प्रथम गणतन्त्रवादी योद्धा रामराजाप्रसाद सिंहको निधनले गणतन्त्र पक्षधर आमनेपालीलाई स्तब्ध तुल्याएको छ । रामराजाको निधनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई केही हदसम्म पनि क्षति र चोट पुर्याएको हुनुपर्छ । तसर्थ, उक्त क्षतिको मूल्य चुक्ता गर्नका लागि हामी गणतन्त्र पक्षधर नेपालीले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्दै लैजानुपर्छ । जेहोस् गणतन्त्र प्राप्तिका लागिब वहाँले गरेको संघर्ष र बलिदान नेपाली समाजका लागि प्रेरणादायी बनेको छ । वहाँले २०२८ सालमा राष्ट्रिय पञ्चायतको स्नातक निर्वाचनमा उम्मेदवारी दिएर अत्याधिक मतले विजय प्राप्त गर्नुभयो । त्यसबखत स्नातक निर्वाचनमा सिंहले वितरण गर्नु भएको चुनावी घोषणापत्रमा आफू २०१७ साल अगाडिको संसदीय व्यवस्थाको स्थापनाका लागि निरन्तर संघर्षशील रहने प्रतिबद्धता गर्नु भएको थियो । राजा महेन्द्रको कठोर शासनका समयमा उनले निकालेको पर्चा एक सय रुपियाँमा बिक्री भएको थियो । उनको प्रतिबन्धित सो पर्चा आमनागरिकले उत्सुकतासाथ खोजेर पढ्न थाले । गणतन्त्रप्रतिको उहाँको सद्भाव र योगदानलाई कदर गर्दै वर्तमान सरकारले राष्ट्रिय गौरवको सम्मान दिएर लोकतान्त्रिक गणतन्त्रका योद्धाको संघर्षको सही मूल्यांकन गरेको छ ।
निर्वाचन परिणामबाट रामराजा विजयी हुनुभयो तर तानाशाही पञ्चायती व्यवस्थाले शपथ ग्रहण गर्न दिएन । वहाँलाई गिरफ्तार गरी जेल सजाय दियो । जेलबाट रिहा भएपछि देशव्यापी भ्रमणमा वहाँले गणतन्त्रका लागि उत्साही क्रान्तिकारी युवाहरूलाई संगठित गर्दै अभियानलाई निरन्तरता दिनुभयो । खेमराज मायालु, अनारसिंह कार्की, राम कार्कीजस्ता प्रखर, दृढ र साहसी युवाहरूलाई गणतन्त्र प्राप्तिका लागि क्रान्तिको तयारी गर्ने जिम्मेवारी दिनु भएको थियो । २०४२ सालको बम काण्डपछि स्व. रामराजाको जनवादी मोर्चाका धेरै शसक्त युवा कार्यकर्ता गिरफ्तार भए । पञ्चायतविरुद्धको आन्दोलनताका उहाँलाई पञ्चायती ट्रिब्युनुलले फाँसीको सजाय दिएको थियो । धेरै जिम्मेवार कार्यकर्तालाई आजीवन काराबासको सजाय भयो । जनवादी मोर्चा बमकाण्डपछि क्रियाशील हुन सकेन । नेपाली कांग्रेस र बामपन्थी समूहबाट प्रजातन्त्र पुन:स्थापनाका लागि शान्तिपूर्ण आन्दोलन र सत्याग्रह भईरहेका बेला जनवादी मोर्चाले काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा बम विस्फोटन गरेको थियो । सोही बेला नेपाली कांग्रेस र बामपन्थी दलहरूले आफ्नो आन्दोलन फिर्ता लिए । नेपालको राजनीतिक परिवेशमा बमकाण्ड सत्याग्रह बिथोल्न आयोजना गरिएको प्रचार तीव्र गतिले भयो । स्वयं रामराजाले सत्याग्रहलाई पञ्चायतले कठोर दमन गर्ने सम्भावनालाई निस्क्रिय पार्न बम बिस्फोटन गरिएको विचार व्यक्त गर्नुभयो । यसरी २०४२ सालको बमकाण्डलाई मुलुकको राजनीतिक परिवेशले सधँै शंकाको दृष्टिकोणले हेरिरह्यो । त्यो बमकाण्ड आफँैमा ठीक थियो थिएन भन्ने छलफलको विषय बनेको छ ।
तर, वहाँको निधनपछि श्रद्धाञ्जली गर्ने केही वरिष्ठ पत्रकार बन्धुहरूको विचार पूर्वाग्रही छ । हिंसात्मक आन्दोलनको नेता मात्र भनेर स्व. रामराजालाई चिनाउनु र वहाँले लोकतान्त्रिक गणतन्त्रका लागि गरेको संघर्ष र समर्पणलाई अवमूल्यन गर्ने सोच घोर अपमानजनक र पूर्वाग्रही हो । क्रान्तिकारी परिवर्तनका लागि केही समयका लागि हिंसाको सहयोग जरुरी पनि छ । उदाहरणको लागि नेपाली कांग्रेसले २०१७ सालपछि आह्वान गरेको सशस्त्र संघर्षका दौरान प्रतिभाशाली उर्जावान युवाहरूले