कविता संकलित छन् । नचिनिएका केही अन्जान कविहरू अनि एडविन कास्त्रो, अलफान्सो कोट्रेस, जोआकिङ पासोस्, असारियास पैलियान्स, मनोलो कुआद्रा र सालोमन डि ला स्लेभाजस्ता चिनिएका चर्चित कवि पनि छन् किताबमा ।
सालोमन डि ला स्लेभासित मेरो सम्बन्ध निकै मित्रवत् छ । मेक्सिकोमा हुँदा हामी दुवै सँगै बसेका थियाँै । ऊ प्रखर बुद्धिको स्वामी थियो । सहास, यात्रा र मनोरञ्जनप्रति गहिरो प्रेम राख्नेवाला थियो ऊ । केही वर्ष पहिले मात्रै उसको निधन भएको थियो । यस किताबको श्रेय पनि सालोमन डि ला स्लेभालाई नै जान्छ । हामीसित अहिले आफ्नै महाद्वीपमा प्रकाशित एक अद्भुत किताब छ । मेरो आसय कविताको यो संकलन ‘एक अनजान सैनिक’सित छ, जसलाई उनले पहिलो विश्वयुद्धपछि संयोजित र प्रकाशित गरेका थिए । किताब आफ्नो गाम्र्भीय र वैशिष्टयको कारण अद्वितीय छ । यसका पंक्ति कुनै प्राचीन पत्थरमा अनुशासित शास्त्रीय शैलीले उकेरिएकोजस्तो लाग्छ । सार्वभौमिक शान्तिका लागि दिइएको यो पहिलो काव्यिक योगदान थियो । यस किताबमा जीवन्त, ताजा र उदार कविता छन् ।

तर, किताबमा सबैभन्दा धेरै प्रासंगिक कवि जो छन् उनी अज्ञात छन् । आधाभन्दा धेरै कविता पनि उनकै छन् । निश्चय नै उनी एउटै या एक्लो कवि भने नहोलान् किनभने कविको उमेरको फरक कवितामा स्पष्ट देखिन्छ । सम्भव छ यी अज्ञात कविहरूमध्ये एकजना अहिलेसम्म जीवितै छन्, बाँकी सबैको निधन भइसकेको छ । उनीहरू निकारागुवामा बाँचे र मरे । पुराना र समकालीन कविताका सार उनीहरू नै हुन् ।
यी कवितामा कुनै नाटकीयता छैन, न शब्दसितको खेलबाड नै छ । छ त बस्, जमेको रगत, घृणाको लपेटाइ । यी कविता कुनै यातना–कक्षजस्तै छन् । एक अज्ञात कवि लेख्छन् :
जेलको कुकुर फेरि भुक्न लागेको छ ।
र तिम्रो पिठ्युँ अढेस लागेको
फलामको ढोका बज्न लागेको छ
तिमीलाई प्रश्न गरिएको छ फेरि
तिमी एक षड्यन्त्रको अभियुक्त हौ ।

अर्का अज्ञात कविको कवितामा देशप्रेम हेर्न लायक छ । उनी विशाल भूमिको बयान गर्छन् । तर, उनीसित अमेरिकी निगमद्वारा धनीधनीहरूबीच गरिएको सिँचाइप्रति घृणा छ । संकलनमा समावेश कविहरूसित मेरो परिचय रत्तिभर मात्र छ । जोआकिन पाससोसको कविता विश्वास र प्रतिबद्धताको उच्चारण हो । उनका कविता एक साथ आध्यात्मिक र परिपक्व छन् कि त्यसमा हतियारका सारा योग्यता छन् । र, ऊ लड्नका लागि योग्य छ । उनका कविता सैनिकले भैँm परेड खेल्छन् । एडविन कास्त्रो जसलाई १८ मे १९६० मा जेलमै हत्या गरिएको थियो । उनले हाम्रा लागि संघर्षका धुन छोडेर गएका छन्, अटुट विश्वासका साथ । यसलाई पढ्दा लाग्छ, जस्तो कसैले कसैको धड्किरहेको मुटुलाई आफ्नो हातमा थामिरहेको छ ।
तिमी निर्वासनमा मर्ने छैनौ
आफ्नो प्यारो देशदेखि टाढा
जसरी तिम्रा हजुरबा या मेरो पिता …
हो, भोलि सबै बदलिनेछ …
अलफान्सो कार्नेसको कविता पनि अविस्मरणीय छ । कार्नेस जेलमा पागल भएका थिए । पागलपनको बैजनी किरणले भरिएका उनका कविताले अत्याचार र अमेरिकी नीतिमाथि सिधै आक्रमण गर्छन् । उनका कविता निकारागुआका कुरुवा मात्र होइनन्, तिनले पीडित आत्माका अनन्त लस्करलाई सम्बोधन गर्छन् । स्वतन्त्रता र व्यक्तिगत गरिमालाई बचाएर राख्ने मान्छेको कठोर प्रतिबद्धतालाई पनि कविताले उत्प्रेरित गर्छन् ।
(‘चिली के जंगलो से’ बाट)
          प्रस्तुति : ईश्वर बुढाथोकी

प्रतिक्रिया