त्याग र समर्पण राजनेताका आभूषण

इतिहास बोलिरहेको हुन्छ, समय साक्षी छ, हामी सबै जिउँदै छौँ । ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’, हाम्रो लोकबोली हो । तैपनि हामी केही प्राप्तिमा मात्रै आफ्नो हित देख्छौ न कि त्यागमा । हामी आम्दानीमा मात्र रमाउँछौ न कि लगानीमा । हामी कुनै पनि तरिकाको नाफामा मात्र खुसी हुन्छौँ न कि थोरै नोक्सानीमा । मानिस दिलले या प्रेमले सम्मानित हुन्छ रिस, राग या आक्रोशले होइन । मानिस धन दौलतले मात्र पूज्य हुने होइन, मानिस पद, प्रतिष्ठा र शान सौकतले मात्र बडो हुने होइन । मानिस त उसभित्र विद्यमान ज्ञानगुण र विवेकले मात्र बडो, माननीय र सम्माननीय हुन्छ । कुनै पनि मानिसमा मन, वचन र कर्म राम्रा भएमात्रै ऊ स्वयं सुन्दर हुन्छ । कुनै पनि मानिस नामले मात्र सुन्दर हुन सक्दैन । कर्मले मात्र सुन्दर हुन्छ ।

कर्म भन्नुको अर्थ निष्काम कर्म हो । केवल सेवाभाव र समर्पणले ओतप्रोत कर्म, मानव मूल्य र मान्यताको स्थापना र विकासका लागि गरिने काम, देश र जनताको सेवाका लागि गरिने काम र सामाजिक रूपान्तरणका लागि गरिने काम । यी सबै कामलाई व्यवस्थित गर्न सकिने फिल्डचाहिँ राजनीति हो । राजनीतिले ठीक बाटो लिए मात्र समाज देश र दुनियाँले ठीक बाटो लिने हो । राजनीतिले उदाहरण बनेर देखाएमात्र अरुले सिक्ने हो । अनि, राजनीतिले मूल्य र मान्यतालाई स्थापित गरेर अघि बढाए मात्र त्यसको सकारात्मक प्रभाव अन्यत्र पर्ने हो । तर, जहाँ राजनीति नै नकारात्मक दिशातर्फ अग्रसर हुन्छ । राजनीति नै भ्रष्टीकरण भएर गलत बाटोमा लागिरहेको हुन्छ । त्यसको प्रभाव सबैतिर पर्दछ र सिंगो मुलुक विनाशको बाटोमा अग्रसर भइरहेको हुन्छ । सारमा मुलुकको साराका सारा वरवादीको मूल कारण राजनीति हुन्छ अनि विकास, उन्नति र प्रगतिको कारण पनि राजनीति र त्यसको नेतृत्व हुन्छ । आज आमनागरिकका बीचमा देशको बर्बादीको कारण खोजी हुनथालेको छ । जनताका बीचमा मुुलुकको उन्नति र प्रगतिको सम्भावनाका बारेमा छलफल र चर्चा हुनथालेको छ । यो अत्यन्त सकारात्मक र राष्ट्रिय हितसँग सम्बन्धित विषय पनि हो । नागरिकहरूको यो चासो र चिन्तालाई व्यावहारिक रूपमा संगठित गरेर समाजको उन्नति र प्रगतिको दिशामा अघि बढाउने मूल जिम्मेबारी र दायित्व राज्य र त्यसको नेतृत्व गर्ने राजनीतिले हो, अनि राजनीतिलाई दिशा दिने दूरदृष्टिसहितका नेताहरूले हो । हामीकहाँ यही चिजको कमी देखिएको छ । हाम्रो देशमा राजनीति र त्यसको नेतृत्व गर्ने नेताहरू छन् । तर, तिनले भविष्य देखिरहेका छैनन् । राजनीति गर्छन्, तत्कालीन हित मात्र हेर्छन् । जसले गर्दा देशले अन्योलपूर्ण अवस्थामा बाँच्नु परिरहेको छ । जनतामा अविश्वास बढिरहेको छ ।
