१६ करोड कित्ता सेयर कारोबार रोक्का

काठमाडौं, १२ असोज । नेपाल स्टक एक्सचेन्जमा सवा १६ करोडभन्दा बढी कित्ता सेयर कारोबार रोक्का रहेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जरलाई प्राथमिकता साथ अगाडि बढाएकाले धेरै वित्तीय संस्थाको मर्जका कारण एक्सचेन्जमा सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो । संस्थागत सुशासनका कारण कारबाही भोगेका संस्थाको कारोबार पनि रोक्का गरिएको छ । नेप्सेमा भदौको अन्तसम्म १६ करोड ३६ लाख नौ हजार चार सय २२ कित्ता सेयरको कारोबार रोक्का रहेको छ ।
बंैक तथा वित्तीय संस्था मर्जर प्रक्रियाका कारण भदौ मसान्तसम्म एक्सचेन्जमा साढे १० करोड कित्ता सेयरको कारोबार रोकिएको छ । मर्जर प्रक्रिया पूरा भएर पनि कारोबार सुरु नभएका, प्रक्रियामा रहेका र मर्जरका लागि आन्तरिक तयारी गरिरहेका सूचीकृत ३२ कम्पनीको १० करोड ६१ लाख ६६ हजार एक सय २६ कित्ता सेयर रोक्का गरिएको हो । यो नेप्सेमा सूचीकृत कुल सेयर संख्याको करिब १० प्रतिशतभन्दा बढी हुन आउँछ । प्रतिसेयर अंकित मूल्य एक सयका दरले रोक्का गरिएका सेयरको मूल्य १० अर्ब ६१ करोड ६६ लाख रुपियाँ हुन आउँछ ।
अहिले मर्जरका कारण मात्र करिब १६ जोडी बंैक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिएको नेप्सेले बताएको छ । तीमध्ये मर्जर प्रक्रिया पूरा भएर अन्नपूर्ण विकास बैंक, सूर्यदर्शन फाइनान्स सुप्रिम डेभलपमेन्ट बैंकका नाममा, पशुपति विकास बैंक र उद्यम विकास बैंक एक्सिस डेभलपमेन्ट बैंकका नाममा, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र स्वस्तिक मर्चेन्ट फाइनान्स इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकको नाममा र भिबोर विकास बैंक र भाजुरत्न फाइनान्स भिबोर विकास बैंकका नाममा सञ्चालनमा आइसकेका छन् । ती कम्पनी नयाँ कम्पनीका रूपमा नेप्सेमा सूचीकृत भइनसकेकाले अझै सेयर कारोबार सुरु भएको छैन । यस्तै कतिपय संस्थाको मर्जर प्रक्रिया पूरा भइसकेकाले अन्तिम स्वीकृतिका लागि पर्खेर बसेका छन् भने कतिपयको मर्जर प्रक्रिया तीव्ररूपमा अघि बढेकाले कारोबार रोकिएको छ । ग्लोबल बैंकले आइएमई फाइनान्सियल इन्स्टिच्युसन र लर्ड बुद्ध फाइनान्सलाई आफूमा गाभिसकेपछि हालै मात्र सेयर ग्लोबल आइएमई बैंकको नाममा कारोबार सुरु गरी सेयर कारोबारसमेत सुचारु गरिसकेको छ भने माछापुच्छ्रे बैंकले पनि स्ट्यान्डर्ड फाइनान्सलाई आफूमा गाभेर गत हप्तादेखि मात्र कारोबार सुरु गरेको छ । एल्पिक एभरेस्ट फाइनान्स, बुटवल फाइनान्स र सिएमबी फाइनान्स गाभेर बन्नलागेको सिनर्जी फाइनान्स लिमिटेड राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पर्खाइमा बसेको छ ।
मर्जरका कारण मात्र नभई राष्ट्र बैंकले संस्थागत सुशासन कायम नभएका कारण कारबाही गरेका एवं आर्थिक अनियमताका कारण संकटग्रस्त घोषणा गरेका र अन्य सञ्चालकले आर्थिक हिनामिना गरेका कम्पनीको सेयर कारोबार पनि नेप्सेले रोक्का नै राखेको छ । एनबी समूहले प्रवद्र्धन गरेको एनबी इन्स्योरेन्स र नेसनल हाइड्रोपावरको सेयर कारोबार बन्द भएको दुई महिनाभन्दा बढी बितिसकेको छ । इन्स्योरेन्सले अग्रिम अधिकतम घरभाडा भुक्तानी गरेका कारण बिमा समितिले कारबाही गरेकाले सेयर कारोबार रोक्का छ भने नेसनल हाइड्रोपावरले विगत दुई वर्षदेखि साधारणसभा गर्न नसकेका कारण सर्वसाधारण सेयरधनीले धितोपत्र बोर्डलगायत कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत उजुरी गरेका कारण सेयर कारोबार रोक्का छ । एभरेस्ट इन्स्योरेन्सको भने कम्पनी सञ्चालक समितिले एकतर्फी बिमा लेख जारी नगर्ने र क्रमिक रूपमा कम्पनी बन्द गर्ने समाचार सार्वज्निक भएपछि कारोबार रोक्का गरिएको हो । त्यस्तै जनरल फाइनान्सका प्रमुख कार्यकारी गुड फर पेमेन्ट चेक काण्डमा कारबाहीमा परेपछि सेयर कारोबार रोक्का छ ।
