पर्वतीय पर्यटनमा साढे दुई अर्ब आम्दानी

काठमाडौं, ११ असोज । नेपालले सन् ०१२ को वसन्त ऋतुमा पर्वतीय पर्यटनसँग सम्बन्धित गतिविधिबाट साढे दुई अर्ब रुपियाँभन्दा बढी आम्दानी गरेको छ । हिमाल आरोहण रोयल्टी तथा यससँग सम्बन्धित विभिन्न आर्थिक क्रियाकलापबाट यो कारोबार भएको हो ।

पर्वतारोहणका क्षेत्रमा क्रियाशील निजी क्षेत्रका विभिन्न एजेन्सी तथा सरकारी अधिकारीका अनुसार नेपालको पर्वतीय पर्यटनमा यो वर्षको वसन्त ऋतुमा दुई अर्ब ३३ करोड २० लाख रुपियाँको कारोबार भएको छ । सगरमाथा र आसपासका क्षेत्रका होटलले गर्ने आम्दानी तथा विभिन्न एअरलायन्सले गर्ने कारोबार भने यसमा समावेस छैन । लुक्ला, नाम्चे, खुम्जुङलगायत क्षेत्रमा पाँच सयभन्दा बढी होटल छन् । सिजनका बेला यी सबै होटल भरिएका हुन्छन् । त्यस्तै सगरमाथा आरोहणका लागि पदयात्रा सुरु हुने लुक्ला विमानस्थलमा आधा दर्जन विमान कम्पनीले नियमित उडान गर्छन् । सिजनका बेला लुक्ला विमानस्थलमा दैनिक ६० वटासम्म उडान हुन्छ । अप्रिल र मे महिना हिमाल आरोहणका लागि मुख्य सिजन हो ।
एसियन ट्ेरकिङ प्रालिका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार यो वर्ष पर्वतीय पर्यटनका लागि सकारात्क रह्यो । यद्यपि तेस्रो मुलुकका पर्यटक बढ्न नसकेका कारण हिमाल आरोहणमा उल्लेख्य वृद्धि भने हुन सकेन । प्रत्यक्ष हवाई सम्पर्क अभावमा नेपालमा युरोप अमेरिकालगायत तेस्रो मुलुकका पर्यटकको संख्या बढ्न सकेको छैन । नेपालमा खासगरी अमेरिका, युरोप तथा मध्यएसियाका नागरिक पर्वतारोहणका लागि आउने गरेका छन् ।
व्यवसायीका अनुसार राज्यले सबैभन्दा बढी आम्दानी सगरमाथा आरोहणबाट गर्छ । सगरमाथा आरोहणका लागि सरकारले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर आरोहण शुल्क तोकेको छ भने अन्य हिमालको तुलनामा सगरमाथा आरोहणको खर्चसमेत धेरै गुणा बढी छ । शेर्पाका अनुसार सगरमाथा आरोहणमा लाग्ने अधिकांश खर्च विदेशीले नै व्यहोर्ने गरेका छन् । सगरमाथा आरोहणका क्रममा एक आरोहीले ३५ हजार डलरसम्म खर्च गर्नुपर्छ भने ८ हजार मिटरभन्दा अग्ला अन्य हिमाल आरोहण गर्दा पनि प्रतिव्यक्ति २१ हजार डलरसम्म खर्च लाग्ने गर्छ । विश्वमा रहेका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आठवटा नेपालमा छन् ।
यो सिजनमा सगरमाथा आरोहण रोयल्टीबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २६ करोड ४६ लाख ५० हजार रुपियाँ संकलन गरेको छ । त्यस्तै सगरमाथा आरोहणबाट यो सिजनमा करिब एक अर्ब २० करोड रुपियाँ नेपाली अर्थतन्त्रमा योगदान पुगेको छ । यसमा आरोहण रोयल्टी, लुक्लादेखि बेसक्याम्प पुग्न र बेसक्याम्पदेखि लुक्ला ओर्लिन पोर्टरलाई दिइएको ज्याला, शेर्पा गाइडका लागि आवश्यक सामग्री, ज्याला, बोनस, इन्सुरेन्स, हवाई भाडा, लगेज, हेलिकोप्टर चार्टर, पोर्टरको इन्सुरेन्स, टेन्टलगायत सामग्री, अक्सिजन बोत्तल, मास्क आदिको खर्च समावेश छ ।
