को हुन् वास्तविक वेश्या ?

‘यौनव्यवसाय संसारकै पुरानो पेसा हो । तर, जति मान्छेहरू चर्चा गर्छन्, काठमाडौंमा उति वेश्यालय रहेनछ ।’ ठमेलको पस्मिना स्टोरमा गत शनिबार पस्मिना सल किन्न आएका दुई पाकिस्तानी युवा वरपर टाँसिएका ‘मसाज पार्लर’का बोर्डहरू नियाल्दै भन्दै थिए, ‘बरु पाकिस्तानमै धेरै ।’ ‘साँच्चै हो र ?’ आश्चर्य लाग्यो । तर, जहाँ बढी दमन हुन्छ त्यहाँ निकासका लागि केही बाटा हुन्छन् र हुनुपर्छ । यौन त मान्छेको सार्वभौम भोक र अधिकार दुवै हो । लेखक शारदा शर्माको शब्दमा भन्ने हो भने भात खाएर र सम्भोग गरेर को अघाएको छ ? अरब, मलेसियाबाट फर्केका युवा दौँतरीहरू त्यहाँका वेश्यालय र वेश्यागमनका कुरा गर्छन् । भारत र अरबी मुलुकबाट पस्मिना किन्न आउने ‘सेठ’हरू पनि मसाज पार्लरका बोर्ड ताकिरहेका देखिन्छन् । केही मित्रहरू छन्, जो परपुरुष/स्त्री सम्बन्ध राख्छन् । धर्म, सामाजिक रीति र मर्यादाले पनि नछेक्ने रहेछ वासनालाई् ।
मुस्लिम मुलुकहरूमा त महिला पुरुष हात समातेर पनि हिँड्न पाइँदैन भन्ने सुनिएको हो । तर, त्यही मुस्लिम बहुल राष्ट्र पाकिस्तानमा वेश्यालय छन् । विरोधाभाष यहीँ छ । मान्छेको पाखण्ड त्यहीँ प्रकट हुन्छ । ऊ आफैँ वेश्यालय धाउँछ । अनि, कहिल्यै नमेटिने त्यही भोकका समाधानका लागि ‘पसल’ थापेर बसेकाहरूलाई चाहिँ घृणाका दृष्टिले हेर्छ । अँध्यारोमा लुसुक्क तिनैका शरीर छाम्न पुग्नेहरू किन उज्यालोमा तिनैको निन्दा गर्छन् ? यो सब ढोँग हो । को होइन वेश्या ? अनि को हुन् वेश्या ? यदि यसो हो भने हररात स्वास्नीको शरीरमा झुन्डने पुरुष र हररात ‘स्वामी’को शरीरमा उनिने नारी दुवै वेश्या होइनन् ? भात र यौनको भोकमा किन विभेद ? छाती चौडा पारेर बहसमा उत्रौँ । को वेश्या हुन्, को होइनन् ? हामी तिनलाई वेश्या भन्छौँ, जो अलिकति पैसा, केही आडम्बर, केही सान, धाक, ‘फ्यासन’ र कतिपय अवस्थामा एउटा रोटी र एक थाल भातका लागि आफ्नो शरीर केही छिनका लागि अरूलाई सुम्पन्छन् । यसमा भौतिक सम्पर्क हुन्छ । सम्भोगलाई ओशो रजनीश समाधिको सानो ढोका ठान्छन् । ‘वेश्यागमन’मा आफ्नो शरीर केही क्षण अरूलाई सुम्पिइन्छ । यो कर्ममा जघन्य के अपराध छ ? तर, हामी यस्तो कर्ममा संलग्नहरूलाई निन्दा गछौँ । ‘छि’ भन्छौँ । समाजमा वेश्यागमनप्रति नकारात्मक चिन्तन यसरी गाडिएर बसेको छ कि यौनकर्म नै आफैँमा जघन्य अपराधझैँ लाग्छ । यो युगौँदेखि बन्द कोठाभित्र निरन्तर चलिरहेको अपराध हो ।
