रिले अनसन जारी, समर्थन सबैको

बाजुरा : नेकपा–माओवादी बाजुराले बिहीबारदेखि सुरु गरेको रिले अनसन जारी छ । बाजुरेली जनताका आधारभूत आवश्यकता पूरा गर्न माग गर्दै अनसन सुरु गरिएको हो ।
वर्तमान सरकारले जनजीविकाका सबाल, बाजुरेली जनताका समस्याप्रति ध्यान नदिएको र आफूहरूका मागप्रति बेवास्ताका साथै अपमान गरेको भन्दै रिले अनसन सुरु भएको हो ।
अनसनको दोस्रो दिन शुक्रबार गैरसकारी संस्था महासंघ, नागरिक समाज, पत्रकार महासंघ, शिक्षक युनियनलगायतले समर्थन जनाएका छन् । जिल्लाको विकास र जनताका समस्या समाधानका लागि माओवादीले सुरु गरेको अनसनमा आफूहरूले पूर्णसमर्थन जनाएको नागरिक समाजका अगुवा गगन रावलले बताए । तत्काल माग पूरा गर्न भन्दै नागरिक समाज, पत्रकार, गैससको टोलीले सिडिओ कार्यालयलाई पनि ध्यानाकर्षण गराएका छन् ।
रातदिन नै अनसन जारी राखेको माओवादीले अनसनको पहिलो दिनमा जिल्ला सेक्रेटरी तथा निवर्तमान सभासद् डबलबहादुर शाह बसेका थिए । दोस्रो दिन सह–इन्चार्ज धनराज पण्डित बसेका छन् । सिडिओ कार्यालयअगाडि सुरु गरिएको शान्तिपूर्ण अनसनमा पार्टी कार्यकर्ताले पनि सहभागिता जनाएका छन् । रिले अनसन माग पूरा नभएसम्म प्रत्येक दिन बस्ने माओवादीले जनाएको छ ।
जिल्लाको खाद्य सकंट समाधान गर्नुपर्ने, असोजभित्र साँफे–मार्तडी सडकखण्डअन्तर्गत तिपाडासम्म बस सेवा सञ्चालन गर्नु, हलिया पुन:स्थापनाको ग्यारेन्टी गर्नुपर्ने, जिल्ला अस्पतालमा डाक्टर दरबन्दी पूरा गर्नुपर्ने, जिल्लामा बढ्दै गएको कालाबजारी, महँगी कम गर्नुपर्नेलगायतका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भरतबहादुर थापाले बताए ।
माओवादीले १० भदौमा नौबुँदे, १ असोजमा ३७ बुँदे र ५ असोजमा पाँचबुँदे ज्ञापनपत्र बुझाउँदासमेत सरकारले जनताका समस्यालाई सम्बोधन गर्ने कुनै संकेत नदेखाएपछि अन्त: शान्तिपूर्ण तबरले रिले अनसन सुरु गरेको माओवादीले जनाएको छ । सरकारले जनताका आधारभूत माग पूरा नगर्दासम्म शान्तिपूर्ण आन्दोलनअन्तर्गत रिले अनसनमा बस्ने र यसको कुनै सुनुवाइ नभए आन्दोलनको स्वरूप परिवर्तन गरी सशक्तरूपमा अगाडि बढ्ने माओवादीले जनाएको छ । (सौस)

प्रतिक्रिया