‘१६ हजारलाई सेवा दिएका छौं’

  नेपालको पहिलो सर्वोत्कृष्ट सहकारी संस्था पुरस्कार २०६७, राष्ट्रिय सहकारी संघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, एसियाली ऋण महासंघ (अक्कु) ले सन् २०१० मा क्युमी पर्फर्मेन्स अवार्डलगायत विभिन्न पुरस्कार तथा अवार्ड बिन्धवासिनी सहकारीले प्राप्त गरिसकेको छ । सहकारी आन्दोलनमा मात्र नभई एसियास्तरमा समेत आफ्नो पहिचान बनाउन सफल सहकारीका अध्यक्ष प्रदीप थापासाग सौर्यका काजी श्रेष्ठले गरेको कुराकानी :

संस्थाका बारे केही बताइदिनुस् न ?
ग्रामीण क्षेत्रमा बसोबास गर्ने सदस्यको आर्थिक सामाजिक विकास गर्ने उद्देश्यले समूहगत र क्षेत्रीय अवधारणाका साथ १२ पुस २०५० मा खोपासी काभ्रेमा स्थापना भएको हो । हामी समुदायमा आधारित रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरी एसियाली मापदण्डमा पुग्न सफल भएका छौँ । विपन्नदेखि सम्पन्नसम्म र बालकदेखि वृद्धसम्मलाई समेटेर विभिन्न कार्यक्रम सञ्चालन गर्दैै संस्थाअघि बढेको छ । २०५२ सालमा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न स्वीकृतप्राप्त यस संस्थाको काभ्रे जिल्लाभरि कार्यक्षेत्र रहेको छ भने हाल ३५ वटा गाविस र ३ नगरपालिकाका १, २, ५, ३, ४ सदस्य र शैक्षिक बालबचत कर्तासहित १५ हजार आठ सय ८५ जनालाई सेवा प्रदान गरी ५९ करोड ४९ लाख ६६ हजार रुपियाँ कारोबार गर्न सफल भएको छ ।
संस्थाको हाल ६ वटा कार्यालय र दुईवटा सेवा केन्द्र छन् भने २८ कर्मचारीलाई प्रत्यक्ष रोगजगार दिन सफल भएको छ । समुदायमा आधारित सर्वोत्कृष्ट, दिगो वित्तीय सहकारी संस्था निर्माण गर्ने परिकल्नाका साथ सञ्चालित यस संस्थाले सदस्यलाई आपत्बिपत् पर्दा विभिन्न राहत सुविधा प्रदान गर्दै आएको छ भने गम्भीर प्रकृतिका रोग लागी उपचार गराउन थप ३० हजार रुपियाँसम्म सदस्यलाई विशेष उपचार सुविधा नि:शुल्क रूपमा प्रदान गर्दै आएको छ ।
तपाईंको संस्था देशकै उत्कृष्ट स्थानमा पर्छ, यसबारे के भन्नुहुन्छ ? यो कसरी सम्भव भयो ?
हामीले जहिले पनि सदस्यहरूको बृहत्तर हितलाई ध्यानमा राखेर उहाँहरूको सहभागितामा कार्यक्रम तथा नीतिहरू अवलम्बन गर्दै गयौँ । जसको फलस्वरूप धेरैभन्दा धेरै सदस्यको मन जित्न संस्था सफल भयो । अहिले हाम्रो संस्थामा अध्ययन अवलोकन गर्न आउने अन्य सहकारी संस्था बढ्दै गएका छन् । निस्वार्थ रूपमा कार्य गर्दा सम्बन्धित क्षेत्रले पनि मूल्यांकन गर्दा रहेछन् । हामीलाई राष्ट्रिय स्तरमा २०६६ सालमा नेफस्कुनले नेपालको पहिलो सर्वोत्कृष्ट सहकारी संस्था पुरस्कार, २०६७ सालमा राष्ट्रिय सहकारी संघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, एसियाली ऋण महासंघ (अक्कु) ले सन् २०१० मा क्युमी पर्फर्मेन्स अवार्ड, २०१२ मा एक्सेस ब्रान्ड प्रमाणीकरण (अवार्ड) प्रदान गरेको छ भने अमेरिकामा रहेको मिक्स मार्केटले पाँचतारा चिह्न प्रदान गरिसकेको छ ।
यो सफलतको पछाडि सदस्यहरूको संस्थाप्रतिको विश्वास तथा इमानदारिता, सञ्चालक समितिलगायत विभिन्न समिति उपसमितिको निस्वार्थ सेवा, कर्मचारीको अथक मिहेनत तथा परिश्रमका साथै नेपाल राष्ट्र बैंक, सहकारी विभाग, डिभिजन सहकारी कार्यालय र अन्य साझेदार संस्थाबाट समयसमयमा गरेको अनुगमन तथा निरीक्षण गरेर दिएको निर्देशन, सल्लाह सुझावको प्रभाकारी कार्यान्वयनले नै संस्थाले यो सफलता प्राप्त गरेजस्तो लाग्छ ।
संस्थाबाट सदस्य कत्तिको सन्तुष्ट छन् त ?
