मौलिकता गुमाउँदै तिज

भदौ महिना लाग्नासाथ सुरु भएको ‘दर खाने तिज’ हिजोदेखि सकिएको छ । पर्वको महत्त्व र परम्पराको गरिमाभन्दा पनि तिजलाई मोजमस्ती र भड्किलो रूपमा मनाउने प्रवृत्तिले गाँजेको देखिन्छ । महिलाको सोह्र शृंगार र माइत जाने रहरका साथै ऐतिहासिक र कालजयी गीतका स्थानमा अत्यन्तै तल्लो स्तरका गाना बजानाले तिजलाई ‘डिस्को’मा परिणत गरेको चर्चा पनि हुन थालेको छ । वास्तवमा तिज पर्व महिलाका लागि निकै महत्त्वपूर्ण पर्व हो । पितृसत्तात्मक सोच, पुरुषप्रधान समाज र अपहेलित अवस्थालाई अत्यन्त उत्कृष्ट र मार्मिक गीतद्वारा व्यंग्य गर्दै महिलाले मनाउने महान् तिजलाई भड्किलो, उत्ताउलो र खर्चिलो हुनबाट रोक्नुपर्छ । यो पर्व समाजले उत्तम मानेको आफ्नै मौलिकता भएको इतिहासले स्थापित गरेको पर्व हो । यसको विशिष्ट प्रकृतिको गरिमा र पृष्ठभूमि छ । यसलाई पाँचतारे होटल र राष्ट्रिय सभागृहको चौघेराभित्र हुलेर सम्पन्नहरूले मनाउने पर्व बनाउनु राम्रो होइन । गरिब माइतीको साँघुरो मझेरीमै तिजको महत्त्व झल्किन्छ । यसलाई ठूलो ठाउँ र ठूलाबडाको अहंकारको पर्व बनाइयो भने सांस्कृतिक पर्वका रूपमा नरहन सक्छ । नेपाली समाजले ‘छाडा’ को संज्ञा दिएका गीत बजाउँदै पाँचतारे होटलको वातानुकूलित स्थानमा नाच्दै र खाँदै तिज मनाउने महिलाले गम्भीरतापूर्वक सोच्नुपर्छ दुर्गम क्षेत्रका ग्रामीण महिलाले तिज कसरी मनाउँछन् ।
यातायातको बढ्दो सुविधासँगै माइती र चेलीको भेटघाटका लागि वर्षौं पर्खिनुपर्ने अवस्था अहिले छैन । टेलिफोनको सुविधाले विदेशमा बस्ने चेली–माइतीले पनि आपसमा दैनिक सम्पर्क गरेर सन्चोबिसन्चो सोध्न सकिने अवस्था आयो । यसले गर्दा तिजमा मात्र हाम फाल्दै माइत पुग्नुपर्ने बाध्यता अब चेलीलाई रहेन । तर, तिजको महत्त्व त्यतिमा मात्र सीमित छैन । माइतीको घरमा बसेर गच्छेअनुसार मीठो मसिनो बनाएर खाँदै दिदी–बहिनीले माइतीसँग आ–आफ्नो दु:ख, पीडा, खुसी र भावी योजनाका बारेमा गफ गर्नुको मज्जा अर्कै हुन्छ । व्रतको अघिल्लो रात दर खाएर भोलिपल्ट गीत गाउँदै नाच्नुको आनन्द पनि बेग्लै खालको हुन्छ । वास्तवमा व्रत बस्नुभन्दा अघिल्लो रात खाएको चिजलाई मात्र दर भनिन्छ । अरू दिन खाएकोलाई दर होइन, भतेर वा भोज भनिन्छ । कतै हामी दरका नाममा फजुल खर्च गरेर भत्तेर मात्र खाइरहेका त छैनौँ ? अगुवा महिलाहरूले सोच्नुपर्छ । र, तिजको गरिमामय मौलिकता जोगाउँदै महिला उत्थानका साथै समानताको पक्षमा तिजलाई विकास गर्न सक्नुपर्छ ।
पर्वलाई समयसापेक्ष बनाउने नाममा विकृति, विसंगति र उच्छृंखलता भित्र्याउनु हुँदैन । अहिले तिजमा यस्तै विकृति भित्रिएको पाइन्छ । यसलाई जसरी भए पनि रोक्नुपर्छ । परिवर्तित समयसँगै सासूले बुहारीलाई दु:ख दिन छाडेका छन् । बुहारीहरू पनि जान्ने बुझ्ने र जागिरे भएका छन् । कतिपय महिला अगुवा बनेर समाज परिवर्तनको मोर्चामा डटेका छन् । तर, आधुनिकताका नाममा धर्म, संस्कृति, परम्परा, चाडपर्व र रीतिथितिमाथि विकृतिजन्य व्यवहार गरिनु हुँदैन । अहिले पनि अधिकांश महिलाले कठिन जीवन भोग्नुपरिरहेको छ । कतिपय स्थानमा घरको बुहार्तन खप्न नसकेर महिलाहरू पीडित र प्रताडित भएका छन् । उनीहरूका लागि तिजको उत्तिकै महत्त्व छ जति पहिला थियो । तिज पर्वको गरिमा र महत्त्व पनि विशिष्ट खालको छ । स्थान र जात विशेषले फरक तरिकाले मनाए पनि तिज सबैको पर्व बनेको छ । आधुनिक विद्वानहरू कसैले हिन्दु नारीले मनाउने, कसैले किरात मुन्धुमबाट निसृत, कसैले मल्लकालमा स्थापित र कसैले सबै जातिले आआफ्नै तरिकाले मनाउने भनेर व्याख्या गरेबाट तिज सबैको साझा पर्व भएको बुझ्न सकिन्छ । यो तिजलाई केही वर्षअघिसम्म विकृतिले छोएको थिएन । चेलीबेटीले माइत गएर मनाउने चाडका रूपमा लिने तिजलाई अहिले भने विकृतिको कालो बादलले ढाक्दै लगेको छ । चेलीहरूले नै यसलाई छाडा हुनबाट रोक्नुपर्छ । परम्परागत रूपमा एक दिनमात्र यसको गरिमा, महत्त्व र पवित्र उद्देश्य जोगिनेछ । अन्यथा, तिजको स्थापित मूल्य र मान्यता रहनेछैन । साथै, अति भड्किलो, खर्चिलो र छाडा प्रकारको तिज निम्नवर्गका महिलाले मनाउनसक्ने अवस्था पनि रहँदैन । तसर्थ, तिजलाई तिजकै रूपमा मनाउँm, भाडभैलो शैलीमा होइन ।

प्रतिक्रिया