असहिष्णुताको नेपाली राजनीतिक चरित्र

‘नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता प्रत्येक नागरिकलाई हुने’ कुरा नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ (१) को खण्ड ‘ङ’ मा उल्लेख छ । पूर्वराजा ज्ञानेन्द्र पनि एउटा नागरिक हुन् । उनलाई निर्वाध रूपले आवतजावत घुमफिर गर्ने स्वतन्त्रता छ । यो वैधानिक यथार्थ हो । एउटाको हकको सम्मान अर्कोले गर्नु कानुनी दायित्व पनि हो । त्यसमा पनि सात राजनीतिक दल र एमाओवादीको सहमतिमा बनेको अन्तरिम संविधान एक दस्तावेज हो । यसमा सम्बद्ध पक्षधर अझ संवेदनशील बन्नु पर्ने हो ।
गण्डकी र धौलागिरीको धार्मिक भ्रमणमा निस्केका पूर्वराजाको भ्रमणलाई अवरोध पुर्‍याउन एमाओवादीले आफ्ना कार्यकर्तालाई निर्देशन दियो । त्यति मात्र होइन, धार्मिक स्थलको भ्रमणका विरुद्धमा म्याग्दी जिल्लास्थित राजनीतिक दलहरूले ५ असोज, ०६९ शुक्रबारका दिन जिल्ला बन्दको आह्वान गरे । पूर्वराजा ज्ञानेन्द्रप्रति असहिष्णुताको राजनीतिक इतिहासमा कुनै नौलो र विशेष भने होइन । पृथ्वीनारायण शाहको मृत्युपश्चात् राजा भएका प्रतापसिंह शाहको पालादेखि नै यसको सुरुवात र अभ्यास भएको पाइन्छ । त्यसकै निरन्तरताको रूपमा अहिलेको राजनीतिक चरित्र र व्यवहारलाई लिनुपर्छ । दुई वर्ष १० महिना शासन गरेका प्रतापसिंह शाहले आफ्ना काका बहादुर शाहलाई बेतिया निर्वासनमा पठाएका थिए । प्रतापसिंह शाहका अढाई वर्षका छोरा रणबहादुर शाहको नायवी भएर शासन गर्ने प्रतापसिंहकी रानी राजेन्द्रलक्ष्मी र बहादुर शाहको बिचमा कहिल्यै सुमधुर सम्बन्ध भएन । राजनीतिक उत्थान र पतनको कुप्रभाव यिनीहरूको जीवनमा मात्र होइन, राष्ट्रिय जीवन र राष्ट्रमा नै पर्‍यो । राजनीतिक असहिष्णुताकै कारण बहादुर शाहको निधन जेलभित्र नै भयो । उनको मृत्यु स्वभाविक वा अस्वभाविक के थियो ? इतिहासले शंकाको निवारण गर्न पनि सकेको छैन ।
इतिहासको एक कालखण्डमा सत्ता संघर्षमा एकअर्काका दुश्मनका रूपमा रहेका थापा र पाण्डे गुट एक अर्काको उत्थान र पतनमा आफ्नो राजनीतिक भविष्यको आँकलनमा लिप्त रहे । उनीहरूको जीवन त नराम्ररी प्रभावित भयो नै त्यसको असर राष्ट्रमा समेत नराम्रोसँग पर्‍यो । हिंस्रक र कहालीलाग्दा थुप्रै घटना भए । नेपाल अंग्रेज युद्धको कारणहरू मध्येमा आपसी वैरभाव, षडयन्त्र र राजनीतिक असहिष्णुता पनि एक थियो । सन् १८१४–१६ सम्म भएको नेपाल अंग्रेज युद्धमा नेपाल पराजित भयो । सुगौली सन्धीमा गएर युद्ध टुङ्गिएको थियो । युद्धको कारण नेपालले आफ्नो एक तिहाइ भू–भाग अर्थात् ४० हजार वर्गमाइल क्षेत्र गुमाउन पुगेको थियो । जेलमा आत्महत्या गरिएका भनिएका भिमसेन थापाको दाहसंस्कार समेत गर्न दिइएन । उनका परिवारले काजक्रिया गर्न पनि पाएनन् । सत्ता उन्मादले के सम्म गरेको थिएन । (विस्तृत जानकारीको लागि – ‘अब कहिल्यै यस्तो नहोस्’, बाबुराम आचार्य)
षडयन्त्रकै बलमा शासन कब्जा गर्न पुगेका जंगबहादुर राणाबाट स्थापित एक सय चार वर्षसम्मको राणाकालीन अवस्थामा झन राजनीतिक सहिष्णुताको संस्कारको थालनीको सम्भावना थिएन र भएन पनि । राणा शासनको विरुद्ध भएको राजनीतिक आन्दोलनको चरणमा कहिलेकाहीँ स्मरण गर्न लायक राजनीतिक उदारता भने प्रस्तुत भएको पाइन्छ । २००३ साल माघ महिनामा ‘नेपाली राष्ट्रिय कांग्रेस’ को प्रथम महाधिवेशन भारतको बनारसमा भएको थियो । यस अधिवेशनले नेपाली कारागारको गोलघर नामक कालकोठरीमा बन्द गरिएका नेपाल प्रजापरिषदका सभापति टंकप्रसाद आचार्यलाई नै नेपाली राष्ट्रिय कांग्रेसको सभापतिमा सर्वसम्मतिले चयन गरेको थियो । (समकालीन इतिहासमा पुष्पलाल, गोविन्द ज्ञवाली, पष्ठ २४–२५) त्यसै अधिवेशनबाट नै प्रजापरिषदको अभिवादनको नारा ‘जय नेपाल’ लाई सहर्ष अपनाएको थियो । अभिवादनको यस परम्परालाई अमर सहिद शुक्रराज शास्त्रीले सर्वप्रथम चलन चल्तीमा ल्याएका कुरा इतिहास आफैँ साक्षी छ । (हेर्नुहोस् पूर्व उल्लेखित पुस्तक पृष्ठ २५)
