प्रचण्डजी १ अन्तिमपटक आँट गर्नुस्

एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति करोडौँ नेपाली जनताको ठूलो आशा, अपेक्षा र भरोसा थियो । अहिले यो आशा, अपेक्षा र भरोसामा ठूलो मात्रामा कमी आएको छ तर पनि पूर्णरूपमा हटिसकेको छैन । यो पनि सत्य हो कि आज पनि नेपालको राजनीतिक वृत्तमा तपाईंंको पुस्तामा तपाईंं जत्तिको व्यक्तित्व र उचाइ भएको अरू कुनै नेता छैन । तसर्थ, आफ्नो यो व्यक्तित्व र उचाइलाई ढल्न नदिन तपाईंंले विवेकपूर्ण ढंगबाट फेरि एकपटक साहस गर्नुपर्ने क्षण आएको छ ।

मूर्ख व्यक्तिले एउटा गल्ती गर्छ र फेरि–फेरि गल्तीको पुनरावृत्ति गर्छ । बुद्धिमान व्यक्तिले गल्ती गर्छ तर गल्तीबाट सिक्छ । गल्ती गर्नु मूर्खता होइन, गल्तीको पुनरावृत्ति गर्नु महामूर्खता हो । पागलपना हो । प्रचण्डजीले विगतमा थुप्रै गल्ती गर्नुभएको छ । देशमा युद्धको बिउ रोप्नु नै तपाईंंको प्रमुख गल्ती थियो । क्रान्ति गरेर परिवर्तन गर्ने नाममा पन्धौँ हजार मानिस जसको जीवन अमूल्य छ त्यो अमूल्य जीवन समाप्त पार्ने योजना बुन्नु भयानक भूल थियो । त्यो योजनामा सक्रिय सहभागी भई त्यसको नेतृत्व गर्नु ठूलो अपराध थियो । परिवर्तन शान्तिपूर्ण ढंगबाट पनि सम्भव हुनसक्छ भन्ने उदाहरण तपाईंंजस्तो राष्ट्रिय, अन्तर्राष्ट्रिय जगत्को विगत र वर्तमानलाई अध्ययन गरिरहेको पुरुषलाई दिइरहनुपर्छ जस्तो मलाई लाग्दैन । म गान्धीदेखि नेल्सन मण्डेलासम्म पुग्न चाहन्न । । २०६२/६३ को जनआन्दोलनपछि जसरी नेपालमा परिवर्तन आयो, यो परिवर्तन ल्याउनमा हाम्रो पनि सक्रिय सहभागिता थियो । तर, हामीले बन्दुक पड्काएनौँ, बम विस्फोट गराएनौँ, कसैलाई आन्दोलनमा जान बाध्य पनि पारेनौँ । त्यो एउटा स्वत:स्फूर्त रूपमा उर्लिएको परिवर्तनको लहर थियो ।
एक दशक लामो सशस्त्र युद्धले फाइदाभन्दा बढी बेफाइदा दियो । हो, जनयुद्धका कारणले नेपालमा चाँडो गणतन्त्र स्थापना गरायो । यद्यपि सामाजिक विकास क्रमका कारण नेपालमा गणतन्त्र आउनेवाला नै थियो केही समयपछि नै । पुँजीवादको विकासले सामन्तवादलाई चिहानमा गाड्छ भन्ने माक्र्सको सिद्धान्त निश्चय पनि तपाईंंले घोक्नुभएको होला । पुँजीवादको विकासले स्वयं यसको घाँटी रेट्छ भन्ने कुरा पनि कण्ठ गर्नुभएको छ होला । त्यसो भए सामन्तवाद स्वत: विलोप हुँदै छ भने किन यसको अन्त्य गर्न युद्धको साहारा लिइयो ? के युद्ध भनेको मनोरञ्जनको साधन हो ? के जीवनको मूल्य त्यति सस्तो र सुलभ छ ? दसौँ हजार मानिसको बलिबाट प्राप्त परिवर्तनको स्वाद के मीठो हुन्छ र ? त्यसरी आएको परिवर्तनको खास के नै अर्थ हुन्छ र ? जुन परिवर्तन बौद्धिक कौशलताबाट आउँछ त्यसको स्वाद बल्ल मीठो हुन्छ । जुन परिवर्तन विचारको शक्तिद्वारा आउँछ, बल्ल त्यसको विशेष अर्थ रहन्छ । त्यो परिवर्तन बल्ल पुज्य हुन्छ ।
रक्तपातपूर्ण क्रान्तिद्वारा आएको परिवर्तनमा हजारौँ लाखौँ व्यक्तिको वेदना मिसिएको हुन्छ, आँसु र पीडा मिसिएको हुन्छ । वेदना, आँसु र पीडा मिश्रित परिवर्तनको रस कुनै पनि आधारमा गुलियो हुन सक्दैन । यदि कसैले यो रसमा गुलियोपन भेट्टाउँछ भने त्यो दानव हो । मुसोलिनीले मान्छेको मासु मीठो मानीमानी खान्थे किनकि उनी दानव थिए । तसर्थ प्रचण्डजी यहाँले युद्धको विभीषिका रचेर गम्भीर भूल गर्नुभएको थियो । जब यहाँ शान्तिको मार्गमा हिँड्ने दृढ संकल्पसहित नयाँ रूप लिएर जनताको बीचमा आउनुभयो । जनताले तपाईंको गल्तीलाई क्षमा गरिदिए । युद्धको पीडाबाट मर्माहत जनताले विगतका आफ्ना पीडालाई बिर्सेर भए पनि तपाईंलाई सम्मान गर्न थाले । त्यतिमात्र नभएर तपाईं र तपाईंको पार्टीलाई संविधानसभाको निर्वाचनको समयमा भारी मत दिएर निर्वाचित गरिदिए । राष्ट्रमा तपाईंको नेतृत्व चाहे तपाईंको पार्टीप्रति ठूलो अपेक्षा गरे ।
तर, जनताको अपेक्षाको थोरै अंश पनि तपाईंको पार्टीले पूरा गर्न सकेन । तपाईंको नेतृत्वको सरकारले पनि सकेन । तपाईंका अनन्य मित्र डा. बाबुराम भट्टराईजीको सरकारले पनि सकेन र सकेको छैन । बरु यसविपरीत क्षेत्रीय नारा लगाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्नमा क्रियाशील मेधेसी पार्टीहरूसँग तपाईंहरूको गला जोडिन पुग्यो । उनीहरूको करुणा पाएर अरू प्रमुख राष्ट्रिय पार्टीहरूको वास्ता नगरी एकलौटी ढंगबाट अर्को संविधानसभाको निर्वाचनको घोषणा गर्नुभयो । प्रदेशहरूको नामकरण मिश्रित रूपमा गरेर भए पनि, संघीयताको विषय रूपान्तरित संसद्ले टुंगो लगाउने व्यवस्था गरेर तपाईंको प्रमुख नेतृत्वमा संविधान घोषणा हुन सक्नुपथ्यो । तर, यसो हुन सकेन । अन्तिम समयसम्म तपाईं सिंगो राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदाय जसले नेपालमा संविधानको घोषणा होस् भन्ने चाहन्नथे सबैको आशाको केन्द्र हुनुहुन्थ्यो । तर, कुनै ठूलो कारणविना संविधानसभाको मृत्यु हुनु र संविधान जारी गर्ने उपाय निकाल्न नसक्नु तपाईंको दोस्रो ठूलो कमजोरी थियो ।
आज पनि नेपाली राजनीतिको जति ठूलो स्थान तपाईंले ओगट्नुभएको छ, त्यति स्थान सुशीलजी वा झलनाथजी वा अरू कसैले पनि ओगटेका छैनन् । भलै तपाईंको पार्टी फुटेर गएको नै किन नहोस् र अहिले पनि आमजनता तपाईंको निर्णय र कुशलता कुरेर बसेका छन् । तपाईंको जस्तो सानदार व्यक्तित्व अरू कुनै शीर्ष नेतामा भेटिन्न । तसर्थ, तपाईंको अग्रसरताको खाँचो अझै पनि देशलाई छ । देश कसरी अगाडि बढ्छ भन्ने कुरा तपाईंको बाहुमा छ । त्यसकारण प्रचण्डजी फेरि एकपटक उठ्नुस् । अन्तिमपटक शक्ति निकाल्नुस् । अतीतमा अन्य थुपै्र साना गल्तीहरूसँगै माथि उल्लेखित दुई प्रमुख गल्ती गर्नुभएको छ । फेरि पनि गल्ती गर्नबाट बच्नुस् । अहिले तपाईंले सही निर्णय गरेर कदम चाल्नुभयो भने अतीतका ती गल्ती पनि यो कदमले छोपिनेछन् । ती गल्ती ढाकिनेछन् र विगतका गल्ती क्षम्य हुन सक्नेछन् ।
तपाईं हार्नुस् तर राष्ट्रलाई जिताउनुस् । राष्ट्रलाई गरिबीमै राखेर तपाईं विलासितामा नपल्कनुस् । बरु तपाईं भिखारी बन्नुस् तर राष्ट्रलाई सम्पन्न पार्ने दिशामा काम गर्नुस् । तब बल्ल तपाईंलाई तीन करोड नेपालीले सलाम गर्नेछन् । अझै पनि स्वर्णिम अवसर छ तपाईंका अगाडि । कृपया † यसलाई सदुपयोग गर्ने दिशामा समय खर्चिनुस् । सहमतिका लागि अन्तिम युद्ध लड्नुस् । यो युद्ध त्यसले जित्नेछ जो आफू नासिन तयार हुन्छ । यसको मूल्यांकन जनताले गर्नेछन् । यदि सहमति जुटाउन गाह्रो पर्ने देखियो भने ठीक छ त्यसको जिम्मा युवापुस्तालाई दिनुस् । युवापुस्तालाई आग्रह गर्नुस् । तपाईं धैर्यपूर्वक उनीहरूको सही क्रियाकलापमा साथ दिनुस् । कसैगरे पनि भएन भने यति लामो समय देशलाई अनिर्णयको बन्दी बनाएर राख्नुभन्दा, बन्दी बनाएको प्रमुख दोष आफूले लिई–लिई राजनीति गर्नुभन्दा राजनीतिबाट सन्यास लिनुस् । राजनीतिभन्दा बाहिर बेग्लै आनन्दको संसार छ भन्ने कुरालाई नभुल्नुस् । सक्नुहुन्छ भने राजनीतिमार्फत मुलुकलाई समृद्धिको दिशामा हाँक्न भूमिका खेल्नुस् । यदि सक्नुहुन्न भने हामी नागरिकसरह बाँच्न आउनुस् । तबमात्रै मेरो कोठामा तपाईंको तस्बिर बुद्ध, आइन्सटाइन र गान्धीको जस्तै टाँगिइनेछ ।

प्रतिक्रिया