भदौभित्र सहमति नभए चुनावमा जाने

काठमाडौं, २८ भदौ । सत्तारूढ एमाओवादी र प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरू संविधानका विवादित विषयमा भदौभित्र सहमति हुन नसके नयाँ चुनावको विकल्पमा जान सहमत भएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा बुधबार बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति भएको हो । बैठकमा संविधानका विवादित विषयमा बिहीबारदेखि नै प्रमुख दलहरूको बैठक बसी सहमति खोज्ने समझदारी पनि भएको छ । यसअघि १६ भदौमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा संविधानका विवादित विषयमा भदौभित्र सहमति खोज्ने र सहमति खोज्न गम्भीर वार्ता यथाशीघ्र गर्ने सहमति भएको थियो । तीन महिनाअघि संविधानसभा कायम रहँदै नयाँ संविधानका विवादित विषयमा छलफल गरी भदौभित्र सहमति जुटाइसक्ने सहमति गरे पनि उनीहरूले तीन दल बैठकलाई प्राथमिकता दिएका छैनन् ।
बुधबारको बैठकपछि नेताहरूले बिहीबारदेखि नै तीन दलको बैठक बसेर संविधानमा सहमति जुटाउने प्रयास थालिने जनाएका छन् । ‘संविधानका विवादित अन्तरवस्तुमा सहमति जुटाएर मस्यौदासमेत तयार पारी छोटो अवधिका लागि संविधानसभा पुन:स्थापना गर्नु सबैभन्दा राम्रो विकल्प हुन्छ भन्नेमा दुई दलबीच छलफल भयो,’ बैठकपछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘तर, विवादित विषयमा सहमति हुन सकेन भने त्यसैमा रटान लगाएर लामो समय पर्खन भने सकिँदैन ।’
कांग्रेस नेताहरूले संविधानसभा पुन:स्थापना वा नयाँ चुनावको जुनसुकै विकल्पमा जाँदा पनि पहिले राष्ट्रिय सहमतिको सरकार गठन गर्नु अनिवार्य भएको अडान बैठकमा दोहोर्‍याएका थिए । एमाओवादीले भने राजनीतिक निकासका विषयमा सहमति भएपछि त्यससँगै सरकारबारे पनि निर्णय गर्नुपर्ने बताएको थियो । संविधानका विवादित बुँदामा सहमति भई २ जेठमा भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्ने अवस्था आए कांग्रेस नेतृत्वमा सरकार गठनका लागि सकारात्मक रहेको एमाओवादीले बताएको थियो । चुनावमा गए पाँचबुँदे सहमति ‘आकर्षित’ नहुने एमाओवादी अध्यक्ष दाहालको भनाइ थियो ।
‘जेठ २ गते भएको सहमति वरिपरिबाटै निकास खोज्ने कुरा भयो भने कांग्रेस नेतृत्वमा सहमतिको सरकार गठन गर्ने कुरामा हामी सकारात्मक छौँ,’ बैठकमा व्यक्त दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अरू विकल्पमा गए नयाँ आधारमा सहमति खोज्न पनि तयार रहनुपर्छ ।’
बैठकपछि कांग्रेस महामन्त्री सटौलाले भने जुनसुकै विकल्पमा गए पनि एमाओवादी अध्यक्ष दाहाल कांग्रेस नेतृत्वमा सहमतिको सरकार गठनका लागि सकारात्मक रहेको दाबी गरे । ‘संविधानसभा पुन:स्थापना वा नयाँ निर्वाचन जुनसुकै विकल्पमा गए पनि प्रचण्डजी कांग्रेस नेतृत्वमा राष्ट्रि्रय सहमतिको सरकार बनाउन सकारात्मक हुनुहुन्छ,’ सिटौलाले भने ।
बैठकमा एमाओवादीबाट अध्यक्ष दाहाल मात्रै सहभागी थिए भने कांग्रेसबाट वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीहरू सिटौला र प्रकाशमान सिंह सहभागी थिए । प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानका विवादित अन्तरवस्तुमा भदौभित्र सहमति खोजिसक्ने प्रतिबद्धता जनाए पनि १६ भदौयता बैठक बसेको छैन । सत्तारूढ एमाओवादीले राजनीतिक निकाससँग सरकारको विषयमा सहमति खोज्ने अडान राख्दै आएको छ भने कांग्रेस र एमालेले डा. बाबुराम भट्टराई नेतृत्वको सरकार यथावत् राखेर संविधानका विवादित विषय टुंगिए पनि संविधानसभा पुन:स्थापना हुन नसक्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया