राजनीतिक नेतृत्व र नेपाली राष्ट्रियता

राजनीति भनेको समाज सेवा हो । समाजमा आएका समस्यासँग जुध्दै त्यसको निकास दिएर जनताका पक्षमा कार्य गर्नु नै राजनीति हो । जनताका पक्षमा कार्य गर्दा आइपर्ने विभिन्न कठिनाइसँग पौँठेजोरी खेल्दै जनताका लागि ज्यान दिन समेत पछि नपर्ने व्यक्ति नै नेता हो । विडम्बना, हाम्रो देशमा राजनीति समाज सेवा नभएर यो व्यवसायको रूपमा विकास भएको छ । जव, उ राजनीतिक नेतृत्त्वको उच्च ओहदामा पुग्छ उ रातारात धनी हुन्छ । उसको जीवन शैली फेरिन्छ । चप्पलबाट ब्रान्डेड जुत्तामा पुग्छ, झुपडीबाट महलमा पुग्छ, साइकलबाट पजेरोमा पुग्छ । उ सेवकबाट मालिक बन्छ अर्थात उ नेपाली असली नेता बन्छ । तर, नेपाल देश भने क्रमश: भुटान बन्दै छ । अफगानिस्तान बन्दै छ । अर्थात्, आसाम बन्ने तरखरमा रहे भैँm भान हुन्छ ।
विश्वका वास्तविक नेताहरूले झुपडीमै जीवन लीला समाप्त पारे । छोरी मर्दा कात्रो किन्ने पैसा नहुँदा समेत भ्रष्टाचार गरेनन्, भिख मागेनन् । तर, हाम्रा नेताहरू झुपडीबाट परिवर्तन भएर महलमा बस्छन, विदेशीबाट भिख माग्छन् । कति फरक छ अरू देशका नेता र हाम्रो देशका अहिलेका नेतामा । कम्युनिस्टका आदर्श पुरुष कार्ल माक्र्ससँग घर खर्च गर्न र कोठा भाडा तिर्न पैसा हुँदैनथ्यो । आलु र पाउरोटी खाएर उनले कैयौँ दिन काटे । क्युवाका मुक्तियोद्धा चे ग्वेभारा खाकीका लुगा लगाउँथे । कठिन परिश्रम गर्थे । महात्मा गान्धीको सम्पत्तिका नाममा केवल पाँच बस्तु थिए– चस्मा, चप्पल, गीता, बाख्रा र एउटा बूढो घडी । माओवादीका सिद्धान्तपुरुष माओत्सेतुंले क्रान्तिताका खान नपाएर छालाको जुत्ता उमालेर खाएका थिए । ठीक त्यतिबेलै उनीले आÏना कार्यकर्तालाई जनताको सियोसम्म नलिनु भनेर सिकाएर नायकका रूपमा चिनिए । तर, हाम्रो देशमा उनको आदर्शलाई मान्ने पार्टीका नेताहरू नायक नभएर खलनायक भैँm देश र जनतालाई चुसिरहेका छन् । हाम्रा नेताहरू जनताबाट चन्दा र लेविका नाममा करोडौँ उठाएर मोज मस्ती गरिरहेका छन् । उपचारका नाममा समेत फर्जी बिल भरेर सरकारबाट लाखौँ रुपियाँ असुल्ने नेताहरू पनि माओकै अनुयायी भएका छन् ।
नेपालका नेताहरूमध्ये पुष्पलाल श्रेष्ठले भारतीयसँग पैसा सापटी माग्दा फिर्ता नलिने सर्तमा मात्र दिने भने पछि लिन मानेनन् । बिरामी पर्दा जनरल वार्डमा उपचार गराए । बिपी कोइरालाले सादा जीवन बिताए । लौहपुरुष गणेशमान सिंहले प्रधानमन्त्री पद प्राप्त गर्दा पनि अस्वीकार गरे । तर, अहिले नेतृत्वमा रहेका नेताहरूले कुर्सीका लागि देशलाई बन्धक बनाइरहेका छन् । पदीय मार्यादाको ख्यालै नगरी विदेशीहरूसँग लम्पसार परिरहेका छन् । एमाओवादीको नेतृत्त्वमा सरकार बनेपछि राष्ट्रियता कमजोर भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियताको मुद्दा उचालिरहेको छ । तर, के नेपाली राष्ट्रियताको मुद्दा रातारात कमजोर भएको हो ? निश्चय पनि होइन । नेपाली राष्ट्रियता कमजोर पार्नमा विगतदेखि वर्तमानसम्म नेतृत्त्वमा रहेका सबै दलका नेताहरूले जिम्मेवारी लिनुपर्छ । त्यसमा पनि कांग्रेसले सबैभन्दा बढी जिम्मेवारी लिनुपर्छ । किनभने करिब ६५ वर्षअघि गठित कांग्रेसले नेपाली राजनीति र सरकारको सबैभन्दा बढी नेतृत्त्व लिएको छ । यदि वर्तमान सरकारका कारण राष्ट्रियता कमजोर भएको हो भने त्यसको खुलेर विरोध गर्न किन सकिएन ? किन जनतालाई सचेत गराउन गाउँ–गाउँसम्म पुग्न सकिएन ? किन राष्ट्रियताको पक्षमा आन्दोलन गर्न सकिएन ?
हाम्रा राजनीतिक नेतृत्वहरू लोकतान्त्रिक गणतन्त्रलाई कमजोर तुल्याउने गरी सत्ता र शक्तिका लागि मरिहत्ते गरिरहेका छन् । जहिले पनि नेपाली राजनीतिमा नायकहरूको अभाव रहेको पाइन्छ । दूरदर्शी सोचाइ र नैतिकवान राजनीतिक नेतृत्त्वको अभावले मुलुक आज इतिहासकै गम्भीर राजनीतिक तथा संवैधानिक संकटको भुमरीमा परेको छ । मुलुक हाँक्ने एक दूरदर्शी नायकको अभावले नै हाम्रो नेपाली राष्ट्रियता कमजोर बन्दै गएकोमा दुईमत नहोला । त्यसैले, नेपाली राजनीतिको नेतृत्व लिनका लागि अहिले इमानदार र दूरदर्शी स्वभावयुक्त नायक अर्थात् हिरोको आवश्यकता मुलुकलाई छ ।

प्रतिक्रिया