एपिएफ र आर्मी विजयी

काठमाडौ, १ असोज । एनसेलकप फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा विभागीय टोली एपिएफ र नेपाल आर्मी क्लबले जित हात पारेका छन् । एपिएफले बलियो टोली एनआइबी फ्रेन्ड्स क्लबलाई ३–२ ले पराजित गर्‍यो भने आर्मी क्लबले एनआरटीलाई ५–० ले हरायो । सागर थापा, निराजन खड्का, जगजित श्रेष्ठ र दीपक भुसाललाई यसै सत्र अनुबन्ध गरेको फ्रेन्ड्स पहिलो खेलमा पराजित भएपछि आगामी बाटो अफ्ठयारो बनेको छ ।
पहिलो हाफमा रक्षक र गोलरक्षकको कमजोर प्रदर्शन नै फ्रेन्ड्सको पराजयको प्रमुख कारण बन्यो । एपिएफका लागि गणेश लावती, श्याम नेपाली र भिम श्रेष्ठले गोल गरे । फ्रेन्ड्सका आजाद प्रधान र दीपक गुरुङले गोल गरे । तेस्रो मिनेटमा लावतीको प्रहार फ्रेन्ड्सका गोलरक्षक वीरेन्द्र चन्दले नियन्त्रणमा लिन नसकेपछि एपिएफले अग्रता लिएको थियो । राजेन्द्र रावलको क्रसमा श्यामले हेडगोल गरेपछि १४औँ मिनेटमा नै फ्रेन्ड्सले दोहोरो अग्रता लिएको थियो । २७आँै मिनेटमा प्रकाश बुढाथोकीको पर्फेक्ट क्रसमा आजादले हेडगोल गरेपछि फ्रेन्ड्सले कमब्याक गरेको थियो । ६९आँै मिनेटमा कप्तान सागरको फ्री–किकमा दीपकले फ्लिक हेड गर्दै खेललाई बराबरीको दिशा दिएका थिए । ८४आँै मिनेटमा भीमले सुदीप श्रेष्ठको फ्री–किकमा गोल गरे ।
पावर गेम र पेसमा निर्भर रहने आर्मी क्लब यसपटक सम्भावित हालसम्मकै सबैभन्दा बढी जेन्युन फुटबलर समावेश टोली भएको पुष्टि गर्ने एनआरटीलाई फराकिलो अन्तरले पराजित गर्‍यो । १०आँै मिनेटमा नवयुग श्रेष्ठको गोलमा अग्रता लिएको आर्मीले पहिलो हाफको इन्जुरी समयमा वर्तमान नेपाली फुटबलका सबैभन्दा उत्कृष्ट फरवार्ड भरत खवासको गोलमा अग्रतालाई फराकिलो बनाएको थियो । टंक बस्नेतले ५४आँै मिनेटमा तेस्रो गोलको अग्रता दिलाए भने उनैले ६२औँ मिनेटमा अको
गोल गरे । रक्षक जितेन्द्र कार्कीले ८५आँै मिनेटमा गोल गरे ।
विगतमा निरस र अनाकर्षक खेलका लागि परिचित आर्मी क्लबले पछिल्लो वर्ष ए डिभिजनमा छाइसकेका विंगर कम फरवार्ड बस्नेतलाई टोलीमा भित्र्याएको थियो । फुटबलमा विगतमा राम्रो छवि बनाएको सुदूरपूर्वी इलाममा फुटबल वातावरणमै हुर्किएका नवयुगको प्रवेशले पछिल्लो सत्र नै आर्मी क्लब अलि फरक रहेको थियो । यसपटक भरतका साथै जितेन्द्र आर्मी क्लबमा प्रवेश गरेका हुन् । एनआरटीका पूर्वरक्षक जितेन्द्र लामो बल स्विचका लागि उत्कृष्ट थ्री–स्टारका सन्दीप राईपछि उत्कृष्ट मानिन्छन् भने ‘टफ’ व्यक्तिगत मार्किङमा राम्रो र पूरै समय मिहिनेत गरेर खेल्न सक्ने रक्षक हुन् ।

प्रतिक्रिया