तर, यो समाजमा शारीरिक भन्दा पनि बढी नैतिक वेश्यागमन चर्को छ । आचरणमा भ्रष्ट र नैतिक रूपमा पतित हुनुभन्दा चर्को वेश्यागमन के हुनसक्छ ? वेश्यागमन गर्नेहरू त शरीरसँग खेल्छन् । यो त युगौँदेखि सृष्टि र मनोरञ्जनको साधन बनिरहेको छ । त्यहाँ त मात्र शरीरबाट आनन्द लिने यत्न गरिन्छ । ती वेश्याभन्दा चर्का वेश्या त देशलाई लुछ्नेहरू पो हुन्, समाजलाई ढाँट्नेहरू हुन् । सिधासाधा जनतालाई भुलभुलैयामा पारेर, उरालेर, उचालेर र फकाएर आफ्नो स्वार्थ भर्नेहरू हुन् । देशलाई नांगो बनाएर आफ्ना कुण्ठा पोस्नेहरू वास्तविक वेश्या हुन् । ती वेश्याहरू चौतारामा बसेर सामाजिक न्यायको कुरा गर्छन् अनि आफूइतर पक्षधरलाई सम्पूर्ण रूपमा निषेध गर्छन् । उनीहरू नैतिकता र स्वच्छ आचरणको कुरो गर्छन् अनि आफ्ना भाइभतिजालाई डाइरेक्टर र राजदूत बनाउन तोक लाउँछन् । ती वेश्याहरू लोकतन्त्र र संघर्षको चर्को पुराण लगाउँछन् तर सबैभन्दा बढी व्यक्ति र परिवारकेन्द्रित आफैँ हुन्छन् । राष्ट्रिय स्वाधीनताको चर्को रट लगाउँछन् , स्वदेशी बन्धुलाई नकार्छन् । विदेशीलाई पुकारा गर्छन् । ती बाटोमा एउटा कुरो गर्छन्, चौरमा अर्को । स्वास्नीसँग एउटा कुरो गर्छन्, छोरीसँग अर्को । कार्यकर्तामाझ एउटा कुरा गर्छन्, ‘प्रभु महाप्रभु’हरूसँग अर्को । बगलीमा छुरा लिएर हिँड्ने यिनीहरूको मुखमा रामराम छ । यिनीहरूको पोसाक सुकिलो छ तर मनभित्र मैलो छ । ऐननियमका उपदेश दिने यिनीहरू आफू अवैध छन् । तर, विधान र नैतिकताको कुरा गर्छन् । नागरिक स्वतन्त्रता र न्यायिक सर्वोच्चताका कुरा गर्ने यिनीहरू आफ्नो अपराधमा आफैँ वकिल बन्छन् । आफैँ फैसला दिन्छन् । ती मसिना र निरीह गरिबका छोराछोरीलाई प्रजातन्त्र, लोकतन्त्र, समानता र साम्यवादका सपना देखाउँछन् । आफू अनि व्यवहारमा ‘सबै सँुगुर बराबर हुन् तर केही सँुगुरहरू अरूभन्दा अलि बढी‘ सिद्धान्त अपनाउँछन् । अरूलाई मर्न र मार्न उक्साउँछन् । आफू भने अमर हुने चाहना राख्छन् ।
जर्ज अरबेलले उल्लेख गरेका सुँगुर प्रवृत्तिकाहरू नै वास्तविक वेश्या हुन् । तिनीहरूमध्ये कतिपय चुनावी बुथ कब्जा गर्छन् । अनि म ‘फलानो लोकतान्त्रिक पार्टीबाट चुनाव जितेर आएको’ भन्छन् । हारे नै भने पनि तिनै अनेक बाटोबाट मन्त्री र प्रधानमन्त्री हुन्छन्  । वेश्याहरू एयरपोर्टबाट सुन बटुल्छन्, जनताबाट खुन असुल्छन् । ती चप्पल लाएर राजधानी छिर्छन्, केही वर्षमै महँंगा विदेशी ब्रान्डका सुटमा मिचुबिसी पजेरो चढ्छन् । ती महापुरुष पार्टीभित्र छाती फुलाएर लम्कन्छन् । भेला, बैठक र सेमिनारमा तिनै बम्कन्छन् । विदेश सयरमा जान्छन् । रम र रक्सीमा झुम्छन् । राज्यको पैसामा लुट गर्ने तर राज्यका सदस्यहरूप्रति थोरै पनि जिम्मेवारी बहन नगर्नेहरू ‘वेश्यालय’ सञ्चालन गर्ने र ‘अरूसँग सुत्ने’हरू भन्दा कैयौँगुना पतित हुन् । चरित्रहीन हुन्, भ्रष्ट हुन्, दुष्ट हुन्, अपराधी हुन् । तिनको वेश्यागमनले हरदिन देश खोक्रो भइरहेको छ । तर, विधिको विधान अचम्मको छ । त्यसमा पनि दक्षिण एसियाको यो सानो राष्ट्रको त कुरै बेग्लै छ । शारीरिक वेश्यालयमा काम गर्नेहरू सार्वजनिक रूपमा प्रकट हुन संकोच मान्छन् । उनीहरूमध्ये प्राय: आफ्नो पेसाप्रति गौरव होइन, गुनासो गर्छन् । अनि, उनीहरूको दरिद्रता र वाध्यताको फाइदा उठाउँछ प्रहरी र प्रशासन । तर, त्यसको ठीकविपरीत देशका दु:खका कारक भ्रष्ट र पतितहरू, हत्याकाण्ड रच्ने खलपात्रहरू समाजमा खुलमखुल्ला हिँड्छन् । मैदानमा मान्छे बटुलेर डिङ हाँक्छन् । ती लोकतन्त्र, सामाजिक न्याय र कतिपय अवस्थामा सर्वहाराहरूको मुक्तिको उपदेशसमेत दिन्छन् । बेसहारा र निमुखा स्वप्नजीवीहरू तिनैको अघिपछि हिँड्छन् । यी वेश्याहरू कहिले यो पार्टी र कहिले ऊ पार्टीमा पस्छन् । उनीहरूको सिद्धान्त मौसमी हुन्छ । पञ्चायतमा हुँदा पञ्चायती व्यवस्थाको धुरन्धर वकालत गर्नेहरू आज भरमार लोकतन्त्रको वकालत गर्ने भएका छन् । तिनलाई सत्यले भन्दा पनि चुनावी भोटले तान्छ । चुनाव जित्नु नै एकमात्र ध्येय ठान्छन् यी चारित्रिक वेश्याहरू ।
यी वेश्याको प्राय: सबै ठाउँमा बिघ्न सम्मान हुन्छ । ती फूलमाला पहिरिएर ठाँटबाटका साथ हिँड्छन् । अघिपछि आसेपासेले घेरिएर हिँड्छन् । राणाशासनको अन्त्य भएको आधा शताब्दी बढी भइसक्दा पनि यिनीहरू कुनै श्री ३ भन्दा कम लाग्दैनन् । तिनले मान्छे मारे पनि ती हत्यारा होइनन् । ती कानुनभन्दा माथि नै छन् । यसर्थ, केही अपवाद छाडेर धमिराले काठ खाएझैँ देशलाई सिध्याउने राजनीतिकर्मी, कतिपय कर्मचारी र प्रशासकहरूभन्दा यहाँ मसाज गरिन्छ’ बोर्ड राखेर यौनसेवा दिनेहरू स्तुत्य छन् । यौनकर्मी वेश्या होइनन् । तिनलाई यौनसेवीभन्दा उपयुक्त हुन्छ । साँच्चै वेश्याचाहिँ ती हुन् जो समाज र राष्ट्रलाई खोक्रो बनाउँछन् । अब वेश्याको परिभाषा बदलिनु पर्छ ।

प्रतिक्रिया