म्यान यु चौथो चरणमा

लन्डन : युवा खेलाडीलाई प्राथमिकता दिएको म्यानचेस्टर युनाइटेड बुधबार राति न्युकासललाई २–१ ले पराजित गर्दै लिगकपको चौथो चरण प्रवेश गरेको छ । बुधबार राति नै भएका तेस्रो चरणका अन्य खेलमा आर्सनल, लिभरपुल र टोटेनहम पनि विजयी भए ।
आइतबार लिभरपुलविरुद्धको खेलमा सुरुआती टोलीका रूपमा उतारेका कुनै पनि खेलाडीलाई बुधबार सुरुको टोलीमा समावेश गरेको म्यान युले करिब एक महिनापछि फर्किएका वेन रुनीको उपस्थितिमा पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।
एन्डरसनले ४४आँै मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै घरेलु मैदानमा टोलीलाई अग्रता दिलाएका थिए । पापिस सिजेले न्युकासलका लागि गोल गर्नुअघि टम क्लेभरलेको गोलमार्फत म्यान युले अग्रता दोब्बर बनाएको थियो ।
साविक विजेता लिभरपुलले वेस्ट ब्रुमविचलाई २–१ ले पराजित गर्‍यो । सुरुआती अग्रता लिन नसकेको लिभरपुलका लागि दुवै गोल कम परिचित नुरी साहिनले गरे । पाँचाँै मिनेटमा गाब्रिएल थोमसको गोलमार्फत लिभरपुल अनपेक्षितरूपमा खेलमा पछि परेको थियो । १७आँै मिनेटमा खेललाई बराबरीमा ल्याइपुर्‍याएका साहिनले निर्णायक गोल ८२आँै मिनेटमा गरेका थिए । रियल म्याड्रिडबाट रिनमा आएका साहिनको प्रदर्शन खेलभर सराहनीय रहयो ।
ओलिभिएल गिरौडले आर्सनलमा आएयता पहिलो गोल गरेपछि उक्त क्लब कोभेन्ट्री सिटीविरुद्ध ६–१ ले विजयी भयो । आर्सनलका लागि एलेक्स–अक्सलेड चेम्बरलैन, आन्द्रेइ आर्सभिन, थिओ वाल्कोट, इग्नासी मिक्वेलले पनि गोल गरे । वाल्कोटले दुई गोल गरेका थिए ।
यता टोटेनहमले कार्लिसलेलाई ३–० ले पराजित गर्‍यो । डिफेन्डर जान भर्टौनघेन, आन्द्रोस टौनसेन्ड र जिल्फी सिगुर्डसनले गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको टोटेनहमले दोस्रो हाफमा थप गोल गरेको हो । (एजेन्सी)

प्रतिक्रिया