सहकारी सिद्धान्त मूल्य मान्यतामा रही माथि उल्लेखित सेवा प्रदान गरी मानवीय जीवनमा आवश्यक पर्ने सबै क्षेत्रमा सेवाप्रदान गर्दै सुखदु:ख तथा आपत्बिपत् पनि सदस्यका माझमा सदैव रही रहेको अनुभूति प्रदान गरेकाले सदस्यले समुदायको पहिलो छनोटको वित्तीय संस्थाको रूपमा बिन्धवासिनीलाई लिएको सदस्य सन्तुष्टि सर्वेक्षण प्रतिवेदनले देखिएको छ ।
सहकारिताको माध्यमबाट आर्थिक रूपान्तरण सम्भव छ ?
स्थानीय स्रोतसाधनको उचित रूपमा परिचालन गरी उद्योग, व्यापार, व्यवसाय, कृषि, शैक्षिक, स्वास्थ्य क्षेत्र र साना जलविद्युत् आयोजनाजस्ता थुपै्र क्षेत्रमा सहकारीले कार्य गर्न सक्छन् । जसका लागि राज्यले स्पष्ट नीति तर्जुमा गरी सहकारी संघसंस्थालाई परिचालन गर्ने वातावरण सिर्जना गर्ने, सरकारी कार्यक्रम सहकारीमार्फत परिचालन गर्ने परिपाटीको विकास गर्ने र सहकारी संघ संस्थाले पनि सहकारी मूल्य, मान्यता र सिद्धान्त अंगीकार गरी अगाडि बढ्ने प्रतिबद्ध हुने हो भने रोजगारका लागि बिदेसिएका युवा जनशक्तिलाई स्वदेशमा नै स्वरोगारको व्यवस्थापन गरी आर्थिक रूपान्तरणका साथै देशको सर्वांगीण विकासमा सहकारीले अहं भूमिका निर्वाह गर्न सक्छन् ।
सहकारीलाई व्यवस्थित गर्न केमा सुधार गर्नु पर्ला ?
पहिलो त सहकारी संस्था नै शुद्धीकरण भई सहकारी सिद्धान्त, मूल्य, मान्यता, नीति, विधिसम्मत अगाडि बढ्ने प्रतिबद्ध रहनुपर्छ । सहकारीलाई व्यवस्थित रूपमा परिचालन गर्न सम्बन्धित निकायले नियमित अनुगमन गरी सल्लाह परामर्श र निर्देशन प्रदान गर्दै सहकारी संस्थालाई वर्गीकरण गरी उत्प्रेरणा जागृत हुने कार्ययोजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नु पर्छ । साथै, सहकारी संस्था दर्ता अगावै सम्बन्धित निकायबाट स्थलगत अनुगमन गरी सहकारी सदस्य शिक्षा अनिवार्य लिन लगाई सोपश्चात् मात्र दर्ता गर्ने प्रक्रिया अवलम्बन गरिएमा सहकारीलाई व्यवस्थित गर्न सकिन्छ ।
सहकारीलाई अनुदान दिने व्यवस्था रहेको छ, के अनुदान दिनु उचित हो ?
सहकारी संस्था आपैँm पुँजी संकलन र परिचलन गर्ने संस्था भएकाले खासै अनुदानको आवश्यकता पर्दैन । तर, सहकारी संस्थाले प्रयोग गर्ने भौतिक साधन तथा पूर्वधार र प्रत्यक्ष जनतासँग सरोकार हुने वस्तुमा अनुदान उपलब्ध गराएर सहकारी संस्थामार्फत परिचालन गर्ने व्यवस्था गर्न सके थप उपलब्धि हुनेछ ।
विन्धवासिनी सहकारीको लगानीमा प्राथमिकता के छ ?
