सातै भाइ सर्वोच्च चुचुरोमा

प्रगतिलाई दर्साउन चुचुरोजस्तो उत्कृष्ट विम्ब अरू के हुन सक्ला ? अझ त्यो चुचुरो संसारकै सबैभन्दा अग्लो पनि होस् । त्यसमा कमै मानिसले पाइला टेकेका हुन् । हो, उही सगरमाथा चुचुरो । र, त्यही प्रगतिको विम्बमा मूर्तरूपमै सात दाजुभाइले पालैपालो पाइला टेके । उनीहरूका लागि त्यसले के प्रगतिको अर्थ राख्ला ? शिखर चुम्नु उनीहरूको रहर हो या बाध्यता ? के प्रगतिलाई बाध्यताले छुन सक्ला ?

कुनै रहरले उनीहरूलाई सगरमाथाको शिखरमा पुर्‍याएको होइन रहेछ । जिन्दगी बिताउने र चलाउने सबैका आ–आफ्ना काइदा हुन्छन् । र, सगरमाथासँग जोडिएको छ यी सात दाजुभाइको जिन्दगी चलाउने काइदा । ट्रेकिङ पेसाबाट सुरु भएको उनीहरूको कर्म सगरमाथाको भित्तादेखि शिखरसम्म जोडिन पुग्यो । कुनै बेला कुल्लीको काम गर्न दोलखाको विकट गाउँबाट राजधानी पसेका उनीहरू क्रमश: गाइड हुँदै सगरमाथा शिखरसम्म पुग्न सफल भए ।
ती सात दाजुभाइको जन्म दोलखास्थित विकट रोल्वालिङको काखमा भएको हो । गौरीशंकर गाविस, जहाँ हिउँको पहाड नौलो ठानिन्न । हिउँको बगैँचामा, हिउँको खर्कमा, हिउँकै आँगनमा खेलेर हुर्किए उनीहरू, बुबा निमछिरिङ शेर्पा र आमा पेमा बुटीका सन्तानका रूपमा । सात दाजुभाइमध्ये जेठा आङछिरी शेर्पा । अनि क्रमश: भाइहरू निम तेम्बा, पेमा थार्की, निमा गोम्बु, मिङ्मा छिरी, ठुन्डु र पासाङ तेन्जेन । दुई जनाचाहिँ उनीहरूका दिदीबहिनी । उनीहरूले जन्मँदै चार हजार मिटरको उचाइमा श्वास फेर्न जानेका थिए ।
दार्जिलिङमा ट्रेकिङ व्यवसाय सिकेर आएका आºना बाबुको समयतर्फ यी छोराहरू कहिलेकाहीँ आँखा लगाउँछन् । त्यसबेला काठमाडौंमा पनि ट्रेकिङ एजेन्सी नहुँदाको दु:ख उनीहरूलाई सम्झना छ । सगरमाथाको आधारशिविरसम्म अरूको भारी बोकेर फर्केका उनीहरूका पिताको समयतर्फ यी छोराहरू नोस्टाल्जिक हुन्छन् । अनि आफूहरूको सगरमाथा यात्राबारे बयान गर्न थाल्छन्, ‘सुरुमा हाम्रो माइलाले चुचुरो चढेको, सन् १९९२ मा । हाम्रो परिवारमा उनले नै सगरमाथा चढ्ने क्रमको खाता खोले ।’ काइँला भाइ निमा गोम्बु उत्साहित हुँदै छन्, ‘त्यसपछि १९९३ मा मैले शिखर चुमँे ।’ अनि दाजुभाइको चुचुरो चुम्ने क्रम जारी रह्यो । ठाइँला भाइले १९९५ मा, जेठाले १९९९ मा चुचुरो चुमे । ठूलोकान्छो र कान्छो भाइले सन् २००३ मा अनि साइँला भाइले २००७ मा चुचुरो चुमेपछि उनीहरूका सातै भाइ सगरमाथामा पाइला टेक्ने बने । यसरी एकै बाबुआमाका सात सन्तानले सगरमाथाको चुचुरोमा पाइला राखेको घटना रोचक बन्न पुग्यो । ‘यस्तो किसिमको रेकर्ड आजसम्म कसैले राखेका छैनन्, उनीहरूको रेकर्ड गिनिजबुकमा पुग्नुपर्छ,’ गिनिज रेकर्ड होल्डर थानेश्वर गुरागाइँ भन्छन् ।
सगरमाथा चढ्नु चानचुने कुरा कहाँ हो र ? ‘त्यहाँ पाइला–पाइलामा रिस्क हुन्छ,’ सगरमाथा चुचुरोमा १७ पटकसम्म पाइला राखेका निमा गोम्बु भन्छन् । ‘हामी दाजुभाइ कुनै वर्ष भिन्न–भिन्न ठाउँबाट भिन्न–भिन्न टिम गाइड गरेर सगरमाथा उक्लिरहेका हुन्छौँ, आºनै दाजुभाइको अवस्था के होला भनी एकअर्कालाई चिन्ता लागिरहेको हुन्छ,’ आठ पटकसम्म चुचुरो चुमेका कान्छा भाइ पासाङको भनाइ छ । ‘विदेशीलाई लिएर गइरहेका हुन्छौँ, उसले सकेन भने ओर्लनुपर्ने हुन्छ, हाम्रो पेसा नै टिमको केयर गर्ने हो,’ उनले थपे । ‘सात पटकसम्म त आठ हजार मिटरको उचाइबाट फर्केको छु म, के गर्नु आºनो टिमको विदेशीले सकेन भने झर्नै पर्ने हुन्छ,’ निमाले बताए । जेठो, माइलो र साइँलो भाइले चुचुरोमा एक–एकपटक मात्र पाइला राखेका छन् । अरू भाइले ६ देखि १८ पटकसम्म पाइला राखेका छन् ।
सुरु–सुरुमा साथीहरू हिमाल चढेको देखर उनीहरूलाई पनि त्यहाँ पुग्न रहर लाग्दो रहेछ । खासमा सामान्य ट्रेकिङमा भन्दा बढी पैसा हिमाल चढ्नेले पाउने हुनाले पनि त्यस रहरलाई जागृत गराएछ । सातै दाजुभाइको किन एउटै रहर र लहड त ? स्नातकसम्म अध्ययन गरेका पछिल्लो पुस्ताका प्रतिनिधि कान्छा भाइ पासाङ भन्छन्, ‘खासमा हामी शेर्पा हौँ र हाम्रो रगतमै हिमाल र पहाड नाचिरहेको हुन्छ, मैले ब्याचलरसम्म पढ्दा पनि मलाई पर्यटन क्षेत्रभन्दा बाहिर जान मन लागेन, अहिले म एकेडिमिक र टेक्निकल रूपमा सक्षम छु जस्तो लाग्छ, इन्टरनेसनल माउन्टेन इन्स्ट्रक्टर भएको छु ।’
यतिखेर सात दाजुभाइमध्ये जेठा दिवंगत भइसकेका छन् । हुन त एकैपटक सातै दाजुभाइ चुचुरोमा पुग्न पनि मन कहाँ नलागेको हो र उनीहरूलाई † तर, त्यो अलि अव्यावहारिक हुन्थ्यो रे † सबैले कुनै न कुनै टिमलाई गाइड गर्दै लानुपर्ने पेसामा भएपछि त्यो सम्भावना जुट्न असजिलो नै थियो ।
सगरमाथा पहिला चढ्नुको अनुभव पनि रोचक नै छ उनीहरूसँग । शिखर कस्तो होला भन्ने मनमा खुल्दुली त भइहाल्यो, त्यसमा पनि चुचुरो चुमेपछि अरू काम पनि भटाभट पाइने सम्भावना हुन्थ्यो । पहिलोचोटि सगरमाथा चढ्दाको अनुभूति यसरी बाँड्छन्, ‘तिब्बतको आकाश, अन्य हिमाल, आफूभन्दा तल हिँडिरहेका बादलका समूह यस्तै–यस्तै । ‘अनि चुचुरो भनेपछि ठ्याक्कै धारिलो होला भन्ने सोचेको थिएँ, फराकिलो ठाउँ नै रहेछ, फोटो खिच्न र एकछिन बस्न मिल्ने,’ पासाङले सुनाए ।
कक्षा आठमा पढ्दै गर्दा सगरमाथा चढ्ने अफर आएको थियो रे † कान्छा भाइलाई । तर, त्यसबेला पढाइलाई नै प्राथमिकतामा राखेछन् । उनी हतारिएका थिए, चुचुरो चुम्नलाई । हिमाल यात्राबाट फर्केपछि दाजुहरूले सुनाएका अनेक रोमाञ्चक कथाले उनलाई उत्साहित नबनाउने कुरै भएन । त्यसबेला उनलाई पनि चुचुरो चुमेपछिको कथा साथीहरूलाई सुनाउन हतार थियो । र, त्यो बेला भने उनीसहित तीन दाजुभाइ सँगै शिखर चढे, सन् २००३ मा । अन्य दुई थिए, मिङ्मा र थुन्डु ।
सरकारबाट उनीहरू निराश छन् । आरोहीसम्बन्धी कुनै नीतिनियम नभएकामा उनीहरूले दुखेसो प्रकट गरे । पर्यटकलाई हिमाल चढ्न बोलाउनेलगायत सबै कामचाहिँ एजेन्सीले गर्ने र राजस्व लिन मात्र अघि सर्ने सरकारको चाला उनीहरूलाई के चित्त बुझोस् † विदेशमा नागरिकताका लागि धेरै अफर आएको तर आफूले इन्कार गरेको बताउँछन् मिङ्मा । यहीँको हिमाल चढेर कमाएको पैसा नै उनलाई मन पर्छ रे † अझै सगरमाथा चढ्ने इच्छा सबै भाइको उस्तै बढ्दो छ ।
सगरमाथा चढाइको सबैसँग आ–आºना अविस्मरणीय घटना छ । पासाङको एउटा घटना– त्यसबेला उनी हिमखाल्डोमा परे, उनीभन्दा पछि रहेको विदेशीसँग सहयोग गर्न सक्ने सीप पनि छैन । शिखर चढ्न गएको आºनो दाजुको टोली भोलि मात्र फर्कनेवाला छ । उनले आºनो अन्त्यको अनुमान गरिसकेका हुन्छन् । तर, उनको भाग्य † अर्को कम्पनीको ग्रुप हातगोडा कठ्यांग्रिएर फर्केछ । र, उनको उद्धार सम्भव भयो । उनले लामो श्वास फेर्दै भने, ‘त्यसबेला मलाई एकेडेमिक नलेजको महसुस भयो र पछि सिकेँ ।’
सबैभन्दा कान्छो आरोही (अमेरिकी) लाई १९९८ मा लिएर मिङ्मा सगरमाथा उक्लिरहेका थिए । त्यसबेला अर्को टोलीमा इंग्ल्यान्डको पनि कान्छो आरोही थियो । तर, उनले नै पहिले शिखर चुमाइदिए, त्यस अमेरिकी केटोलाई । ऊ चर्चित बन्यो । यसलाई मिङ्मा अविस्मरणीय र उपलब्धिमूलक घटनाका रूपमा लिन्छन् । त्यसबाहेक एकजना लङक्यान्सर लागेको बिरामीलाई पनि उनले शिखर चुमाइदिए । सगरमाथा चढ्ने पहिलो मंगोलियन केटी पनि उनैको साथमा गएकी रे †
सगरमाथा चढ्नुलाई पेसा बनाइरहेका यी दाजुभाइका लागि यो पेसा स्वयंमा एउटा रिस्क हो । उनीहरू हरेक वर्ष रिस्क बोकेर सगरमाथा हानिन्छन् । र, फेरि एउटा प्रगति लिएर आउँछन् फर्कंदा । राजधानी आइपुगेपछि प्रगति पारिवारिक बनिदिन्छ । लाग्छ– प्रगति बटुल्नु उनीहरूको खानदानी पेसा हो ।

प्रतिक्रिया