जनताको आवश्यकता र भावनाभन्दा पनि आफ्नो मनोगत आकांक्षा नै जनताको आवाज हो भन्ने निष्कर्ष निकाल्ने रोगले ग्रस्त छन् हाम्रा नेताहरू । जनताको मत र विश्वासमा सत्तासीन हुने र जनतालाई नै बिर्सिएर शासनको आनन्द लिनमा मस्त छन् हाम्रा नेताहरू । सत्ताबाहिर रहँदा जनता र केवल जनता मात्र देख्ने तर सत्तामा पुग्नेबित्तिकै ‘मनी, मसल र मस्ती’ मा झुम्न व्यस्त भएको देखिन्छन्, हाम्रो देशका अधिकांश राजनीतिक दलका नेताहरू । अरू त अरू आफूलाई कम्युनिस्ट अनि अब्बल दर्जाको क्रान्तिकारी भन्ने नेताहरूलाई नै ‘जति महान् विचार त्यत्तिकै महान् घरद्वार’ को आवश्यकता परेको पाएका छन् जनताले । जति विचार महान् त्यति गरिब व्यवहार भएका नेताहरू कम्युनिस्ट आन्दोलनमा देखिन थालेपछि जनताको विश्वास कमजोर हुन थाल्यो । आमनागरिकको उत्साह र चाहमा कमि आउन थाल्यो । जसले गर्दा आज मुलुक लामो संक्रमण कालमा फसिरहेको छ र जनतामा पीडा थपिँदै छ । हिजो सम्पूर्ण त्याग, तपस्या र बलिदानको प्रतिमूर्तिका रूपमा स्थापित हाम्रा नेताहरू, हिजोका विचार, सिद्धान्त र निरन्तर संघर्षका प्रतिमूर्ति हाम्रा नेताहरू, हिजो देश र जनताका निम्ति सम्पूर्ण समर्पण भावसहित संघर्षको मैदानमा खरो सावित भएका हाम्रा नेताहरूमा आज एकाएक कसरी परिवर्तन आयो ? आज इमानदार नेपाली जनतालाई विश्वास भइरहेको छैन, आफ्नै आदर्शमा अडिन किन सकेनन् हाम्रा प्रिय नेताहरू भनेर । के कुराले यति कमजोर बनायो हाम्रा प्रिय नेताहरूलाई ? जनतामा खुल्दुली र गम्भीर चासो छ कि लाभको पदमा पुग्नेबित्तिकै थोरै पनि त्याग गर्न नसक्नु नै नेताहरूको कमजोरी हो त ? यत्रो ठूलो परिवर्तनको नेतृत्व गरेका नेताहरू कसरी यति साँघुरा हुन सक्छन् भन्ने बुझिनसक्नु भएको छ ।
संसारको इतिहासमा कमसेकम एक पुस्ता नेतृत्व सफल भएको देखिएको छ । क्रान्ति सुरु गर्नेले आफ्नो चरित्र जोगाएर जनतामा छाप छाडेको पाइन्छ । लिंकन, गान्धी, लेनिन, माओ, होचिमिन्ह त्यसका उदाहरण हुन् तर हामीकहाँ त्यो पनि पूर्ण भएन । नेपाली लोकतान्त्रिक आन्दोलनको स्थापना, संरक्षण र नेतृत्व गरिआएका स्व. बिपी कोइरालाले आफूलाई लोकतन्त्रको पक्षमा खडा गर्दै विचार, सिद्धान्त र व्यवहारमै जनताको मन र विश्वास जितेर गए । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक क. पुष्पलाल श्रेष्ठ र स्व. जननेता मदनकुमार भण्डारीले सिद्धान्त, विचार र व्यवहारमा समेत आफूलाई पूर्णरूपले खरो प्रमाणित गरेर देश र जनताका निम्ति जीवन समर्पण गर्नुका साथै नेपाली जनताको विश्वास जितेर गए । तत्पश्चात् नेकपा (एमाले)का तत्कालीन अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीबाहेक कसैले पनि सिद्धान्त, विचार र व्यवहारको मेलबाट जनताको विश्वास जित्नसकेको पाइँदैन । सिद्धान्त दिनसक्ने व्यवहार दिन नसक्ने देखिए हाम्रा नेताहरू । पण्डित, व्यापारी र व्यवसायी भेटिए हाम्रा कतिपय नेताहरू । यस्तो अवस्थामा नेपाली जनता कसरी आस्वस्थ हुन सक्छन्, जनताले भर गर्नुपर्ने नेता आपैँm भरपर्दा छैनन् । त्याग र समर्पणका प्रतिमूर्ति हुनुपर्नेहरू नै प्राप्तिका निम्ति लालायित भइरहेका देखिन्छन् । यस्तो अवस्थामा कि त नेपाली जनताले आफूलाई नयाँ ढंगले तयार गर्नुपर्‍यो ? कि त श्रद्धेय नेताहरूले जनताको भावना बुझेर त्याग र समर्पणको बाटो समाउनुपर्‍यो । विश्वभरका प्रेरणाका स्रोत गान्धी, मन्डेला र बलिदानी सहिदहरूबाट प्रेरित भई सँच्चिनुबाहेक हाम्रोसामु अर्को कुनै विकल्प देखिँदैन ।
अब नेताहरूले सँच्चिनुपर्छ र देशलाई  प्रगति पथमा डोर्‍याउनुपर्छ  । जय होस्, नेपाली जनताको †

प्रतिक्रिया