शहादत प्राप्त गरे, जसलाई पञ्चायती शासकले विभिन्न शोषणको उपनामबाट क्रान्तिविरोधी विचार प्रवाह गथ्र्यो । क्रान्तिका दौरान हिंसात्मक र शान्तिपूर्ण दुवै उपाय परिस्थिति अनुकूल उपयोग गरिन्छन् । आफ्नो अनुकूल नहुँदा मूल्य मान्यतालाई आलोचना मात्र गर्ने परम्परा हाम्रो वौद्धिक राजनीतिक समाजमा बलियो छ । त्यस्तो परम्पराले समाजमा राम्रा सन्देश र विचार प्रवाह गराउन सम्भव छैन । स्व. रामराजाले क्रान्तिका लागि भारतीय भूमि प्रयोग गरेर त्यहीबाट नेपालमा भूमिगत क्रियाकलाप सशस्त्र ढंगबाट अगाडि बढाउनु भएको थियो । भारतीय भूमिको उपयोगलाई नेपाली राजनीतिमा नकारात्मक ढंगले प्रचार गरियो । हाम्रो भूराजनीतिक कारणले हामीले भारतीय जनताको सहयोग बिना कुनै पनि परिवर्तनलाई अगाडि बढाउन कठिन छ । खुला सिमाना र भारतमा रहेको लोकतान्त्रिक व्यवस्थाका कारण निर्वासित राजनीतिक जीवन र गतिविधिलाई तानाशाही व्यवस्थाविरुद्ध क्रियाशील गराउन छिमेकीको सद्भाव र सहयोग लिन न्यायसंगत नै ठहरिन्छ । नेपाली कांग्रेसले सशस्त्र क्रान्तिको आह्वान गर्दा पनि छिमेकी भारतीय भूमिको नै प्रयोग गरेको थियो । भारतसँगको सामाजिक र सांस्कृतिक सम्बन्धका कारण पनि दुवै देशका जनतामाझ भएको सुमधुर सम्बन्धले दुवै देशका आपसी र पारस्परिक हितका लागि हुने द्विपक्षीय समझदारी वार्ताले मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिन्छ ।
विगत २००७ सालदेखि अहिलेसम्म भएका लोकतान्त्रिक राजनीतिक परिवर्तनमा भारतीय जनता र त्यहाँका बाम लोकतान्त्रिक दलहरूको अहं भूमिका छ । हामीले त्यो सद्भाव र सहयोगलाई बिर्सनु हुन्न । सितयुद्धका समयमा चिन–अमेरिका गठबन्धनका कारण नेपाल र भारतबीचको सम्बन्ध असल छिमेकीको जस्तो रहन सकेन । भारतबाट आन्तरिक मामिलामा हस्तक्षेप भएको विचार अन्तर्राष्ट्रिय राजनीतिक तथा कुटनीतिक क्षेत्रमा सम्प्रेषण गर्न नेपाल सक्रिय रहेको थियो । शितयुद्धको अन्त्यपछि विश्वव्यापी रूपमा नै लोकतान्त्रिक गणतन्त्रको पुन:स्थापनाको पक्षमा जनसंघर्षहरू निरन्तर भईरहेका छन् । विश्वका साना–ठूला सबै राष्ट्र तथा आमनागरिकलाई स्वतन्त्र र सार्वभौम बनाउने यो संघर्ष आफैँमा सुखद विषय हो । तानाशाही शक्तिले लोकतान्त्रिक गणतन्त्रलाई साक्षीका रूपमा प्रयोग गरेर दमनचक्र चलाउने अभियान पनि समाप्त भईसकेको छैन । अफ्रिकी देशहरूमा लोकतान्त्रिक व्यवस्थालाई जनादेश अनुसार सञ्चालन गर्न नसक्दा सैन्य शक्तिले पुन: संसदीय व्यवस्थालाई भंग गरेर तानाशाही व्यवस्था क्रियाशील रहेका उदाहरणहरू हाम्रासामु प्रसस्त छन् । हाम्रा नजिकका छिमेकी मुलुक बंगलादेश र पाकिस्तानमा पटक–पटक सेना सक्रिय भएर शासन सञ्चालन गरेको विगतका घटनाक्रमबारे हामी सबै जानकार नै छाँै ।
आज हाम्रो मुलुक पनि संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख भइसकेको अवस्थामा विभिन्न राजनीतिक तथा संवैधानिक संकटमा हामी रुमल्लिइरहेका छाँै । अहिले हामीसामु रहेका सबै संकटहरूलाई देशका राजनीतिक शक्तिले दीर्घकालीन र दूरदर्शी तवरबाट समाधान गर्न सक्यौँ भने एउटा नैतिकवान नागरिकको भूमिका निर्वाह गरेको ठहरिनेछ । संकटको भूमरीमा परेको लोकतान्त्रिक गणतन्त्रलाई बचाउँदै संस्थागत गर्ने जिम्मेवारी हामी सबै लोकतान्त्रिक गणतान्त्रवादी नेपालीको हो । लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण र सम्बद्र्धन गर्न सके मात्र स्व. रामराजा प्रसाद सिंहप्रति श्रद्धाञ्जली अर्पण गरिएको अनुभूति हुनेछ ।
प्रतिक्रिया