आक्रमणमा संलग्न पति र देवर विरुद्ध उजुरी

दाङ, २१ भदौ । आफ्नै पति र देवरको आक्रमणबाट घाईते भएकी दाङको घोराही नगरपालिका रतनपुरकी प्रेरणा खड्का बस्नेतले सुरक्षाको माग गरेकी छन् ।
गत असार–२ गते रतनपुरमा पानी भर्दै गर्दा उनलाई अज्ञात समूहले टाउकोमा घरेलु हतियार प्रहार गरेर घाईते बनाई दुई तोला सुनको सिक्री चोरी गरेर फरार भएको थियो । सो घटनामा पति गेहेन्द्र बस्नेत र देवर जितेन्द्र बस्नेत संलग्न रहेको भन्दै खड्काले प्रहरीमा जाहेरी दिएकी छन् ।
घरेलु हतियार प्रहारबाट बेहोस भएकी खड्कालाई कही समय बाँकेमा राखेर उपचार गरिएको थियो । हाल उनी माईती घर घोराहीमा बस्दै आएकी छन् ।
लालमटिया गाविसका सचिव समेत रहेका खड्काका पिता टेकबहादुर खड्काले छोरीलाई जवाईले नै कुटपिट गरेर सुनको सिक्री लुटेको आरोप लगाए । उनले भने, ‘घटनामा छोरी जवाईनै संलग्न छन्, अरुलाई के भन्ने ।’
उनले पछिल्लो समय सोही घटनालाई लिएर आफूहरुलाई समेत सुरक्षाको खतरा बढेको बताए ।
गणपति भेनियर उद्योग खैरा नारायणपुराका प्रोपराईटर समेत रहेका खड्काका पति बस्नेतले आफूले पत्नीलाई आक्रमण नगरेको दाबी गर्छन् । पीडित महिला खड्काले आक्रमणकारीलाई नचिने पनि पति र देवरनै सो घटनामा संलग्न रहेको आरोप छ ।
प्रहरीले पनि करिव दुई महिनाको लामो अनुसन्धान पछि घरपरिवारबाटै आक्रमण भएको निष्कर्ष निकालेको पीडित महिला खड्काको भनाई छ ।
प्रहरीको सल्लाहमा आफ्नै पति गेहेन्द्र र देवर जितेन्द्र विरुद्ध उनले ज्यानमार्ने उद्योगको मुद्दा दर्ता गराएकी छन् । खड्काले पति र देवर विरुद्ध मुद्दा दायर गरे पछि घरपरिवारसँग सम्बन्ध विग्रिएको छ । उनी छोरा सहित माईती बस्दै आएकी छन् ।
‘मैले पहिले नै पति र देवरले आफूलाई आक्रमण गरेको बताएको थिए,’ उनले भनिन, ‘तर कसैले विश्वास गरेनन, आखिरमा उनीहरुनै दोषी देखिएका छन् ।’
उजुरी दिए पछि प्रहरीले उनीहरुलाई केही दिन हिरासतमा राखेर छोडी सकेको छ ।
एक छोरा सहित माईतमा वसेकी खड्काले हिरासतवाट छुटेका पति र देवरले पटक पटक ज्यान लिने धम्की दिने गरेको आरोप लगाएकी छन् । उनले सुरक्षाका लागि प्रहरीमा जानु परेको बताइन ।
माईती पक्षले पनि सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय दाङमा निवेदन दिएको छ ।
घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेशवहादुर ऐरले पीडित खड्कालाई न्याय दिन कुनै गल्ती नगरेको वताए ।
‘खड्कालाई न्याय दिन प्रहरीले कतै गल्ती गरेको भए दोषीलाई कार्वाही गर्छु,’ ऐरले भने, ‘कसले र किन आक्रमण गर्‍यो भन्ने पुष्टि भएको छैन ।’

प्रतिक्रिया