आरसिटीको दोस्रो जित, जावलाखेल बाहिरियो

काठमाडौं, ११ असोज । अन्तिम ६ मिनेटभित्र दुई गोल गरी रानीपोखरी कर्नर टिम (आरसिटी) ले एनसेलकप फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । समूहको दोस्रो खेलमा आरसिटीले बुधबार संकटा क्लबलाई ३–२ ले पराजित गर्‍यो । पहिलो खेलमा आरसिटीले बाँसबारीलाई पराजित गरेको थियो ।

निर्धारित समयको खेल सकिन चार मिनेट मात्र बाँकी छँदा विदेशी खेलाडी ओलावालेले आरसिटीका लागि निर्णायक गोल गरे । अफसाइड ट्रयाप बिट गर्दै ओलावालेले गोल गरी संकटालाई स्तब्ध पारेका हुन् ।
खेलमा दुईपटक पछि परेर पनि आरसिटी खेलमा फर्किएको थियो । छैटाँै मिनेटमा काउन्टर एटयाकमा विदेशी खेलाडी स्यामुएलले आरसिटीका गोलकिपर दिलिप क्षत्रीलाई बिट गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर अमर डंगोलको गोलमार्फत आरसिटीले २६औँ मिनेटमा खेललाई बराबरीमा ल्याइपुर्‍याएको थियो । डी–बक्सभित्र ओलावालेले दिएको पासमा अमरले गोल गरेका थिए ।
यद्यपि ४२औँ मिनेटमा संकटाले पुन: खेलमा अग्रता लियो । नुरराज काफ्लेले वर्षात् गुरुङलाई
डी–बक्सभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो । वर्षात्ले नै पेनाल्टी प्रहार गरी त्यसलाई सदुपयोग गर्न सफल भएका थिए । खेलको अन्तिम १० मिनेटमा आरसिटीले कायापलट गर्‍यो ।
मनाङ–मस्र्यांदीका पूर्वखेलाडी युगलकिशोर राईले ८४आँै मिनेटमा आरसिटीलाई बराबरीमा ल्याएर खेललाई रोमाञ्चक मोड दिएका थिए । निर्णायक गोल गरेको दुई मिनेटअघि युगलले गरेको गोल पनि अफसाइड ट्रयाप बिट गरेर सम्भव भएको थियो ।
पहिलो खेलमा पनि आरसिटीले बाँसबारीविरुद्ध कठिन जित हात पारेको थियो । यस जितसँगै आरसिटीले क्वार्टरफाइनलको प्रवेश सम्भावना बलियो बनाएको छ । संकटाले पनि पहिलो खेलमा जित हात पारेको थियो ।
बुधबार नै भएको अर्को खेलमा सरस्वतीले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्‍यो । पहिलो खेलमा नेपाल पुलिसविरुद्ध हार व्यहोरेको सरस्वती यो जितसँगै क्वार्टरफाइनल प्रवेशको सम्भावनामा कायम रहयो । जावलाखेलले भने लगातार दोस्रो हार व्यहोर्‍यो । पहिलो खेलमा बौद्धसँग पराजित जावलाखेल पछिल्लो नतिजासँगै समूहचरणबाटै बाहिरिएको छ ।
खेल सुरु भएको छैटाँै मिनेटमा गरेको गोल नै सरस्वतीलाई जित दिलाउन पर्याप्त भयो । कृष्णगोपाल श्रेष्ठले गरेको फ्रिकिकमा गणेश बिकेले हेडमार्फत गोल गरेका थिए । १३आँै मिनेटमा सरस्वतीले खेलमा फर्कने राम्रो अवसर पाए पनि विदेशी खेलाडी योना एलिआसले डी–बक्सभित्र प्राप्त फ्री–बल पनि सदुपयोग गर्न सकेनन् ।
२१औँ मिनेटमा जावलाखेलले गोल फर्काउने अवसर पाएको थियो तर राज पौडेलले डी–बक्सभित्र प्राप्त अवसरमा समयमा बल प्रहार गर्न सकेनन् । ३८आँै मिनेटमा सरस्वतीका एलिआस वनभर्सेस वन अवसर सदुपयोग गर्नबाट चुके । ५२आँै मिनेटमा एलिआसले डी–बक्सभित्रबाट गरेको प्रहार क्रसबारको नजिकैबाट गएको थियो । ७४आँै मिनेटमा सरस्वतीका विवेक गुरुङले डी–बक्सबाहिरबाट गरेको सशक्त प्रहारलाई जावलाखेलका गोलकिपर मीन बस्नेतले सुन्दर बचाउ गरे ।
समूहको अन्तिम खेलमा जावलाखेलले नेपाल पुलिस र सरस्वतीले बौद्ध क्लबको सामना गर्नेछ । पुलिस र बौद्धको समान चार अंक छ । पुलिस र बौद्धबीचको खेल बराबरी भएको थियो । पछिल्लो समय राम्रो प्रदर्शन गरिरहे पनि यसै सिजन आधा दर्जनभन्दा बढी खेलाडीहरू विभिन्न क्लबमा सरेपछि जावलाखेल संकटमा परेको हो । यस प्रतियोगितामा जावलाखेलको प्रदर्शन स्तरीय देखिएको छैन ।

प्रतिक्रिया