बिन्धवासिनी काभ्रे जिल्लाको ग्रामीण क्षेत्रमा सहकारी वित्तीय सेवा प्रदान गर्ने संस्था भएकाले सदस्यलाई स्वरोजगार बनाउन कृषि, पशुपालन, व्यावसायिक, एकीकृत कृषि कार्यक्रम, लघु उद्यम, व्यापारजस्ता उत्पादनमूलक क्षेत्रमा लगानीका लागि प्राथमिकता दिएको छ ।
– सहकारी अनुगमन प्रभावकारी नहुनुलाई कसरी हेर्नुहुन्छ ?
अपेक्षाकृतभन्दा पनि थुप्रै सहकारी संस्था स्थापना भए । जसका लागि अनुगमन गर्ने जिम्मेवारी र भूमिका निर्वाह कसले गर्ने हो अस्पष्टता, सहकारी क्षेत्रमा दक्ष जनशक्तिको कमीजस्ता कारणले अनुगमन प्रभावकारी हुन सकेको थिएन । पछिल्लो समयमा आएर अनुगमनलाई व्यवस्थित गर्नुपर्छ भन्ने अवधारणाका साथ बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि अनुगमन गर्न सहकारी विभाग र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीबाट अनुगमन प्रारम्भ गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिवको संयोजकत्वमा नेफस्कुन, सहकारी विभागको समेत प्रतिनिधि रहेको अनुगमन नीति तर्जुमा समिति निर्माण र अर्थ मन्त्रालयबाट पनि सहकारी अनुगमनका लागि टाक्सफोर्स गठन गरेबाट सहकारी अनुगमन नियमित रूपमा प्रभावकारी ढंगबाट हुने अपेक्षा गर्न सकिन्छ ।
सहकारी कर प्रणालीमा कसरी सुधार ल्याउन सकिन्छ ?
पहिलो विषय त सहकारी संस्थालाई वर्गीकरण गरी वर्गीकरणका आधारमा आयकर निर्धारण गरिनु पर्छ । ग्रामीण र समुदायमा आधारित सहकारी संस्थालाई न्यूनतम आयकर लिने व्यवस्था गरिनु पर्छ । साथै, राज्यको तीनखम्बे आर्थिक नीतिअनुसार देशको आर्थिक विकासका लागि सहकारीलाई एक खम्बाका रूपमा लिइसकेको परिप्रेक्ष्यमा समष्टिगत सहकारी क्षेत्रबाट प्राप्त आयकर तथा अन्य करलाई सहकारी विकास कोषका रूपमा जम्मा गरी उक्त कोष सहकारीको विकासमा लगानी गरिनु पर्छ ।
तपाईंको संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रमको चर्चा सुनिन्छ ? त्यसबारे केही बताइदिनुहुन्छ कि ?
संस्थाले ग्रामीण क्षेत्रका दलित, जनजाति, विपन्न तथा पिछाडिएका वर्गको उत्थानका लागि २०५८ सालदेखि लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । वित्तीय पहुँच नपुगेका ग्रामीण भेगका सदस्यको आय स्तर वृद्धि गरी उनीहरूको सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्नु नै यस कार्यक्रमको मुख्य लक्ष्य हो । आफ्नै स्रोतसाधनबाट हालसम्म करिब ६ हजार सदस्यलाई घरदैलोमा नै गई ३५ करोड विनाधितो लघुऋण प्रदान गरिएको छ । जसको फलस्वरूप लक्षित समुदायको आय स्तरमा आमूल परिवर्तन गर्न संस्था सफल भएको हामीले ठानेका छौँ ।
संस्थाको भावी कार्यक्रम के छ त ?
युवाका लागि युवा उद्यमी ऋण, विद्युत् आपूर्तिको कमीलाई सहज बनाउन वैकल्पिक सौर्य ऊर्जा कार्यक्रम सञ्चालन, सदस्यको चाहना र आवश्यकतालाई दृष्टिगत गरी घरायसी ऋणको व्यवस्था, व्यापार व्यवसायमा कारोबार गर्ने सदस्यलाई कारोबार खाताको व्यवस्था, अन्तर कार्यालयबीच बैंकिङ सेवा, सेवा केन्द्र विस्तार गर्ने संस्थाको भावी कार्यक्रम रहेको छ । त्यस्तै, काभ्रेका विकट क्षेत्रका साना सहकारीलाई सहकारी प्रशिक्षणको व्यवस्था सहकारी सामग्री सहयोग र विभिन्न संस्थासँग समन्वय गरी सहकारी क्षेत्रमा सुधार र आवश्यक रणनीति तर्जुमा गर्न सहकारी विज्ञको राष्ट्रिय गोष्ठी सञ्चालन गर्नेजस्ता भावी कार्यक्रम छन् ।

प्रतिक्रिया