बिबी एयरवेजले क्वालालम्पुर हङकङ उडान भर्ने

काठमाडौं, २४ भदौ । बिबी एयरवेजले क्वालालम्पुर र हङकङ उडान भर्ने भएको छ । २५ असोजदेखि सुरु हुने उडानका सेड्युल एयरलाइन्सले सार्वजनिक गरेको छ । क्वालालम्पुरसम्म साप्ताहिक रूपमा चारपटक र हङकङमा तीनपटक बिबी एयरवेजले उडान भर्ने जनाएको छ ।

क्वालालम्पुरका लागि सोमबार, बिहीबार, शनिबार र आइतबार उडान हुनेछन् भने हङकङका लागि सोमबार, शुक्रबार र आइतबार उडान हुने भएको छ । साथै बिबी एयरवेजले कम्बोडियाको सियाम रिप र जापानको टोकियोसम्म पनि चार्टर उडान सञ्चालन गर्ने जनाएको छ । सियाम रिपको चार्टर्ड उडान २८ असोजबाट आरम्भ हुँदैछ भने टोकियोको चार्टर असोजदेखि सुरु हुँदैछ ।
काठमाडौंबाट क्वालालम्पुर र फिर्ताका लागि ३६ हजारबाट सुरु हुने कम्पनीले जनाएको छ । मलेसियाबाट नेपाल आउन चाहने यात्रुका लागि क्वालालम्पुरबाट काठमाडौं तथा फिर्तीको भाडादर मलेसियन रिंगिट एक हजार दुई सय लाग्ने पनि उसले जनाएको छ । हङकङका लागि भने काठमाडौं–हङकङको दोहारो भाडादार ४८ हजार तोकिएको छ । यस्तै हङकङबाट काठमाडौंको दोहारो भाडादर हङकङ डलर ६ हजार ५ सय लाग्छ । बिबी एयरवेज गैरआवासीय नेपाली उद्यमी भवन भट्टद्वारा प्रवद्र्धित छ । यसको स्वामित्वमा जापान र नेपालमा धेरै व्यवसाय रहेका छन् । भट्ट गैरआवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हुन् भने एनआरएन नेपाली संघ जापानको अध्यक्ष हुन् । यसले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र युरोपियन एभिएसन सेºटी एजेन्सी (इएएसए) का सुरक्षा मापदण्ड पालना गरेको छ ।
यसले आºनो उडान एक बोइङ ७५७–२०० बाट आरम्भ गर्ने जनाएको छ । छिट्टै अर्को बी–७५७ थपिने पनि उसले बताएको छ । दोस्रो एयरक्राºट थपिनेबित्तिकै उडान सेवा बैंकक, सिंगापुर, नयाँ दिल्ली र दोहामा विस्तारित गरिने भएको छ । छिट्टै नै वायुयानमा थप दुई बोइङ ७६७ पनि थप्ने दाबी गर्दे कम्पनीले युरोप तथा अस्ट्रेलियामा उडान भर्ने योजना पनि सार्वजनिक गरेको छ । यो एयरवेजले ३० चैत ०६८ मा उडान सञ्चालन अनुमतिपत्र (एओसी) प्राप्त गरेको हो । यसले क्वालालम्पुर, हङकङ, नयाँ दिल्ली, टोकियो, दोहा, बैंकक र सिंगापुरको उडान अनुमति पाएको हो । यो एयरवेयजले मुलुकभित्र रहेका उड्डयन क्षेत्रका उत्तम पेसागत व्यक्तिलाई रोजगारी दिएको छ भने जापान, युरोप र कम्बोडियका पेसागतसँगको सहकार्यमा काम गर्ने जनाएको छ । सुरुमा अन्तर्राष्ट्रिय उडान भरे पनि भविष्यमा यसले थप क्षेत्रमा उडान भर्नसक्ने पनि बताएको छ ।

प्रतिक्रिया