सिंह, झा र लम्साल

श्री गुरु चरन दोहा, सरोज रज, निजमन मुकुरु सुधारी ।
बरनाऊ रघुवर विमल, जो दायकु फल चारी ।।
बुद्धिहीन तनु जानिके, सुमिरौँ पवन कुमार ।
बल बुद्धि विद्या देहु मोही, हरहु कलेश विकास ।।
माथि उल्लेखित पंक्तिहरू श्री हनुमान चालिसाका दोहा हुन् । ‘हनुमान चालिसा पाठ गर्ने गर्नु’ मेरा बुबाले म आफैँलाई हो वा अरू कसैलाई भन्नु भएको थियो, सम्झना छैन । त्यसबेला मेरो उमेर कति थियो त्यो पनि हेक्का छैन । केटाकेटीमै जस्तो लाग्छ, मैले केही समय हनुमान चालिसाको पाठ गरेँ । अहिले पनि मुखाग्र छ, कण्ठ छ, अहिले पाठ भने गरि राख्दिनँ ।
रामराजा प्रसाद सिंहको निधन भयो । सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र उनलाई राष्ट्रिय गौरवको सम्मान दिने घोषणा गर्‍यो । उनको विषयमा थुप्रै लेखहरू पनि लेखिए । सिंहको निधनले मलाई भने आफ्ना दिवंगत बुबा र डा. लक्ष्मीनारायण झाको स्मरण हुन गयो । डा. झालाई मैले कहिँ कतै देखेको, भेटेको पनि होइन । मेरा बुबाले भनेझैँ जनकपुरमा कार्यरत चिकित्सक झा आफ्नो क्लिनिकमा आउने बिरामीको उपचार गर्नुका साथै हनुमान चालिसासमेत पाठ गर्नका लागि भन्थे भन्ने मैले कहिँ कतै पढेको थिएँ । त्यसैले झा मेरो स्मृतिमा अविस्मरणीय पात्रको रूपमा रहिरहे । पहाड र मधेस भिन्न क्षेत्रका मेरा बुबा झामा के कस्तो धार्मिक आस्था र विश्वास थियो ? दुवैमा एकै किसिमको हनुमान चालिसाको आस्था कसरी पैदा भयो ? यसको जवाफ सोध्नको लागि मेरो बुबाको भौतिक उपस्थिति नभएको १३ वर्ष पूरा भईसकेको छ भने डा. झालाई मैले कहिल्यै भेटेको नै थिएन । त्यसमा पनि लगभग २७ वर्षदेखि बेपत्ता नागरिकको सूचीमा डा. झा छन् ।
२०४२ साल असार ६ गते काठमाडौंको अन्नपूर्ण होटल, सिंहदरबार र राजदरबार अगाडि बम बिस्फोट भयो । मानवीय क्षतिसमेत भएको ‘यस घटनाको जिम्मेवारी सुरुमा संयुक्त मुक्ति बाहिनीले पर्चा प्रकाशित गरी लिए पनि यो घोषित रूपमा कुनै राजनीतिक संगठन भएको यसअघि कसैलाई थाहा थिएन । केही दिनमै जनवादी मोर्चाले बम बिस्फोटनबारे जिम्मेवारी लिएको जानकारी दियो ।’ (नेपालको प्रजातान्त्रिक आन्दोलन एक सिंहावलोकन – राजेश गौतम, शहीद मदन – आश्रित स्मृति प्रतिष्ठान, पृष्ठ–२६३) । स्मरणीय छ कि जनवादी मोर्चाको अध्यक्ष रामराजा प्रसाद सिंह थिए । यसै घटनामा पक्राउ परेका डा. लक्ष्मीनारायण झा, इश्वर लामा, पदम लामा, महेश्वर चौलागार्इं, साकेत मिश्र आदिलाई हिरासतबाटै बेपत्ता पारियो भनिन्छ । यसै घटनामा दिलिप चौधरी नामक व्यक्ति पनि बेपत्ता भएको कुरा छ (ऐ. पुस्तक पृष्ठ – १४६) । उनीहरूको अवस्था हालसम्म अज्ञात छ ।
