विद्यार्थीद्वारा प्रहरी चौकीमा आगजनी

राजविराज, २९  भदौ । माइक्रोबसले विद्यार्थीलाई भाडा लिएको विषयमा विवाद हुँदा बिहीबार हनुमाननगरमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा आधा दर्जन स्थानीय युवा र हनुमाननगर इलाका प्रहरी कार्यालयका सइ मनोज राउत घाइते भएका छन् ।
अध्ययनका लागि हनुमाननगरबाट राजविराजस्थित क्याम्पस आवतजावत गर्ने विद्यार्थीलाई माइक्रोबसका स्टाफले दुव्र्यवहार गर्ने र बढी भाडा उठाएपछि विद्यार्थीले विरोधमा बिहीबार बिहानै यातायात अवरोध गरेका थिए । यातायात अवरोध खुलाउन गएका सइ राउत नेतृत्वको प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज गरेपछि झडप भएको थियो । झडपमा अनुज मिश्रा, अरविन्द दास, समसेर अली, राजेश झालगायत आधा दर्जन विद्यार्थी घाइते भएका छन् । प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको स्थानीयले आरोप लगाए ।
प्रहरीको आक्रमण सुरु हुनासाथ जम्मा भएका स्थानीयले सइ राउतलाई घेरा हालेर कुटपिट गर्दै इलाका प्रहरी कार्यालयमा आगजनीसमेत गरेका थिए । स्थानीयको कुटपिटबाट राउतको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताए । यसैगरी आन्दोलनकारी विद्यार्थीले इलाका प्रहरी कार्यालयको सेन्ट्री बस्ने बिट तोडफोड तथा आगजनी गरेर क्षति पुर्‍याएको प्रहरी हवल्दार कमल तोलाङेले बताए ।
झडपका विषयमा आफूले पनि जानकारी पाएको बताउँदै घटनामा घाइते भएको विषयमा भने कुनै जानकारी नपाएको डिएसपी गोविन्द अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया