सबै लेखक गड–गिफ्टेड हुँदैनन्

गोविन्द गिरी प्रेरणाका बारेमा केही लेख्नु थियो, अमेरिका छँदैको बाचा जो थियो । करिब आठ वर्षपहिलेको कुरा हुनुपर्छ । अमेरिकी राजधानी वासिङ्टन डिसीमा कवि हेमन्त श्रेष्ठले सञ्चालन गरेको एउटा रेस्टुरेन्ट थियो ‘माउन्ट एभरेस्ट रेस्टुरेन्ट’, त्यसमै गोविन्दको कथायात्राका पच्चीस वर्ष भनेर एउटा ससानो जमघट भएको थियो । कार्यक्रमपछि पनि हामी दुईजना रेडवाइनका मिहिन गिलास समातेर धेरै बेरसम्मै बसेका थियौँ । मैले त्यहीबेला पनि कतै लेखेको थिएँ– नेपाली कथाकारको नाममा एक अमेरिकी साँझ । अहिले कवि हेमन्तको त्यो रेस्टुरेन्ट बन्द भइसक्यो, मैले लेखेको त्यो लेखोट पनि कतै मिसप्लेस भयो । बस्, केवल प्रेरणा र म मात्र मिसप्लेस भएका छैनौँ ।
जहिले पनि अप–टु–डेट भएर हिँड्न रुचाउने उनै गोविन्दजीसँग पछिल्लोपटक यही भदौमा काठमाडौंमा भेट भएको थियो ।
जन्मथलो मकवानपुरको टेक्कर सिस्नेरी छाडेर प्रेरणाले काठमाडौंलाई कर्मथलो बनाए । पछि काठमाडौं पनि छाडेर उनी अमेरिका प्रवासिए । तर, जहाँ रहे पनि अक्षरसित बसेको उनको प्रेम कहिल्यै कम भएन, सायद हुन दिएनन् उनले । गीत, कविता, कथा, निबन्ध, उपन्यास, यात्रासंस्मरण, हास्यव्यङ्ग्य, समालोचना, अनुवाद, कृति सम्पादन आदिमा उनले कलम चलाउँदै आए । र पनि, न आफू थाकेका छन् न कलमको टुँडो थामिन दिएका छन् । जतिबेला ०३४ सालमा उनको पहिलो कथा छापिएको थियो ‘किनारा’ शीर्षकमा, उनी भर्खर १९ वर्षका हरहराउँदा तन्नेरी थिए । त्यसको छ वर्षपछि त साझा प्रकाशनले उनको पहिलो कथासंग्रह नै प्रकाशित गर्‍यो– ‘सुतेको समुद्र’ । अनि त नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, रत्न पुस्तक भण्डार आदि प्रतिष्ठित संस्थाहरूले एकपछि अर्को गर्दै उनका कृतिहरू निकाल्दै रहे । विभिन्न विधामा गरी बितेका तीन दशकमा प्रेरणाले तीसकै हाराहारी कृति आफ्नो नाममा बजारमा ल्याइसकेका छन् ।
यी तीन दशकको मूल्यांकन गर्दा उनलाई के लाग्छ ? ‘म साहित्यको केन्द्रबिन्दुमै छु जस्तो लाग्छ । यसको कारण पनि स्पष्ट छ– ०३४ ताका लेख्न सुरु गरेका कतिजना कथाकार अहिलेसम्म पनि सक्रिय छन् र ? उनीहरूको निरन्तरता खोइ र ?’ उनी चुनौतीको भाकामा जवाफ फर्काउँछन् । सायद यही कारण हो, उनी आफूलाई समकालीन पुस्तामा नम्बर वानकै क्याटागोरीमा रहेको मान्छन् । एक प्रसंगमा उनले भने– ०३६ मा सडक कविता क्रान्तिमा डेढ सयजना सहभागी थिए तर त्यसमा पाँचजना पनि मैले जतिको लेखिरहेका छैनन् ।
उनलाई सतही देख्ने र राम्रो साहित्यकार नमान्नेहरू प्रशस्तै छन् । उनमा गुणवत्ता नदेख्ने मनग्गे छन् । उनीविरुद्ध आरोप छ– उनी केवल संख्याका पछि मात्र दगुर्छन्, उनी यति दर्जन पुस्तक लेखेँ भन्न रुचाउने प्रवृत्ति भएका सर्जक हुन् । तर, यसमा उनी सहमत छैनन्, ‘कस्तो लेखनलाई गम्भीर र कस्तोलाई सतही मान्ने भन्ने आफँैमा एउटा प्रश्न हो । मेरो आख्यानमा जीवन्तता छ, मान्छेको भोगाइ छ । त्यहाँ मनगढन्तता छैन । कल्पना छैन । मैले सस्तो वा बजारु साहित्य लेखेको छैन । यसरी म जीवनभन्दा टाढा नगएको हुँदा मेरो लेखन सतहीपनभन्दा धेरै माथि छ । त्यसो त गम्भीर पाठकलाई चिन्न सकिँदैन, उसलाई भेटिँदैन पनि ।’