सिंहले राष्ट्रिय गौरव पाए । ती बेपत्ताजन र उनका परिवारजनले के पाए ? दृष्यमात्र भएर हुँदैन, त्यसको प्रकृती, रूप, आकार, प्रकार आदिको आँकलन गर्ने द्रष्टाको आश्यकता हुन्छ । त्यस्तै श्रोता विना वक्ताको अर्थ पनि रहँदैन । शासित बिनाको शासक पनि हुन सक्दैन । बिना सिपाहीको कमाण्डरको केही महत्त्व रहँदैन । त्यस्तै कार्यकर्ता बिना कोही पनि नेता भइराख्दैन । कार्यकर्ताले नै नेतृत्वको निर्माण गर्ने हो तर नेतालाई सबैले चिन्छन्, जान्छन्, महत्त्व पनि दिन्छन् र प्राथमिकतामा परेका हुन्छन् । त्यसको ठीक उल्टो कार्यकर्ता गौण बन्छन् । नेपथ्यमा हुन्छन्, नेतृत्वको सेफमा पर्छन् र ओझेलमा हुन्छन् ।
२०४२ सालको बमकाण्डको जिम्मेवारी लिने सिंहले राष्ट्रिय गौरव पाए पनि यसै काण्डको अभियोगमा बेपत्ता भएका डा. झालगायत अरू बेपत्ताजनले के पाए ? उनीहरूको परिवारजनको अवस्था के कस्तो छ ? त्यसको खोजी र अनुसन्धान कसले गर्ने ? त्यसमा पनि बाबुराम भट्टराईले नेतृत्व गरेको संयुक्त जनमोर्चाले २०५२ साल माघ २१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ४० सूत्रिय माग प्रस्तुत गरेको थियो । उक्त मागमध्ये ‘बिभिन्न समयमा पुलिस हिरासतबाट बेपत्ता पारिएका दिलिप चौधरी, भुवन थापा मगर, प्रभाकर सुबेदीलगायतका व्यक्तिहरूका बारेमा निस्पक्ष छानविन गरी अपराधीहरूलाई कडा कारबाही गरिनु पर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनु पर्छ’ भन्ने माग समेत थियो । अहिले उनै भट्टराईको नेतृत्वमा सरकार छ, आफ्ना मागहरूप्रति भट्टराई सरकारको जवाफदेहिता छ वा छैन प्रश्न उब्जेको छ ।
यसै सिलसिलामा नेतृत्वले आफ्ना कार्यकर्ताको जिम्मा लिएको हुन्छ वा हुँदैन ? अभिभावकीय दायित्त्व नेतृत्वको हो कि होइन ? यसको जवाफ नेता र कार्यकर्ताभित्रै छ, अरूमा छैन । फेरि, सम्बन्धको प्रत्यक्ष अनुभूति गर्ने नेता र कार्यकर्ता नै हुन्छ अरू हुँदैनन् । कार्यकर्ता र बेपत्ता झाको प्रसङ्गमा अर्का अविस्मरणीय पात्र शक्ति लम्साल पर्नुहुन्छ । ‘योजना साप्ताहिक’ पत्रिकामा लामो संलग्न रहनु भएका लम्सालको सिंगो जीवन वामपन्थी आन्दोलनमै बित्यो । अहिले आफ्नै पुख्र्यौली थलो चन्डोल विशालनगरस्थित घरको कोठाको एउटा ओछ्यानमा पर्नु भएको छ । उहाँको सञ्चो/विसञ्चो र खोजखबर गर्न पहिलाका सहयात्रीहरू पुग्छन् वा पुग्दैनन् ? यो त पंक्तिकारलाई थाहा छैन ।
आफ्नै इतिहासको छाँयामा पर्नु भएका शक्तिको सम्बन्धमा केही महिनाअघि अन्नपूर्ण पोष्टको शनिवासरीय परिशिष्टांक ‘फुर्सद’ मा अशोक सुवेदीको लेख प्रकाशित भएको थियो । लेख निस्किएको भोलिपल्ट नै उहाँलाई भेट्न घरमा गएकी थिएँ । ओछ्यानमा पल्टिरहनु भएका शक्ति दाजुलाई देखेर हिजोको त्यो जुझारु शक्ति दाजु र आजको शक्ति दाजुमा कति भिन्नता छ ? स्तब्ध भएँ । प्रचण्डको नेतृत्वमा एमाओवादीको सरकार बनेपछि बिरामी शक्ति दाजुलाई भेट्न पुगेकी थिएँ । । ओछ्यानमा पल्टिरहनु भएको उहाँ उत्साहित भएर जुरुक्क उठ्नु भयो । त्यसपछि भुइँमा झरेर पलेटी कसेर बस्नुभयो । हर्षविभोर हुँदै सरकारप्रतिको दृष्टिकोण सोध्नु भएको थियो । हाँसीमात्र रहेँ । कुनै जवाफ दिइन । एउटा शासितलाई कसको सरकार आयो र गयो भन्ने चासो र सरोकार हुँदैन । नत कुनै सरकारको गठन र विघटन हुँदा कुनै हर्ष र विस्मात् नै मनमा हुन्छ । त्यसैभित्र पर्ने एउटा पात्र मात्र म थिएँ । त्यसैले आफूलाई कुनै टिप्पणी गर्न हकदार ठानिनँ ।
