जमिन बाँझिए, युवा बिदेसिए

सप्तरी, १७ असोज । वर्षा आभाव र युवा बिदेसिएका कारण गाउँका अधिकांश खेतीयोग्य जग्गा बाँझिएका छन् ।
खेतीयोग्य जग्गामा धान रोपाइँ गर्न नपाएर निराश भएका यहाँका युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान थालेपछि समस्या झन् बढेको हो । खेतीमै निर्भर रहेका यहाँका युवा वर्षा अभावमा खेतमा धान रोपाइँ गर्न नपाएकाले वर्षभरि परिवारको दैनिक गुजारा टार्नसमेत समस्या हुने देखिएपछि उनीहरू धमाधम वैदेशिक रोजगारीमा जान थालेको युवाले बताए ।
सप्तरीको बोदे बर्साइन–३ निवासी मिथिलेश यादवले भने, ‘खेती पनि भएन, कमाउने अर्काे स्रोत पनि छैन, त्यसैले कमाउन विदेश जाने तयारी गरेको हुँ ।’ खेतीपाती नभएपछि सो गाउँका मात्र नभई छिमेकी मानराजा, खडकपुर, तरही, नेगडा, सारस्वरलगायत गाविसका अधिकांश युवा बिदेसिएका कारण ती गाउँ अहिले युवाविहीन बनेका छन् ।
आºनो तीन बिगाह पुख्र्यौली खेतीयोग्य जग्गा छ तर वर्षा नभएपछि १० कट्ठा जग्गामा पनि धान रोपाइँ गर्न नसकेको दु:खेसो सुनाउँदै मानराजा गाविसका सन्तोष यादव बताउँछन् । उनले भने, ‘जग्गा छ तर रोपाइँ नै भएन, वर्षभरि कसरी गुजारा गर्ने चिन्ता बढेको छ ।’
परिवार चलाउने कही कुनै उपाय नदेखेपछि अन्तिम विकल्पमा वैदेशिक रोजगारमै जाने सोचमा पुगेको यादवको कथन छ । यस्तै समस्या भोगिरहेका बोदे बर्साइन–६ का रोसन चौधरीका अनुसार खेतीबाहेक अन्य कुनै सीप नभएको कारण मजदुरी गर्न विदेश नै जाने सोचमा पुग्नुपर्ने अवस्था आएको हो ।
समयमा वर्षा नभएपछि कतिपय युवा पैसा कमाउने भन्दै नजिकैको भारतीय सहरमा पसेका छन् भने कतिपय वैदेशिक रोजगारीमा मलेसिया, दुबई र कतार पुगिसकेका छन् ।
गत साउनसम्म दैनिक २५/३० जना युवा मात्र राहदानी बनाउन आउने गरेकामा भदौको पहिलो सातादेखि दैनिक ८० देखि एक सय युवा राहदानी लिन आउने गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका राहदानी फाँटका तोमप्रसाद दाहालले बताए ।
सप्तरीमा रहेको ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये यो वर्ष पानी आभावमा करिब २५ प्रतिशतमात्र जग्गामा धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अनुपलाल शाहले बताए । रोपाइँ भएका धानमा समेत सिचाइँ हुन नसक्दा धानबाली सुक्न थालेकाले धान उत्पादनमा निकै कमी आउने र भोकमरीको समस्या सिर्जना हुने सम्भावना देखिएको छ । कृषकलाई राहत दिनुका साथै बिदेसिँदै गरेका युवालाई स्वदेशमै रोजगारीको आधार सिर्जना गरी युवा शक्तिलाई पलायन हुनबाट रोक्न अविलम्ब सरकारले ठोस कार्यक्रम ल्याउनु जरुरी भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया