राष्ट्रिय पोसाक हाम्रो राष्ट्रिय पहिचान

समय यस्तो आयो कि अन्तर्राष्ट्रिय रूपमा राष्ट्रिय पहिचान दिलाउने दौरा सुरुवाल लाउनै छाडे धेरैले । के यसको पछाडि पनि कुनै ग्रयान्ड डिजाइन छ र ? दौरा सुरुवाल, चौबन्दी चोलो र साडी लाएको नेपाली हेर्न अब नेपालीले दार्जलिङ र सिक्किमतिर जानुपर्छ । दौरा सुरुवाल, चौबन्दी चोलो र साडीमा कसैले पंचायती गन्ध देख्छन् । कसैले आधुनिक जमानामा आफूलाई पाखे देख्छन् कि भनेर नलाएका पनि होलान् । तर, सफा र सुग्घर लुगाले सबैको इज्जत धान्छ । सुट, पाइन्ट, कोट, टाई र कुर्ता सुरुवाल लाउँदा आफूलाई बुद्धिजीवी र आधुनिक देख्नेहरूको सोच एउटा पाखण्डी मात्र हो । सदियौंदेखि दौरा सुरुवाल, चौबन्दी चोलो र साडी लाउँदा र खुकुरी भिरेपछि विश्व समुदायले यी त नेपाली हुन् भनेर सजिलै चिन्दै आएको हो । अब त्यस्तो रहेन । सायद हाम्रा पितापुर्खाका आत्माले देख्ने भए ती रुँदा हुन् हाम्रा राष्ट्रिय पहिचानका मौलिक संस्कृतिलाई विकृति पार्ने नवसोचहरू देखेर । दौरा सुरुवाल, कोट, चौबन्दी चोलो र साडीलाई राष्ट्रिय पोसाकका रूपमा राष्ट्रपति, उपराष्ट्रपति, सिंहदरबारभित्रका पुरुष र महिला मर्यादा पालकहरूले मात्र लाएका देखिन्छन् । नेपालको प्रधानमन्त्री र मन्त्रीहरू विशेषगरी एमाओवादी र मधेसवादी दलबाट मन्त्री हुनेहरू पनि दौरा सुरुवाल र कोट लाउँदैनन् । महिलाबाट राष्ट्रपति, उपराष्ट्रपति एवं मन्त्रीहरू भएको भए तिनले चौबन्दी चोलो र साडी लाउँथे होलान् । यसो हेर्दा जुनै जातजाति र समुदायका होस् केवल महिलाहरूले मात्र आÏनो संस्कृति जोगाएका देखिन्छन् । विडम्बना महिलाहरू राष्ट्रका प्रमुख पदहरूमा पुग्दैपुग्दैनन् र पुग्न पनि दिइँदैन ।
हालैका दिनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रसेवक कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य पोसाक लाउनुपर्ने निर्देशन दियो । त्यसपछि कर्मचारीहरूले पोसाक लाउन थालेका छन् । नत्र त राज्यले दिएको पोसाक भत्ता त्यसै खेर गइरहेको थियो । ७० हजारभन्दा बढीको संख्यामा रहेको सबै राष्ट्रसेवक कर्मचारीले दौरा सुरुवाल, कोट, चौबन्दी चोलो र साडी लाउने हो भने ठूलो धनराशि बिदेसिनबाट जोगिन्छ । नेपाली उद्योगले काम पाउँथ्यो । हाम्रो ऐतिहासिक पोसाकको गरिमा बढ्ने थियो । सिलाइबुनाइ गर्नेको सीपले निरन्तरता पाउँथ्यो । हामी नयाँ नेपाल निर्माण गर्ने अभियानमा छौँ तर राम्रा संस्कृतिहरू भने ध्वस्त पार्दै छौँ । जुनसुकै राष्ट्रलाई विश्वमा चिनाउन केही स्थापित मान्यताहरू हुन्छन् । त्यो भनेको राष्ट्रिय भाषा, राष्ट्रिय झण्डा, राष्ट्रिय पोसाक, राष्ट्रिय गान (धून), राष्ट्रिय जनावर, राष्ट्रिय फूल, राष्ट्रिय रङ आदि हुन् । राष्ट्रिय पहिचान र जातीय पहिचान फरक हुन् । भोलि संघीयताको कार्यान्वयन गरिँदा जातीय आधारमा प्रदेशहरू निर्माण भए पनि वा नभए पनि नेपालका आदिवासी जनजाति, मधेसी वा कुनै भिन्नै संस्कृति भएकाले आÏनो पहिचानको पहिरन वा भेषभूषालाई निर्वाध रूपमा लगाउन पाउने व्यवस्था हुनुपर्छ । तर, राष्ट्रिय पहिचानको रूपमा भने एउटा मात्र पहिरन हुनु अनिवार्य हुन्छ ।
दौरा–सुरुवाल र कोट खस, बाहुन र क्षत्रीको मात्र भेषभूषा होइन । धेरैजसो आदिवासी जनजातिले पनि दौरा सुरुवाल लगाउँछन् । नेवारले पनि लाएका छन् । तामाङ भाषामा दौरा सुरुवाललाई लप्ता सुरवाल भनेर लाउने गर्छन् । म पनि लप्ता सुरवाल (दौरा सुरुवाल) लगाउँछु । खुकुरी पनि भिर्छु । गाउँघरमा धेरैले दौरासुरुवाल नै लाउँछन् । मलाई यो पोसाकको यसकारण माया लाग्छ । तर, दौरा सुरुवाल र अन्य मौलिक पहिरन पनि छन् तामाङको । खुकुरी राष्ट्रिय हतियार पनि हो । वनजंगल र गोठमा बस्दा तामाङहरू अहिले पनि खुकुरी अनिवार्य भिर्छन् । जनआन्दोलन २ पछि खुकुरीको विषयमा कुनै विवाद भएन । तर, दौरा सुरुवाललाई भने विवादको विषय बनाएको देखिन्छ । खुकुरी र दौरा सुरुवालले नेपालीलाई वीर नेपाली वीर गोर्खाली भनेर संसारभर चिनाएको इतिहास बिर्सनु हुँदैन । परिवर्तनको नाममा स्थापित मान्यताहरूलाई हामी किन मेटाउन खोज्दै छौँ ? राजसंस्था ठीक नभएको होला रे तर धेरैले लाउने यो पोसाकलाई हाम्रा मन्त्रीहरूले किन मन नपराएका हुन् ? के हाम्रा नेताहरूलाई सर्ट, कमिज, पाइन्ट, कोट, सुट, पञ्जाबी कुर्ता सुरुवाल हाम्रा पुर्खाहरूका पोसाक हैनन् भन्ने हेक्का नभएकै हो त ? पहिचानको राजनीति गर्नेहरूले जातीय पहिचानलाई मात्र कुरा उठाउने होइन । अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रिय पहिचानलाई ओझेलमा पारेर देशभित्रको पहिचानलाई मात्र उजागर गरेर खासै महत्त्व राख्दैन ।

प्रतिक्रिया