यस्तो राजनीतिक उदारताको घटना त्यसपछिका कुनै पनि राजनीतिक व्यवस्थामा भएको पाइँदैन । २००७ सालदेखि २०१७ सालसम्मको एक दशकको इतिहास १७ सालदेखि २०४६ सम्मको तीन दशकको इतिहास, २०४६ देखि २०६३ सम्मको राजनीतिक अभ्यास र २०६३ देखि हालसम्मका राजनीतिक व्यवहारमा राजनीतिक संस्कार, उदारता, संस्कृति र सहिष्णुताको विकास र अभ्यास कतै भएको पाइँदैन । त्यसैको परिणाम आज हाम्रो राष्ट्र र राष्ट्रियता अत्यन्त कमजोर अवस्थामा छ । बेलामौकामा देखा पर्ने उग्र मौसमी राष्ट्रवादले राष्ट्रलाई बलियो पार्ने काम पनि भएको छैन । सिंगो र राष्ट्र र जनताको जीवन नै जोखिममा परेको छ । तर, पनि जिम्मेवार पक्षको चेतना अझै व्युँझेको पनि छैन ।
राजनीतिक असहिष्णुताकै सवालमा वीपी र पुष्पलालप्रति भएको ब्यवहार सम्झनु पर्ने हुन्छ । आजीवन नेपालको बामपन्थी आन्दोलनका अग्रणी पुष्पलाल श्रेष्ठलाई २०३१ सालदेखि मुटुको बिरामी भयो । यसै रोगको कारण अन्तत: साउन ७, २०३५ मा भारतको दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा निधन भयो । विरोधको राजनीतिमा आजीवन क्रियाशील पुष्पलालको शव नेपाल ल्याउन तत्कालीन सरकारले निषेध गर्‍यो । त्यति मात्र होइन, उनको अस्थु ल्याउन समेत अवरोध गरिएको थियो । उनै पुष्पलाललाई आफ्नै बामपन्थी स्वबन्धुले ‘गद्दार पुष्पलाल’ भन्न समेत भ्याएका थिए (नेपाल कम्युनिष्ट पार्टी, चौथो महाधिवेशनबाट पारित प्रस्ताव) सधैँ बिरोधको राजनीतिमा रहेका पुष्पलालले राष्ट्र र जनताप्रति के गद्दारी गरे ? इतिहासले सधैँ प्रश्न गरी राख्ने छ । त्यसको जवाफ आनन्द बहादुर क्षेत्रीले लेखेको ‘गद्दार पुष्पलाल’ ले निश्चय पनि दिन सक्ने छैन । मनमोहन अधिकारी देशभ्रमणको क्रममा पाल्पा पुग्दा एक रात बास बस्न पनि तत्कालीन स्थानीय प्रशासनले दिएको थिएन ।
२०३३ सालमा तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको आँकलन गरेर निर्वासनमा रहेका वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कदाको वातावरण पनि सहज भएन । श्रावण ६, २०३९ मा वीपीको निधन भयो । पूर्व प्रधानमन्त्रीको निधन हुँदा दिने राष्ट्रिय बिदा वीपीको मृत्यु हुँदा दिइनु पर्छ भनेर हतार हतारमा काटिएको थियो भनिन्छ । यसको खन्डन वा समर्थन सम्बन्धित पक्षबाट नै हुनेछ । वीपी जयन्तीमा रोपेका बिरुवाहरूमा वीपीकै उपस्थिति हुने ठानेर वृक्षहरू उखेलिने काम समेत नभएका होइनन् । त्यस्तै पंचायतकालमा निर्मित चक्रपथको ग्रीन बेल्ट बहुदल स्थापनापछि प्रभावित भयो । ग्रीन बेल्टको सुरक्षामा ध्यान पुर्‍याइएन । ग्रीन बेल्ट समेत प्रभावित भयो मानौँ ग्रीन बेल्ट र पंचायत एक अर्काको पुरक हुन् । ग्रीन बेल्ट जोगाउन पंचायत जोगाउनु सरह ठानियो । पूर्व राजाको भ्रमणमा भएको राजनीतिक व्यवहार, नेपाली राजनीतिको चरित्रको एउटा पाटो हो । लोकतन्त्रमाथि विश्वास राख्ने दलहरूबाट पनि त्यस्तो व्यवहारमा सहमति जनाउनु आफ्नै सिद्धान्त, आस्था र विश्वासप्रति विचलन हुनु हो । राजनीतिक साँस्कृतिक संस्कारको विकास कहिले हुन्छ ? थाहा छैन । यसको जवाफ सम्बन्धित पक्ष बाहेक अरूसँग छँदा पनि छैन ।

प्रतिक्रिया