अहिले अन्य विभिन्न कारणले एनबी इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स, जनरल फाइनान्स र नेसनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार पनि नप्सेले रोक्का गरेको छ । हाल एनबी इन्स्योरेन्सको १४ लाख १९ हजार पाँच सय ९७ कित्ता, एभरेस्ट इन्स्योरेन्सको १० लाख १२ हजार पाँच सय कित्ता, जनरल फाइनान्सको नौ लाख ६९ हजार ६ सय ७२ कित्ता र नेसनल हाइड्रोपावर कम्पनीको एक करोड ३८ लाख ५१ हजार आठ सय ६२ कित्ता सेयर नेप्सेमा सूचीकृत छन् ।
त्यस्तै, हाल नेप्सेमा बैंकिङ, विकास बैंक, होटल, जलविद्युत्, वित्त कम्पनी, बिमा, उत्पादन तथा प्रशोधन, व्यापारिक (ट्रेडिङ) र ‘अन्य’ गरी नौओटा समूहका एक अर्ब १५ करोड २० लाख २२ हजार आठ सय ८५ कित्ता सेयर सूचीकृत छन् । यस्तै सरकारी बोन्ड, संस्थागत डिबेन्चर, अग्राधिकार सेयर र म्युचुअल फन्ड गरी कुल एक अर्ब ५८ करोड २३ लाख ३३ हजार ५८ कित्ता (धितोपत्र) सेयर नेप्सेमा सूचीकृत भएको देखिन्छ ।
विगत केही महिनायता नेप्सेमा सूचीकृत कम्पनी मर्जरमा जाने रकम बढेकाले पनि रोक्का सेयर संख्या वृद्धि भएको नेप्सेले बताएको छ । नेप्सेका अनुसार कारोबार रोक्का गरिएकामध्ये केही कम्पनीको मर्जर प्रक्रिया पूरा भइसकेकाले कारोबार सञ्चालनका लागि आग्रह गरिएमा खुला गरिनेछ । मर्जर प्रक्रिया पूरा भएपछि सेयर कारोबार सञ्चालनका लागि नयाँ कम्पनीका रूपमा नेप्सेमा पुन: सूचीकृत हुनुपर्ने व्यवस्था छ । मर्जरको नाममा कम्पनीको सेयरमूल्यमा कृत्रिम उतारचढाव आउनसक्ने भएकाले त्यसलाई रोक्नका लागि मर्जर प्रक्रिया सुरु भएदेखि पूरा भएर पुन: सूचीकृत नहुँदासम्म नेप्सेले सम्बन्धित कम्पनीको सेयर कारोबार रोक्का गर्दै आएको छ । पछिल्लो समयमा मर्जरप्रति बैंक तथा वित्तीय संस्थाको आकर्षण बढ्दै गएकाले कारोबार रोक्का संख्यामा पनि वृद्धि हुँदै जाने देखिएको छ ।
त्यस्तै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको गोर्खा डेभलपमेन्ट बैंक, नेपाल सेयरमार्केट्स लिमिटेड, क्यापिटल मर्चेन्ट बंैकिङ एन्ड फाइनान्सको पनि सेयर कारोबार रोक्का गरिएको छ भने पिपल्स फाइनान्स, मध्यमाञ्चल ग्रामीण विकास बैंक जस्ता संस्थागत सुशासनको अभावका कारण कारबाही भोगिरहेका संस्थाको सेयर कारोबार पनि बन्द नै छ । मध्यमाञ्चल ग्रामीण विकास बैंकमा युनिटी इन्टरनेसनलको प्रमुख लगानी रहेकाले राष्ट्र बैंकले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएकाले सेयर कारोबार रोक्का गरिएको हो ।
आव ०६७/६८ का तुलनामा गत आवमा ५४ दशमलव २ प्रतिशतले सेयर कारोबारमा वृद्धि भएर १० अर्ब २८ करोड रुपियाँ पुगेको छ । ०६९ असार मसान्तमा बजार पुँजीकरणको कुल गार्हस्थ उत्पादनसँगको अनुपातमा २३ दशमलव ६ प्रतिशत रहेको छ । ०६८ को सोही अवधिमा पनि यो अनुपात ६८ दशमलव ९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव २ प्रतिशत, होटलको १ दशमलव ८ प्रतिशत, व्यापारिक संस्थाको शून्य दशमलव ३ प्रतिशत, जलविद्युत्को ५ दशमलव ३ प्रतिशत र ‘अन्य’को २० दशमलव ५ प्रतिशत अंश रहेको छ ।
गत आवको असार मसान्तसम्म दुई सय १६ कम्पनी नेप्सेमा सूचीकृत छन् । ती कम्पनीमध्ये करिब ८५ प्रतिशत अंश बैंक तथा वित्तीय संस्था र बिमाको रहेको छ । हाल सूचीकृत कम्पनीमध्ये एक सय ८४ बैंक तथा वित्तीय संस्था (बिमा कम्पनीसमेत), १८ ओटा उत्पादन र प्रशोधनमूलक, चारओटा होटल, चारओटा व्यापारिक, चारओटा जलविद्युत् कम्पनी र दुईओटा ‘अन्य’ समूहका रहेका छन् ।

प्रतिक्रिया