पर्यटन श्रमिकद्वारा टानमा तालाबन्दी

काठमाडौं, १६ असोज । ट्रेकिङ क्षेत्रमा मजदुर समस्या बढेर गएको छ । तीन ठूला राजनीतिक दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस र एमाओवादी सम्बद्ध ट्रेड युनियन महासंघअन्तर्गतका पर्यटन श्रमिकले ट्रेकिङ एजेन्सीको छाता संगठन टानमा तालाबन्दी गरेपछि समस्या बढेर गएको हो ।
आफूहरूले विगत लामो समयदेखि राख्दै आएका माग पूरा नभएको भन्दै नेपाल पर्यटन श्रमिक संघ, युनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले सोमबार टानको केन्द्रीय कार्यालय र पोखरा च्याप्टरमा तालाबन्दी गरेका छन् । अक्टोबर १ देखि लागू हुनेगरी टानसँग ज्याला वृद्धिको सम्झौता गरिएको भए पनि त्यसको पालना नभएकाले तालाबन्दी गरिएको मजदुर संगठनहरूको भनाइ छ । गत २६ भदौमा मजदुर संगठन र टानबीच ट्रेकिङ मजदुरको ज्याला दुई सय रुपियाँले बढाउने सहमति भएको थियो । सहमतिपत्रमा टानका अध्यक्ष महेन्द्रसिंह थापा, महासचिव मोहन लम्साल र प्रमुख कार्यकारी गंगासागर पन्त र मजदुरका तर्फबाट १० वटा पर्यटन सम्बद्ध मजदुर संगठनका पदाधिकारीले हस्ताक्षर गरेका छन् । ज्याला वृद्धिको निर्णय पुन: सरकारी प्रतिनिधि र सरोकारवालाको रोहवरमा हस्ताक्षर गर्ने सहमति दुई पक्षबीच भएको थियो ।
मजदुर संगठनले भने ज्याला वृद्धिको सहमति लागू गर्ने कुरामा टानले सक्रियता नदेखाएको आरोप लगाएका छन् । ‘भएको सम्झौता पालना गर्नुपर्नेमा टानले सक्रियता देखाएन,’ नेपाल पर्यटन श्रमिक संघका सचिव भागवतश्री न्यौपानेले भने । सरकारी प्रतिनिधिसँगको बैठक बोलाउन पनि टानले पहल नगरेको आरोप उनको छ । आफ्ना सदस्य संस्थालाई समेत टानले ज्याला वृद्धिबारे सर्कुलर नगरेको उनले बताए ।
टान महासचिव मोहन लम्सालले भने सर्वपक्षीय बैठकका लागि ३ असोजमै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखामा पत्र पठाइएको बताए । तर, मन्त्रालयले अहिलेसम्म बैठक आह्वान गरेको छैन । ‘सरकारी निकायले तत्परता नदेखाएका कारण विवाद सिर्जना भएको हो । यसमा मन्त्रालय जिम्मेवार छ ।’ लम्सालले भने । सर्वदलीय बैठकले निर्णय गरेपछि मात्र टानले सदस्य संस्थाहरूलाई सर्कुलर जारी गर्ने उनले बताए ।
तालाबन्दी गर्ने क्रममा सोमबार बिहान मजदुर संगठनबीच झडपको स्थिति उत्पन्न भएको थियो । सम्झौतामा आफूहरू पनि सहभागी भएको तर तालाबन्दी गर्ने क्रममा तीनवटा संगठन मात्र अगाडि आएको भन्दै नेकपा–माओवादी सम्बद्ध मजदुर संगठनले विवाद गरेको थियो । विवादकै क्रममा नेकपा–माओवादी समर्थित मजदुरले अन्य दल समर्थित मजदुरलाई आक्रमण गरे । आक्रमणबाट अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव रामचन्द्र ढुंगाना घाइते भएका छन् । ढुंगानाले आक्रमणकारीविरुद्ध हनुमानढोका प्रहरीमा उजुरी दिएका छन् । उजुरीमा टान तथा यसका अध्यक्ष र महासचिवलाई पनि विपक्षी बनाइएको छ । टान पदाधिकारीले नै मजदुर भिडाउन आक्रमण गराएको आरोप उनको छ ।
टान महासचिव लम्साल भने मजदुर भिडन्तलाई जुँगाको लडाइँ मात्र बताउँछन् । सहमति पालना गर्न टान प्रतिबद्ध रहेको बताउँदै उनले अनावश्यक विवाद नगरी वार्तामा आउन मजदुर संगठनहरूलाई आग्रह गरे । प्रक्रिया पूरा भएपछि सम्झौता लागू हुने उनले बताए । ‘श्रमको मूल्य निर्धारण गर्ने आधिकारिक निकाय टान होइन । यसका लागि सरकारी पक्षको पनि सहमति चाहिन्छ,’ उनले भने । पर्यटन मन्त्रालय, ट्रेड युनियन प्रतिनिधि, टान र श्रम विभागको सहमतिपछि मात्र ज्याला वृद्धिको सहमति लागू हुने उनले बताए । यसअघि पनि यही प्रक्रियाबाट ज्याला वृद्धि भएको उनले जानकारी दिए ।
मुख्य कार्यालयमा तालाबन्दी भएपछि टान पदाधिकारीले मजदुर संगठनलाई वार्तामा बोलाए पनि उनीहरू वार्तामा गएनन् । युनिट्राभका महासचिव सुमन पराजुलीले आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने बताए । वार्ताको वातावरण बनाउन आक्रमणकारीलाई कारबाही गर्नुपर्ने माग मजदुर संगठनको छ । पर्यटकीय सिजनमा भएको तालाबन्दीका कारण पर्यटकलाई असर परेको टान महासचिव लम्सालले बताए । तालाबन्दीका कारण सोमबार ट्रेकिङ एजेन्सीहरुले टिम्स कार्ड लिन पाएनन् । सिजनमा टानबाट दैनिक दुई हजारसम्म टिम्स कार्ड वितरण हुन्छ ।

प्रतिक्रिया