दूरसञ्चारको अध्यक्षका लागि दौडधुप

काठमाडौं, ४ असोज । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष हुन विभिन्न व्यक्तिले दौडधुप सुरु गरेका छन् । अध्यक्षका लागि आवेदन दिने म्याद सकिएसँगै यसका लागि दौडधुप सुरु भएको हो ।
अध्यक्षका लागि दौडधुप गर्नेमा सबैभन्दा अगाडि नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक दिगम्बर झा छन् । झालाई ०६३ सालमा तत्कालीन आपूर्ति मन्त्री राजेन्द्र महतोले आयल निगमको कार्यकारी निर्देशक बनाएका थिए । पछि एकीकृत नेकपा माओवादीका तर्फबाट आपूर्ति मन्त्री भएका लेखराज भट्टले निगममा पारदर्शी रूपमा काम नगरेको भन्दै झालाई हटाएका थिए । झा जुनसुकै सार्वजनिक संस्थानमा पनि पदका लागि आवेदन दिने गर्छन् । यसअघि उनले नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण तथा जलविद्युत् लगानी तथा विकास कम्पनीमा पनि प्रमुख पदका लागि आवदेन दिएका थिए ।
सञ्चारमन्त्री मधेसीमूलको भएका मौकामा प्राधिकरणको अध्यक्ष हुन उनले दौडधुप सुरु गरेको बताइन्छ । अध्यक्ष हुनका लागि उनले भारतीय लगानीको युटिएललाई समेत प्रभावमा पार्न खाजेको स्रोतले बताएको छ । उनले युटिएललाई गत असार मसान्तसम्मको एक अर्ब ५५ करोड रुपियाँ रोयल्टी मिनाहा गरिदिने प्रस्तावसमेत गरेको स्रोतले बतायो । यसकै कारण युटिएलका उच्च अधिकारी झालाई अध्यक्ष बनाउन लागिपरेको बताइएको छ । युटिएलले मन्त्रीलाई यसका लागि मोटो रकम अफर गरेको स्रोतको दाबी छ । सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवसमेत युटिएलको पक्षमा रहेको बताइन्छ । हालै दूरसञ्चार क्षेत्रको अध्ययन गर्न एउटा कार्यदल गठन भएको छ । यसको संयोजक मन्त्री यादव आफैँ छन् ।
अध्यक्षका लागि दौडधुप गर्नेमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक विश्वनाथ गोयल पनि छन् । गोयलले गत फागुनमा टेलिकमबाट अवकाश पाएका थिए तर उनको नाममा अहिले पनि टेलिकममा सेयर छ । दूरसञ्चार ऐनअनुसार कुनै पनि दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीमा सेयर भएको व्यक्ति प्राधिकरणको अध्यक्ष बन्न पाउँदैन । अध्यक्ष पदका लागि गोयलले विभिन्न शक्तिकेन्द्र धाइरहेको बताइन्छ । यसका लागि उनले पटक–पटक सञ्चार मन्त्रीलाई पनि भेटेका छन् ।
प्राधिकरण अध्यक्षका लागि टेलिकमका अर्का पूर्वप्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले पनि आवदेन दिएका छन् । कंसाकारले चार वर्ष अगाडि टेलिकमबाट अवकाश पाएका हुन् । उनले टेलिकममा रहेको आफ्नो सेयरसमेत बेचिसकेका छन् । कंसाकार टेलिकम क्षेत्रका विज्ञ मानिन्छन् । टेलिकमपछि नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाइएका कंसाकारले त्यहाँ पनि जहाज खरिद प्रक्रिया सुरु गर्नुका साथै अन्य सुधारका काम थालेका थिए ।
अध्यक्षका लागि आवेदन दिने अन्य व्यक्ति भने यो क्षेत्रमा पर्याप्त ज्ञान नभएका छन् । निजी दूरसञ्चार कम्पनी एनसेलका कर्मचारीले समेत अध्यक्षका लागि आवदेन दिएका छन् । उनी चिठी पुर्‍याउन विभिन्न ठाउँमा जाने कर्मचारी भएको स्रोतले बतायो । यस्ता व्यक्तिको आवेदनले अध्यक्ष पद नै हल्का भएको प्राधिकरणका कर्मचारी बताउँछन् । दूरसञ्चार ऐन ०५३ को दफा ५ (१) ले प्राधिकरणको अध्यक्षका लागि योग्यता तोकेको छ । यसअनुसार लेखा, प्राविधिक, कानुनमा स्नातक गरेर कम्तीमा १० वर्षको अनुभव भएकाले अध्यक्ष पदमा आवेदन दिनसक्छन् । अध्यक्षका लागि १३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा कन्हैयालाल गुप्ता, केदारजंग थापा, सोहनबहादुर न्याछो, कमल खनाललगायत छन् । गुप्ता ६ महिनाअघि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशकबाट अवकाश पाएका व्यक्ति हुन् ।
प्राधिकरणमा रिक्त भएको एकजना सदस्यका लागि भने १० जनाले आवदेन दिएका छन् । आवदेन दिनेमा रञ्जनकृष्ण अर्याल, धनराज ज्ञवाली, मणिराम ओझा, राजीव रौनियारलगायत छन् । यसमध्ये अर्याल र ओझा कानुन तर्फबाट सहसचिव हुन् भने ज्ञवाली सञ्चार मन्त्रालयमै उपसचिव छन् । हाल राष्ट्रपति कार्यालयमा कार्यरत ओझा यसअघि एक कार्यकाल (५ वर्ष) प्राधिकरण सदस्य भइसकेका व्यक्ति हुन् । उनको कार्यकालमा युटिएलका पक्षमा विभिन्न निर्णय भएका थिए । युटिएललाई १८ करोड ३४ लाख रुपियाँ रोयल्टी मिनाहाको निर्णय गराएका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सचेतसमेत गराएको थियो । शाहीकालमा सेवा बन्द हँुदा घाटा भएको भन्दै युटिएलले रोयल्टी मिनाहा मागेको थियो । किर्ते मार्कसिट पेस गरेको अभियोगमा समेत उनीमाथि अख्तियारले छानबिन गरेको थियो र कारबाहीस्वरूप सहसचिवबाट उपसचिवमा घटुवा गरेको थियो । पछि फेरि उनी सहसचिव भएका थिए । ओझा सदस्यका लागि इच्छुक नभए पनि प्राधिकरणकै केही कर्मचारीले उक्साएको बताइन्छ ।
सञ्चार मन्त्रालयका सचिव सूर्य सिलवालको अध्यक्षतामा गठन भएको सिफारिस समितिले आवदेन दिएका व्यक्तिको छानबिन गरिरहेको छ । सदस्यका लागि परेका आवेदनको मंगलबारदेखि छानबिन थालिएको मन्त्रालयले जनाएको छ । आवदेन दिने म्याद आइतबार सकिएको थियो । छनोट समितिले परेका आवेदकमध्येबाट तीनजनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्छ । प्राधिकरणका तत्कालीन अध्यक्ष भेषराज कँणेलले १४ साउनमा राजीनामा दिएपछि पद खाली भएको हो । त्यस्तै सदस्य तुलसी भट्टको पदावधि असार अन्तिमबाट सकिएको थियो ।

प्रतिक्रिया