‘फुर्सद’ पढेर नै दाजुलाई भेट्न आएको भनेर मैले भाउजू कृष्णा लम्साललाई बताएँ । ‘फुर्सद’ दाजुले पढ्न सक्नु भयो वा भएन ? भाउजूलाई सोधेको थिएँ । ‘छोरीले पढेर सुनाउँदै थिई बीचमा ऊ भक्कानिई, पूरा पढ्न सकिन’ भनेर भाउजूले भन्नुभयो । त्यसपछि शक्ति दाइले सानो बुबा (रोचक घिमिरे) लाई सोध्नु भयो । ‘रचना’ पत्रिका निस्केको छ वा छैन चासो राख्नुभयो । त्यसपछि कुनै कुराकानी भएन । मौन रहनु भयो । ट्वाइलेट लैजाने र ल्याउने काम भाउजूले गर्नुभयो । कुनै बेला यदाकदा निस्कने मेरा लेखहरू पढ्ने, सहमति र विमति राख्दै लेख्न उत्प्रेरित गर्ने, लेखनको धार परिवर्तन गर्न सुझाव दिने शक्ति दाजु मौन रहनुभयो । केही बोल्नु भएन । उहाँको लागि आवश्यक पर्ने औषधि नेपालमा नपाइने र बाहिरबाट मगाउनु पर्ने कुरा भाउजूले सुनाउनु भयो ।
वामपन्थी आन्दोलनमै आफ्नो जीवन साट्ने मात्र होइन, ‘आफ्नै बाबु कृष्णप्रसाद लम्सालको सामन्तवादी र शोषणकारी चिन्तन र कार्यविरुद्ध सानैमा सार्वजनिक मञ्चबाटै खुलेर विरोध गर्ने, आफ्ना हात काटेर त्यसैको रगतको ल्याप्चे लगाई कम्युनिस्ट पार्टीको सदस्यता लिएर त्यसको महत्त्वलाई कुनै पनि पल नभुल्ने एक विशिष्ट पात्र हो’ भनेर उनै शक्ति दाजुद्वारा लिखित ‘माक्र्सवाद, समाज र साहित्य’ को प्रकाशकीयमा उल्लेख छ । जनदिशा प्रकाशन रहेको उक्त पुस्तकको प्रकाशकले नै ‘शक्ति लम्साल कम्युनिस्टहरूको पहिलो गुण – इमान्दार, दोस्रो गुण – सिधा–साधा, तेस्रो – अनुशासित, चौथो – कर्मठ, पाँचौं – त्यागी, छैठाँै – निर्भिक, सातौँ – सहृदयी, आठौँ – वैज्ञानिक र नवौँ – क्रान्तिकारी हुनु हो भन्ने कुरालाई दृढतापूर्वक आत्मसात गर्नु भएका र नेपाली मालेमावादी क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा नेकपाको प्रथम महाधिवेशनदेखि हालसम्म अविछिन्न र अविचल लडिरहेका अथक योद्धाको रूपमा सर्वस्वीकार्य हुनुहुन्छ’ भनेर लेखेको समेत छ ।
आज उनै शक्तिका लागि सबै विरानो भएका छन् । भाउजू कृष्णा, बुहारी र सानो बच्चाको साथमा करिव दुई घण्टासम्म बसँे । कहिँ कतैबाट उहाँको अवस्थाबारे सोध्न नत कोही आइपुगे नत टेलिफोनको घण्टी बजेको सुनियो । सरकार र दलले उहाँको उपचारमा कुनै सहयोग गरेको छ वा छैन मैले सोध्ने कुरो पनि भएन । अविचलित आस्थाद्वारा संस्कारित परिवारजन भएरै होला कुनै गुनासो पनि उहाँहरूले गर्नु भएन । मैले चिने जानेर थाहा पाएको त्यो शक्ति दाजु र यो शक्ति दाजुको अवस्थाले केही क्षण विचार शून्य भएँ । गह्रुंगो मन लिएर फेरि आउँछु भन्दै बिदा भएपछि फर्केर गएको छैन । सिंहको मृत्युले झालगायत लम्सालको सम्झना गरायो । हरेक दलका कार्यकर्ता आस्थावान छन्, इमान्दार छन्, तिनीहरूको नियती भने झा र लम्सालको जस्तै नबनोस् भन्ने मनमा अव्यक्त कामना रहिराखेको छ ।

प्रतिक्रिया