नेपाल पहिलो उपाधि चुम्ने दाउमा

कोलम्बो, ३१ भदौ । अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो उपाधि जित्न एक कदम मात्र पछाडि रहेको नेपालले दोस्रो साफ महिला च्याम्पियनसिपमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै छ ।
कोलम्बोस्थित सिआर एन्ड एफसी मैदानमा नेपालले भारतविरुद्धको पराजयको शृंखलालाई रोक्दै पहिलो उपाधि चुम्ने दाउ गरिरहेको छ । भारतले यसअघि दुई टिमबीचका तीनवटै खेलमा नेपाललाई पराजित गरेको थियो । बङ्गलादेशमा दुई वर्षअघि सम्पन्न ११औँ दक्षिण एसियाली खेलकुदमा भारतले नेपाललाई समूहचरणमा
५–० ले पराजित गरेको थियो भने फाइनलमा ३–१ को जित प्राप्त गरेको थियो ।
नौ महिनापछि भारतले बङ्गलादेशमै साफ च्याम्पियनसिपको पहिलो संस्करणमा नेपाललाई १–० ले हराएको थियो । आइतबार भारत पनि जित हात पार्दै नेपालविरुद्ध फाइनलमा अपराजित यात्रालाई कायम राखी दक्षिण एसियाली प्रतियोगिताहरूमा हयाट्रिक गर्ने दाउमा हुनेछ ।
नेपालका प्रशिक्षक किशोर केसी आफ्नो र टिमको ध्यान फाइनलका लागि केन्द्रित रहेको बताउँछन् । ‘हामी इतिहास कायम गर्नबाट एक कदम मात्र टाढा छौँ । भारतविरुद्ध खेल्न सजिलो हुनेछैन तर हामी उपाधि जित्नका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गर्नेछौँ,’ फाइनलअघि केसीले भने ।
प्रतियोगितामा ३० गोल गरिसकेको भारतलाई पराजित गर्न नेपाललाई फलामको चिउरा चपाउनुसरह हो । श्रीलंकाविरुद्ध तनावपूर्ण सेमिफाइनलमा ३–० को जित निकाले पनि नेपाल निकै दबाबमा देखिन्थ्यो । यद्यपि नेपालले लिगचरणमा भने पाकिस्तान (८–०), माल्दिभ्स (५–०) र अफगानिस्तान (७–१) माथि सहज जित हात पार्न सफल भएको थियो ।
यता भारत भने लिगचरणदेखि सेमिफाइनलसम्म विपक्षीमाथि हाबी भएको थियो । उसले समूहचरणमा बङ्गलादेशलाई ३–०, श्रीलंकालाई ५–० र भुटानलाई ११–० ले पराजित गरेको थियो भने सेमिफाइनलमा अफगानिस्तान (११–०) समेत निरीह सावित भएको थियो ।
भारतको सशक्त प्रदर्शनका बाबजुद प्रशिक्षक केसी आफ्नो फाइनल प्रतिद्वन्द्वीको कमजोरीबाट लाभ उठाउने बताउँछन् । ‘भारतले अहिलेसम्म सहज प्रतिद्वन्द्वीसँग मात्र खेलेको छ, त्यसैले उसको डिफेन्स र गोलकिपिङको परीक्षा भएको छैन । हामीसँग भारतको रक्षापंक्ति र गोलरक्षणलाई चिर्न सक्ने फरवार्ड र मिडफिल्ड लाइन छ । हामी यही कमजोरीको फाइदा उठाउँदै जितका लागि खेल्नेछौँ,’ केसीले थपे ।
भारतीय प्रशिक्षक मोहम्मद साहिद जब्बार केसीको भनाइप्रति सहमत देखिए । ‘हो, हामीले जति पनि खेल खेल्यौँ, सबै एकपक्षीय थिए तर नेपालसँग त्यस्तो हुन सक्दैन । हामीले यहाँ आउनुअघि नेपालसँग नै फाइनल खेल्नुपर्ने थाहा थियो । त्यसैले हामीले यसका लागि योजना बनाएका छौँ,’ जब्बारले भने ।
जब्बारले नेपालको खेल आफूले राम्ररी अध्ययन गरेको बताए । ‘नेपालको फरवार्ड र मिडफिल्ड लाइन एकदमै राम्रो छ र टिम आफै प्रतियोगितापिच्छे सुधारिँदै आएको छ । हामीले उपाधि जित्नका लागि मिडफिल्ड र फरवार्ड लाइन रोक्नुपर्नेछ जसमा हामी सफल हुनेमा म विश्वस्त छु,’ भारतीय प्रशिक्षकले थपे । एजेन्सी

प्रतिक्रिया