ट्रेकिङ व्यवसायीका अनुसार आरोहीहरू लुक्लादेखि सगरमाथा बेसक्याम्पसम्म पुग्दा १० हजार र फर्किंदा ७ हजार पोर्टरले रोजगारी पाउँछन् । त्यस्तै पाँच सयभन्दा बढी कुक र गाइडले पनि प्रत्यक्ष रोजगारी पाउँछन् । एक अनौपचारिक तथ्यांकअनुसार सगरमाथा आरोहणमा जाने एक विदेशीले २५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्छ । एउटा टिम सगरमाथा चढ्दा कम्तीमा ३० जना पोर्टर र त्यसको आधा गाइड तथा कुक लैजानुपर्छ । गाइडलाई एक सिजनको तीन लाख रुपियाँ र भरियालाई दैनिक नौ सय रुपियाँ पारिश्रमिक दिनुपर्छ । सगरमाथालगायत अग्ला हिमाल आरोहण गर्दा टेन्ट, डोरी, अक्सिजन सिलिन्डर, खानेकुरा, औषधि तथा बन्दोबस्तीका अन्य सामान पुर्‍याउन धेरै पोर्टर आवश्यक पर्छ ।
यो सिजनमा तीन हजारभन्दा बढी विदेशी आरोही नेपाल आएका थिए । यसमध्ये दुई हजार दुई सय २५ ले नेपाल पर्वतारोहण संघले अनुमति प्रदान गर्ने हिमाल चढे भने सात सय ८० ले ६ हजार पाँच सय मिटरभन्दा अग्ला हिमाल आरोहण गरे जसका लागि सरकारी निकायबाट अनुमति लिनुपर्छ । यस वर्ष चार सयभन्दा बढीले नेपालतर्फबाट सगरमाथा आरोहण गरेको तथ्यांक छ जसमध्ये दुई सय आठ नयाँ आरोही छन् । त्यस्तै तिब्बततर्फबाट एक सय ६५ ले आरोहण गरे । तुलनात्मक रूपमा सगरमाथा आरोहण नेपाल तर्फबाट सजिलो हुने आरोही बताउँछन् ।
यो वर्ष ३० वटा विदेशी टिमले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यसमा तीन सय ३५ आराही र तीन सय ५८ हाई अल्टिच्युड क्लाइम्बिङ गाइड शेर्पा थिए । त्यस्तै बेसक्याम्प र क्याम्प २ का लागि दुई सय ३० किचेन स्टाफले अनुमति पाएका थिए । अनुमति लिएका तीन सय २५ विदेशीमध्ये एक सय ७८ ले मात्र आरोहण गर्न सके । यो संख्या अनुमति लिएका कुल आरोहीको ५५ प्रतिशत मात्र हो ।
सरकारले हिमाललाई व्यावसायीकरण गरी आर्थिक लाभ उठाउने उद्देश्यले तीन सय २६ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । खुला गरिएका हिमालमध्ये सगरमाथा आरोहण गर्ने टोलीले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । त्यस्तै, ७ हजारदेखि ८ हजार मिटरसम्मका हिमालका लागि एउटा टोलीले तीन हजारदेखि चार हजार अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ ।
पर्वतीय पर्यटन विकासका लागि सरकारले पर्याप्त ध्यान नपुर्‍याएको व्यवसायीले बताउँदै आएका छन् । पर्वतारोहण क्षेत्रमा सरकारले गनुपर्ने कामबारे पर्यटन वर्ष सुरु हुनु ६ महिनाअघि नै लिखित सुझाव दिए पनि कार्यान्वयन नभएका कारण पर्यटन वर्षमा पनि ट्ेरकिङ र पर्वतारोहणको क्षेत्रमा उल्लेख्य सुधार नभएको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया