प्रसूतिगृह सुनसान

काठमाडौं : परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालको अपरेसनवार्डमा संक्रमण फैलिएपछि अस्पताल सुनसानजस्तै बनेको छ । बिहीबार साँझबाट अस्पतालको अपरेसन र पोस्टअपरेटिभ वार्डमा संक्रमण फैलिएपछि अस्पतालले शनिबारदेखि आकस्मिक सेवामा आउने गर्भवतीको भर्नामा रोक लगाएको थियो ।
शनिबारबाट अस्पतालको आकस्मिक र अपरेसन सेवा ठप्प छ । नयाँ भर्नामा रोक लगाएपछि अस्पतालमा हाल केही समयअगाडि भर्ना भएका मात्र छन् । भर्ना भएका पनि कतिपय त डिस्चार्ज भएरसमेत गइसकेका छन् । अस्पतालमा दैनिक ३० भन्दा बढी नयाँ गर्भवती महिला भर्ना हुने गरेका थिए । तर, संक्रमणका कारण बिरामी भर्ना बन्द भएपछि गर्भवती महिला अन्यत्र अस्पतालमा जान बाध्य छन् । अस्पतालको शल्यकक्ष (अपरेसन थिएटर) र पोस्टअपरेटिभ वार्डमा बिहीबार बेलुकादेखि नै फैलिएको संक्रमणका कारण एकैपटक ८ जना सुत्केरी महिला बिरामी भएका थिए । संक्रमणका कारण सुत्केरी बिरामी पर्न थालेपछि अस्पतालले अपरेसनका लागि आएका बिरामीलाई अन्यत्र पठाएको हो ।
संक्रमणको निर्मलीकरण कार्य तीव्ररूपमा अगाडि बढाइएकाले सबै कक्षलाई संक्रमणमुक्त बनाएपछि मात्र पुन: सेवा सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको अपरेसनवार्डमा संक्रमण फैलनुमा अस्पतालमा वितरित पानी र अस्पतालमा प्रयोग भइरहेका ग्लोब्समा समस्या भएको कुरा प्रारम्भिक प्रतिवेदनले देखाएको छ । संक्रमणको विस्तृत कारण ल्याबपरीक्षणको प्रतिवेदनपछि मात्र सार्वजनिक हुने बताइएको छ । अस्पतालले संक्रमणको कारण पत्ता लगाउन अपरेसन र पोस्टअपरेटिभ वार्डमा भएका उपकरण, सामग्री, औषधि, कपडा, पर्दालगायतका सामग्रीको नमुनापरीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाएको छ । प्रयोगशालाको प्रतिवेदन ४८ घन्टामा मात्र आउने प्रयोगशालाले जानकारी दिएको छ । (सौस)

प्रतिक्रिया