बोर्ड अध्यक्ष बन्न करोडौँको चलखेल सुरु


काठमाडौं, २८ भदौ । नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष बन्न चलखेल सुरु भएको छ । चलचित्रकर्मीदेखि अन्य क्षेत्रका व्यक्तिसमेत बोर्ड अध्यक्ष बन्ने कसरतमा लागेका छन् । केही दिनअघि गणेश भण्डारीले राजीनामा दिएसँगै बोर्डमा अध्यक्षको पद खाली छ ।
अध्यक्ष बन्ने दाउमा रहेकाहरू राजनीतिक नेतृत्वदेखि डन तथा ठेकेदारसम्मका ढोका चहार्न थालेको स्रोत बताउँछ । कलाकार मदनदास श्रेष्ठ, संगीतकार शम्भुजित बाँस्कोटा, चलचित्र प्रदर्शक प्रदीप उदय, संगीतकार लक्ष्मण शेषलगायत सञ्चारमन्त्रीका सल्लाकार सुरेश कार्कीसमेत यो दौडमा रहेको सार्वजनिक भएको छ । स्रोतका अनुसार विभिन्न डन तथा ठेकेदारसमेत आफू अनुकूलको व्यक्तिलाई बोर्ड अध्यक्ष बनाउन लागिपरेकाले यसपटक ठूलै आर्थिक चलखेलको सम्भावना पनि देखिन्छ ।
यीमध्ये शम्भुजित बाँस्कोटा राजा ज्ञानेन्द्रको सक्रिय शासनका बेला बोर्ड अध्यक्ष भइसकेका व्यक्ति हुन् । अन्य व्यक्ति पनि चलचित्र क्षेत्रमा योगदानका हिसाबले आफूले नै सो पद पाउनुपर्ने दाबी गरिरहेका छन् । केही दिनदेखि दरबारमार्गस्थित होटल याक एन्ड यतीमा ठूलो संख्यामा मानिस भेला हुने र अध्यक्ष पदका लागि ४०–५० लाख रुपियाँसम्म खर्च गर्ने योजना बन्ने गरेको स्रोतको दाबी छ । ‘जहाँ कहलिएका डनदेखि ठूलो कारोबारका ठेकेदारसमेत सहभागी हुने गरेका छन्,’ स्रोतले भन्यो । विगतमा बोर्ड अध्यक्षका लागि यति ठूलो चलखेल देखिँदैनथ्यो । सरकारले दोलखामा बन्न लागेको फिल्म स्टुडियोका लागि करोडौँ रुपियाँ बजेट छुट्याउने सम्भावना बढेपछि बोर्डको नेतृत्व हत्याउन यसपटक अधिक चलखेल बढेको नाम उल्लेख नगर्ने सर्तमा बोर्डका एक कर्मचारीले खुलासा गरे । उनका अनुसार अध्यक्ष पदका लागि ५० लाखदेखि एक करोड रुपियाँसम्म खर्च गर्ने प्रस्ताव बोकेर मानिसहरू राजनीतिक नेतृत्वकहाँ धाउने गरेका छन् ।

प्रतिक्रिया