“सुगर लागेपछि आँप साँपजस्तै भयो”

उनी नेपाली वाङ्मयका बहुमुखी प्रतिभासम्पन्न व्यक्ति हुन् । आफ्नै अथक श्रम र साधना तथा सीप र कलाले नेपाली साहित्यको उज्वल नक्षत्र बनेका उनी लगभग हरेक विधामा कलम चलाउँछन् । कथा, कविता, गीत, मुक्तक बालसाहित्य, व्याकरण, समालोचना, निबन्ध र प्रबन्ध, एकांकी तथा सम्पादन विधामा पूर्ण र शब्दकोष निर्माणमा पनि निपुण छन् । काभ्रे भवरपुरका ७७ वर्षीय ‘पराजुली’ भनाउँदा यी ‘कृष्ण’ पाठकलाई साहित्यको ‘प्रसाद’ बाँडेर सानेपामा तीन छोरी, दुई छोराबुहारी, नातिनातिना र पत्नीसहित बस्दा रहेछन् ।

धेरै पहिला एक झमट सुतेर उठेपछि रातभरि लेख्ने–पढ्ने काम गर्थे, अहिले ५:३० मा उठेर बेलुकी १०:३० मा सुत्ने काम गर्छन् । बिहान खाना खाएपछि एक घन्टा सुत्ने नानीदेखिको उनको बानी रहेछ । घुँडा दुख्ने रोगले अप्ठ्यारो पारे पनि बिस्तारै हिँड्दै अरूलाई १० मिनेट लाग्ने बाटोमा लट्ठी टेक्दै र साथमा साथी लिएर आधा घन्टामा पुग्दा रहेछन् । घर फर्किंदा खलखल पसिना आउँछ । पसिना पुछेर मज्जाले उसिनाको भात खान्छन् । पूजापाठको जिम्मा श्रीमतीको रहेछ । उनलाई आफूले पूजापाठ गरेको यादै छैन अरे † असी वर्षको बुबालाई लिएर नेपाल र भारतका प्राय: सबै मुख्य तीर्थमा पुगेका चाहिँ रहेछन् उनी कुनै बेला । फलमा मौसम, मेवा र अम्बा मन पराउने उनलाई आँप पनि कुनै बेला खुबै मन पथ्र्यो । उनी गहिरो सास फालेर भन्छन्– ‘०४३ सालदेखि सुगर लागेपछि आँप पनि साँपजस्तै भयो ।’
पराजुली निकै रमाइलोसँग आफ्नो कुरकुरै बैंस सम्झन्छन् । काठमाडौंमा पढ्न बसेका बेला हनुमानढोका, ढोकाटोल, नयाँसडक घुम्दा जुन केटी देख्यो त्यही राम्री लाग्थ्यो रे उनलाई । कुनै केटी बोल्न आए भुइँमा खुट्टै हुँदैनथ्यो । पाको अनुभव पोख्दै भन्छन्, ‘यो उमेरको खेल हो, यो यस्तै हो, बैंसमा स्याल पनि घोर्ले हुन्छ । यसबाट विचेत होइन, बेलैमा सचेत हुनुपर्छ । यसखालको भुमरी सबै एकपटक भोगेकै हुन्छ ।’ पावरदार चस्माको सिसामाथिबाट चिहाउँदै मतिर ठट्टाको मट्यांग्रो पनि फाल्न भ्याए– ‘बाबुले पनि भोग्यौ होला †’ त्यति भनेपछि पराजुली सर मख्ख हाँस्न थाले । विद्यार्थीकालमै नामी र दामी चिठीबाज भइसकेका थिए उनी । केलटोलमा डेरा गरेर बस्थे । एक दिन एउटी युवती उनको कोठामा पसिन् र चिठी लेखिदिन अनुरोध गरिन् । त्यसबापत युवतीले पराजुलीको कोठा बँडारकुँडार गरिदिइन् । चिठी लेख्न थालेपछि उनले थाहा पाए, ती नेवार युवतीको एक जना धनी राणा परिवारको युवकसँग प्रेम चलेको रहेछ । तर, घरमा जात नमिलेको फतुर झिेकर बाबुआमाले बिहेको अनुमति नदिएपछि युवक खिस्रिक्क परेछ । पराजुलीले यसै कुराको जवाफमा युवतीका तर्फबाट चिठी लेखेर दिएछन्, चिठी पढेपछि युवतीको मुहारमा आत्मविश्वासको तेज झल्केछ । उनी चिठी बोकेर हिँडिन् ।
एक दिन पराजुली घन्टाघरतिर जाँदै थिए । एक्कासि एक महिलाले नमस्कार गरिन् । उनका साथमा एक पुरुष र एक बच्चा पनि थियो । पुरुषतर्फ हेर्दै उनीतर्फ संकेत गर्दै महिलाले भनिन्, ‘उहाँ नै हो कृष्णप्रसाद पराजुली ।’ त्यतिन्जेलमा पराजुलीले बल्ल चिने । ती त त्यही चिठी लेखाउने युवती पो रहिछन् । छेउको पुरुष उनको पति । पराजुलीले बच्चासँग सोधे, ‘बाबु को नि ?’ महिलाले भनिन्, ‘यो तपाईंले लेखिदिएको चिठीको प्रसाद मेरो छोरो हो ।’ पराजुली चिठीको पहुँच र तागत देखेर दंग परेछन् ।
श्वासप्रश्वास रोग र प्रेसर रोगले सताएको छ उनलाई । महिनाको आठ–दस हजार औषधिमा खर्च गर्ने, दिनको बाह्र थरी औषधि खानुपर्ने, टिभीमा हास्यव्यंग्य कार्यक्रम हेर्न मन पराउने, दूधमा रोटी भिजाएर प्राय: खाजा खाने, नयन कमजोर भए पनि बिहान पत्रिका नपढी चैन नआउने उनले चिल्लो र अचारलाई चाहिँ जीवनबाट उहिल्यै धपाएका रहेछन् । बच्चा बेलामा गाउँका मानिसहरू एक जना विधवा दिदीलाई देखाउँदै भन्थे, ‘बाबु योसँग टाढै बस्नु है, बोलाएमा छेउछाउ नजानू, त्यो आइमाई राति १२ बजे हत्केलामा थुप्रै बत्ती बालेर पीपलको रूखमुनि नाच्ने बोक्सी हो । त्यसैले त्यसले दिएको केही नखानू, नत्र रगत छादेर तुरुन्तै मरिन्छ ।’ फुच्चे पराजुलीले ती दिदीसँग बोले पनि, तिनले दिएको खाए पनि तर गाउँघरमा यो कुरो कसैलाई भनेनन् । वृद्ध पराजुली अहिले भन्छन्, ‘खोइ, अहिलेसम्म तपाईंहरूका अगाडि सशरीर उपस्थित छु । केही भएको छैन ।’ ढाकाको टोपी मिलाउँदै उनी फेरि भन्छन्, ‘प्रज्ञामा ०२४ सालसम्म आठ वर्ष लगातार तनमन लगाएर काम गरेँ, प्रतिष्ठानका किताब छपाउन एक्लै दिल्ली, बनारस पुगेँ । कविता पत्रिकामा सहायक सम्पादनमा नाम जोडिएकाले दिनरात प्रेसमा गएर काम गरेँ । त्यतिखेर मेरा नसामा साहित्य रगत भएर दौडन्थ्यो ।’ जति नै काम गरे पनि उनको नाम फेरि सिफारिस भएन । उनी पनि प्रज्ञापीडित हुन पुगे । दुई वर्षपछि तारन्तार गरेर बोलाए । तर, पराजुली गएनन् किनभने उनी आफूलाई विभिन्न ठाउँमा छर्दै र चर्दै काम गर्न थालिसकेका थिए । ‘क्रमश: प्रज्ञा मासुविनाको कंकाल हुँदै गयो । अहिले त झन् बौद्धिक टाट उल्टेर ज्ञानविनाको कंगाल नै भइसक्यो’, उनी भन्छन् ।
एकपटक हात कामेर दु:ख पाएका रहेछन् । बैंकमा तलब लिन सशरीर उपस्थित भए तर आफ्नै हात कामेर सही नै मिल्दैनथ्यो । उनी खालीहात घर फर्कन्थे । त्रिविविमा हाजिर गर्न गयो, अर्काले बेस्सरी हात समाएपछि बल्लतल्ल ‘कृ’ लेखेर आउँथे उनी । यति हुँदाहुँदै पनि मेचमा बसेर विद्यार्थीलाई पढाउन भने कहिल्यै छाडेनन् उनले । रामतोरियाका फ्यान पराजुलीलाई घिरौँला, करेला मन पर्छ । उनी ढुक्कले भन्छन्, ‘करेला तीतो हुन्छ, त्यसैले त्यसमा औषधि हुन्छ ।’ माछामासुको साथ नछोडे पनि इन्सुलिनको सुईले हात छिया भएका पराजुली कवितामा यसरी बोल्छन्,
‘सन्ध्या–प्रात: सुई रोपी बाँच्नुको जिन्दगी भयो
हिजो स्वप्न थियो, कस्तो आज पानीसरि भयो ।’
किताब छपाउन दिल्ली पुगेका बेला उनी मोतीनगरमा बस्थे । प्रेसचाहिँ दरियागन्जमा थियो । सधैँझैँ उनी लालकिल्लामा बसबाट ओर्लेर प्रेसतिर पाइला बढाउँदै थिए, एउटी केटीले भनिन्, ‘बाबुजी इधर देखिए ।’ उनी ती केटीलाई हेर्दै दुई–चार पाइला हिँडेर छेउमा पुगे । ती केटीले झोलाबाट झिकेर पाते गोलो बिल्ला लगाइदिइन् । बिल्ला लगाएर पाखुरा समाती छातीमा काउकुती लगाउँदै भनिन्, ‘परेसानी मत लिजिए, यह निसानी हे, आठाना दिजिए ।’ भोलिपल्ट अर्कै केटीले बिल्ला र काउकुती लगाउँदै पैसा मागिन् । पराजुलीले दस पैसा दिए । केटी खुसी भइन् । पर्सिपल्ट उनलाई एक हुल केटीहरू बोलाउँदै थिए । उनी कतै हेर्दै नहेरी सरासर आफ्नो बाटो हिँडिरहे ।
पराजुली आफ्नो पुरानो गीत ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडिहिँडेँ म’ सम्झँदै भन्छन्, ‘खोइ यो गीत कसरी फुर्‍यो थाहा छैन, यथार्थ बिर्सें । अहिले सोच्दा सायद मैले मन पराएका काल्पनिक पात्र अरूसँग हिँडेको देखेँ होला । त्यसैले गीतमा आँखा, पाइला र मुटु पनि त्यहीँ छोडिहिँडेँ म ।’ हल्का खोकी र दम कम भएपछि उनी फेरि भन्छन्, ‘त्यो त कविता हो, जे–जे छोडिहिँडे पनि आफ्नो स्वाभाविक रूपमा हिँड्न र लेख्न कहिल्यै छाडिनँ ।’
कुराकानी छाडेर त्यहाँबाट हिँड्ने मन त थिएन तर भर्खरै अस्पतालबाट घर आएर स्वास्थ्यलाभ गर्दै गरेका थकित पराजुली सरलाई त्यहीँ छोडिहिँडेँ म पनि ।

प्रतिक्रिया