चेस ओलम्पियाडले जगाएको आशा

काठमाडौं, २९ भदौ । सन् २००९ को पाश्र्वनाथ बुद्धिचाल प्रतियोगिताको समयमा नेपालका तत्कालीन यु–१५ च्याम्पियन रूपेशकुमार जायसवालको रेटिङ १६११ थियो । त्यसै प्रतियोगितादेखि लगातार चार वर्ष उनले प्रत्येक वर्ष एक सयको दरले रेटिङ बढाउँदै आए । यो क्रम २०१२ को अन्त्यसम्म आइपुग्दा पनि कायम नै रहेको छ । १९५८ रेटिङ भएका रूपेशले भरखरै टर्कीको इस्तानबुलमा सकिएको ४०औँ चेस ओलम्पियाडमा ३७ रेटिङ बढाए । उनले ओलम्पियाडका १० खेल खेल्दै ६ स्कोर गरे ।
४०आँै चेस ओलम्पियाड, जहाँ नेपालको ध्यान शीर्ष वरीयताका खेलाडी केशव श्रेष्ठमाथि अडिएको थियो, लगातार दुईपटकको ओलम्पियाडमा एक/एक फिडेमास्टर पाएको नेपाल यसपटक भने चुक्यो । सबैभन्दा आशा गरिएका केशवले १० खेलमा ६५ प्रतिशत स्कोर गरे । फिडेमास्टर बन्न आवश्यक ६६.६६ प्रतिशतबाट उनी अलिकतिले मात्र चुकेका थिए ।
तर, वर्तमानमा केशव आसलाग्दा भए पनि रूपेशको प्रदर्शनले उज्ज्वल भविष्यको संकेत गरेको छ । सानो उमेरमा जसरी उनले लगातार हरेक प्रतियोगितामा बढाउँदै आएको रेटिङ र उत्कृष्ट परिणामले नै केही वर्षमा नै उनी राम्रो नेपाली स्टार बन्ने सम्भावना देखिएको हो । विगत चार वर्षमा उनको छलाङ अचम्मको रहयो । १३ वर्ष नहुँदै यु–१५ च्याम्पियन बनेका रूपेशले त्यसपछि दुई राष्ट्रिय च्याम्पियनसिपमा सानदार प्रदर्शन गरे । मच्छिन्द्र क्लबलाई टिम उपविजेता बनाउन सानदार खेल खेलेका रूपेशले त्यसको लगत्तै युथ च्याम्पियनसिपमा यु–१५ खेल्ने उमेर भए पनि यु–१९ मा सहभागिता जनाउँदै च्याम्पियन भए । त्यसको एक वर्षपछि भएको राष्ट्रिय च्याम्पियनसिपमा चौथो स्थानमा रहन सफल रूपेशले ओलम्पियाडमा पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरे । सुरुआतमा सामान्य प्रदर्शन गरेका उनले अन्तिम चरणमा केन्याका बेन्जामिन मजाना ( २०३२) लाई पराजित गरे । यसभन्दा अघि उनले आइएम काउटिसिस लेबाकाससँग बराबरी गर्दै कम उमेरमा आइएमसँग ‘स्कोर गर्ने’ नेपालीको रूपमा कीर्तिमान कायम गरेका थिए ।
नेपालले सहभागिता जनाएको पाँच ओलम्पियाडमध्ये पछिल्ला तीन ओलम्पियाड महत्त्वपूर्ण रहे । यसअघि जर्मनी र रुसमा भएका दुई ओलम्पियाडमा नेपालका दुई जना मनीष हमाल र विलमलाल श्रेष्ठले फिडेमास्टर पाएका थिए भने इस्तानबुलबाट नेपालका लागि दुई सिएम थपिए । यद्यपि, कुनै उपाधि नपाए पनि सहभागीमध्ये तीन जनाले स्तरीय प्रदर्शन गरे । सहभागी १५७ देशमध्ये नौ अंक जोडेको नेपाल १ सय १३ औ  स्थानमा रहयो जुन विगतभन्दा माथिल्लो पनि हो । नेपाल र भारतमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको सिजन सुरु हुनै लागेको छ । यसबीचमा नेपालका मनीष हमालबाहेक ओलम्पियाडमा सहभागी अन्य खेलाडीले त्यस्तै फर्म कायम राखे २०१३ बीचसम्ममा नै नेपालको अन्तर्राष्ट्रिय र्‍याङकिङ अझ माथिल्लो स्थानमा पुग्ने निश्चित छ । साथमा अन्य प्रतिभाशाली खेलाडीको उत्कृष्ट प्रदर्शन त आवश्यक छँदै छ ।
नेपाली चेस पुस्तान्तरणको प्रक्रियामा रहेको छ । दिगेश मल्ल, केशव श्रेष्ठ, उत्तमराज थापा, मनीष हमाल, सुरवीर लामा, अनिल राजवाहक र राजेन्द्र वज्राचार्यको समूह १० वर्षअघि उदाएको एउटा स्तरीय पुस्ता थियो । त्यो पुस्ताका केही खेलाडी सक्रिय भए पनि केही निस्क्रिय छन्, कोही विदेसिएका छन् । लगातार प्रतियोगिता र केही युवा खेलाडीको स्तरीयताले त्यो पुस्तान्तरणको समयमा रहेको समस्यालाई पनि समाधान गर्न सक्नेछ । तर, पछिल्लो पुस्ताले एउटा कुरा भने सोच्नैपर्छ, ‘१६०० बाट २००० पुग्नुभन्दा २००० बाट २१०० पुग्न धेरै गुणा बढी परिश्रम चाहिन्छ र भिन्नै ढंगले प्रतियोगिताको तयारी पनि ।’

प्रतिक्रिया