ट्रेकिङ रुट सफाइमा भ्रष्टाचार

काठमाडौं, ९ असोज । नेपाल पर्यटन श्रमिक संघले ट्रेकिङ रुट सफाइ कार्यक्रमका नाममा भ्रष्टाचार भएको दाबी गरेको छ । ट्रेकिङ व्यवसायीको साझा संस्था टानले गत जुन ५ मा विश्व वातावरण दिवसको अवसरमा गरेको सफाइ कार्यक्रममा भ्रष्टाचार भएको दाबी संघले गरेको हो । टानले विश्व वातावरण दिवसका अवसरमा लाङटाङ क्षेत्रमा सरसफाइ गरेको थियो ।

सफाइ कार्यक्रममा करिब पाँच लाख रुपियाँ खर्च भएको प्रतिवेदन टानको साधारणसभाले हालै पारित गरेको छ । मजदुरले भने खर्च अपारदर्शी र आवश्यकभन्दा बढी भएको आरोप लगाएका छन् । सफाइ कार्यक्रममा पर्यटन श्रमिकको सेवासुविधा तथा सुरक्षाका लागि स्थापना गरिएको टिम्स कोषबाट खर्च भएकामा समेत मजदुर संगठनहरूले आपत्ति जनाएका छन् । ‘स्वयंसेवीका रूपमा आफैँ जिम्मेवार भएर गर्नुपर्ने यस्तो कार्यक्रममा टिम्स कोषको रकम खर्च गर्नु आपत्तिजनक छ,’ नेपाल पर्यटन श्रमिक संघका सचिव भागवतश्री न्यौपानेले भने ।
तीन दिनको कार्यक्रम भनेर एक सातासम्म लम्ब्याइएकामा पनि उनको आपत्ति छ । सफाइ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा वातावरण विषय पढ्ने विद्यार्थी तथा टानअन्तर्गतको टिम्स हेर्ने कर्मचारी सहभागी थिए । टानका जिम्मेवार अधिकारी भने धुन्चेमा पत्रकार सम्मेलन गरी त्यहीँबाट फर्केका थिए ।
टानको साधारणसभाले पारित गरेको प्रतिवेदनमा सफाइ कार्यक्रममा ट्ेरड युनियनहरूको पनि उत्साहजनक सहभागिता रहेको उल्लेख भए पनि आधिकारिक रूपमा कुनै पनि युनियनलाई खबर नगरिएको सचिव न्यौपानेले बताए । कार्यक्रम टानले गरेको भए पनि रसुवा नुवाकोट पर्यटन विकास समितिले गरेको भनेर गलत प्रचार गरिएको उनको आरोप छ ।
टानले तयार गरेको खर्च विवरणअनुसार सफाइ कार्यक्रममा चार लाख ७९ हजार ६ सय रुपियाँ खर्च भएको छ । यसअनुसार सबैभन्दा बढी खर्च यातायातमा ९३ हजार रुपियाँ भएको छ । भ्रमण भत्ताबापत मात्र ६३ हजार रुपियाँ खर्च भएको देखाइएको छ । त्यस्तै टिसर्टमा ५३ हजार पाँच सय, स्याटेलाइट फोनमा १९ हजार सात सय, लजिङ फुडिङमा एक लाख ८५ हजार, खादामा १८ हजार तथा फोटोग्राफीमा १४ हजार रुपियाँ खर्च भएको छ । टानका पदाधिकारी चुनावबाट नभई राजनीतिक सहमतिबाट आएकाले जिम्मेवार नभएको मजदुर संगठनहरूको आरोप छ ।
टानले पर्यटकीय क्षेत्रमा फोहोर बढेको भन्दै जेठ तेस्रो साता ४० औँ विश्व वातावरण दिवसको अवसर पारेर लाङटाङ क्षेत्रमा सफाइ कार्यक्रम गरेको थियो । सांकेतिक कार्यक्रम भनिएको अभियानबाट कति फोहोर संकलन भयो भन्ने जानकारी कसैलाई गराइएकै छैन । अभियानको क्रममा रुटको दायाँबायाँ दुवैतिर ५ मिटर क्षेत्रको फोहोर संकलन गरिने बताइएको थियो । यस क्षेत्रमा रहेको नन डिस्पोजिबल (प्लास्टिकजन्य) फोहर संकलन गरी काठमाडौंस्थित फोहोरमैला व्यवस्थापन केन्द्रलाई बुझाइने भनिए पनि भनेअनुसार काम नभएको मजदुर संगठनले बताएका छन् ।

प्रतिक्रिया