‘पञ्चायतकालमा कुनै मन्त्रीले साहित्य अनुत्पादक क्षेत्र हो भन्दा त्यसको डटेर विरोध गर्नेमा म पनि एकजना थिएँ । तर सायद ती मन्त्री ठीक रहेछन् । किनभने एक बोट सुन्तला, एउटा घोघा मकै वा एक बोट खुर्सानी उमारेर खेती हुँदैन । एउटा लेखे महान, चारवटा लेख खत्तम भन्ने हुँदैन । मलाई लाग्छ, धेरैभन्दाधेरै लेख्नुपर्छ । यो त जति रन्दा चलायो काठ त्यति नै मुलायम हुँदै गएजस्तो हो । सबै लेख गड–गिफ्टेड हुँदैनन् । मैले धेरै लेखेँ भनेर मलाई तल पार्न केही व्यक्ति र कथित समालोचकले चलाएको हल्ला मात्र हो,’ यसो भनिरहँदा उनमा आत्मविश्वास झल्किन्छ ।
आफ्ना पाठकप्रति निकै सन्तुष्ट देखिने गोविन्द आफूलाई ‘म्यान अफ लेटर्स’ मान्छन् । उनी भन्छन्, ‘म साहित्यकार हूँ, विधा दोस्रो कुरा हो । एउटा अंश हो । म कवि पनि हूँ, गद्यलेखक पनि हूँ– कविताबाट टाढा हुन सक्दिन, आख्यान छोड्न पनि सक्दिन । पद्य र गद्य अन्तरघुलित भएर रहेका छन् मभित्र ।’ उनका लागि कविता भनेको स्पार्कल हो, एक किसिमको झिल्का वा चटयाङ परेको जस्तो । भोगेको वा अनुभव गरेका कुराहरू नै उनी लेख्छन् । अनौठो मान्न सकिने कुरा के छ भने उनलाई लेख्नका लागि खास वातावरण वा परिवेश केही चाहिँदैन । ‘अन्तिम खाडल’ उपन्यास उनले जर्मनी बसाइमा केवल १३ दिनमै लेखिसिध्याएका थिए रे । भन्छन्– मनमा परिपाक भएको कुरा पस्कने मात्र हो ।
पछिल्लोपटक भदौमा काठामाडौं आएका बेला गोविन्दले दुईवटा पुस्तक सार्वजनिक गरे– सत्रवटा कथाको संग्रह ‘छड्के तिलहरी’ र १०८ प्रश्न समेटिएको साइबर अन्तर्वार्ता ‘कमल दीक्षितसँग इमेल वार्ता’ । वर्तमान नेपाली कथालेखनको प्रवृत्ति कस्तो छ त ? ‘खासमा यसमा कुनै अभूतपूर्व फड्को देखा पर्न सकेको छैन, उही सधैँ चलिरहने परम्परा र प्रयोगको मिश्रण मात्र छ । बरु पाठकहरू कथा वा अन्य विधाभन्दा उपन्यासतिर बढी आकर्षित भएका हुन् कि जस्तो लागिरहेको छ,’ उनको ठम्याइ छ ।
अचेल नेपाली साहित्यमा निकै चलेको शब्द हो– डायस्पोरिक । प्रेरणा यसलाई आप्रवासी लेखन भनेर सहजता दिन्छन्, ‘प्रवासी मुलुकको भोगाइलेखन नै डायस्पोरिक लेखन हो । साहित्य उदात्त, उदार र विस्तारित हुन्छ, यसलाई साँघुरो पार्नु हुँदैन । आफ्नो देशबाट टाढा हुनुपरेको पीडा र नयाँ देशमा सम्झौता गरी बाँच्नु पर्ने अवस्थाको पीडा नै आप्रवासी लेखनको भावभूमि हो । प्रवासिएको मानिस एक दिन नेपाल फर्कन्छु भनेर बस्छ तर ऊ कहिल्यै फर्कंदैन । तसर्थ नेपालको नोस्टाल्जियाबाट मुक्त भएर प्रवासी मुलुककै बारेमा लेख्न समय लाग्छ ।’
अचेल उनी आत्मकथा लेखिरहेका छन् । त्यसलाई खण्डखण्डमा प्रकाशित गर्ने उनको सोच रहेछ । थकाली भान्छाको टेबलबाट उठ्नुअघि एउटा प्रश्नको झटारो हानेँ, तपाईं किन लेख्नुहुन्छ ? प्रेरणा एक निमेष तनावग्रस्त जस्ता देखिए, र भन्न थाले, ‘यो प्रश्न त मेरा लागि तपाईं किन सास फेर्नुहुन्छ ? तपाईं किन खानुहुन्छ ? किन बाँच्नुहुन्छ ? भने झैँ हो । यो त मेरो जीवनको अकाट्य र अविभाज्य अंग जस्तै हो । म अन्धविश्वासी होइन तर मलाई ‘भावीले नै यसले लेखोस्’ भनेर पठाएको हो र त्यसकारण म साहित्यकार हुनकै लागि जन्मेको हुँ जस्तो लाग्छ ।’
बिट मारौँ, उनकै एउटा कविता, अप्रकाशित कवितासंग्रहबाट
‘नआउने रेलको प्रतीक्षामा
कति यात्रु
जीवन बिताउँछन्
स्टेसनमा
रेल स्टेसन
के जीवनको प्रतीक्षालय हो ?’

प्रतिक्रिया