म नयाँ लेन्डुप हुँ…

एउटा सिपाही आफ्नी बूढी आमाको मायामा देश प्रेमलाई त्याग्छ भने, आमा जसको स्याहार–सम्हारका लागि ऊ आफूलाई जिम्मेवार पाउँछ, त्यसलाई त्यसै देशद्रोही भन्न पाइँदैन । त्यस्तै अर्काे सिपाहीले आमाको स्नेहलाई बेकदर गरेर स्वदेशका लागि शूली चढ्यो भने त्यसलाई कुपूत भन्न पाइँदैन । दुवैका लागि मेरो एउटा प्रश्न मात्र हुन्छ, के तिमी आमाको ठाउँमा देश या देशको ठाउँमा आमालाई रोज्दा आफ्नाप्रति इमानदार थियौँ ? मेरो प्रश्न मात्र हो, केवल उसको इमानदारी ।’ (‘हिट्लर र यहुदी’ पृष्ठ– १३१)
विपी कोइरालाको उपन्यासको यस भनाइलाई मैले सयौँचोटि पढिसकेँ हुँला । तर, जहिले पनि यो नयाँ र महत्त्वपूर्ण लाग्छ । पहिलोपल्ट ०४५ सालमा यस किताब पढ्दा केही पनि बुझिनँ । यो किताब संस्मरण हो कि, उपन्यास हो कि, दर्शन हो कि, इतिहास हो, जतापट्टिबाट बुझ्न खोजे पनि विषयवस्तु भरिपूर्ण भएको यसलाई लगातार तीनपल्ट पढेको थिएँ । हरेकपल्ट पढ्दापढ्दै म आएर अड्किने ठाउँ भनेकै यही माथिको अभिव्यक्तिमा हुन्थ्यो । म सबैभन्दा धेरै घोरिएको पनि यसैमा हो । वाक्य अलिक घुमाउरा र अस्पष्टजस्ता भए पनि साह्रै गहन विषय पाउँछु यसमा । बुझ्न सजिलोका लागि माथिको भनाइलाई मैले यसरी भन्ने गरेको पनि छु, ‘एउटा सिपाही आफ्नी बूढी आमाको मायाका लागि देश प्रेमलाई त्याग्छ । त्यस्तै अर्काे सिपाही आमाको मायालाई बेवास्ता गरेर स्वदेशका लागि शूली चढ्छ भने ती दुईमा कुन ठिक ? उत्तरमा छ, आमाको मायामा देश प्रेमलाई त्याग्नु पनि ठिक, देशको प्रेममा आमाको मायालाई त्याग्नु पनि ठिक छ । तर, यहाँ दुवैमाथि एउटा प्रश्न छ इमानदारिताको । यदि ऊ आमाको माया चाहिँ इमानदारीपूर्वक गर्छ भने देशप्रेमलाई त्यागेको पनि ठिक छ । देश प्रेममा ऊ एकदम नै इमानदार रहे आमाको स्नेहको त्याग पनि ठिक छ । तर, दुईमध्ये जुन कर्म गरे पनि ऊ त्यो कर्मप्रति इमानदार हुनुपर्छ ।’
कर्मप्रतिको इमानदारिता नै वास्तवमा जीवनको सबैभन्दा ठूलो सन्तुष्टि हो । इमानदारितासँग कुनै प्रकारको पश्चाताप हुँदैन । सचेतनापूर्वक गरिएका कुनै पनि कर्म भविष्यका लागि पश्चातापका मार्ग बन्दैनन् । इमानदारिता मानिसको जीवनको सबैभन्दा सुन्दर मार्ग हो । यसै सुन्दा त यो कुनै ध्यानी तपसीले दिइरहेको अर्तिउपदेशजस्तो लाग्छ । सुन्दर आदर्श वाक्यजस्तो लाग्छ तर यथार्थमा हामी प्रत्येकको जीवनमा सधैँ उठिरहने सबैभन्दा ठूलो प्रश्न पनि यही हो । के हामी कहिल्यै आफूमाथि, परिवारमाथि वा राष्ट्रमाथि इमानदार छौँ ? के हामी प्रेममाथि, मित्रतामाथि वा पतिपत्नीमाथि इमानदार छौँ ? हामी हाम्रा नित्य कर्महरूमाथि, अनुभव, ज्ञान र शिक्षादानप्रति इमानदार छौँ ? यो प्रश्न सबैभन्दा ठूलो आत्मघाती छ । यसको उत्तर आफूबाहेक कसैसँग पनि हुन्न । हामी सदा अरूबाट आफूप्रतिको उत्तरदायित्वको अपेक्षा गर्दछौँ । उसले आफूप्रति पूर्णरूपमा जवाफदेही लिनुपर्छ वा लेओस् भन्ने चाहन्छौँ तर हामी आफैँ चाहिँ त्यही कुरामा कत्तिको इमानदार छौँ ।
आजको सबैभन्दा ठूलो सवाल नै यही नैतिकताको छ । विपीले राष्ट्रिय मेलमिलापको आव्हान गर्दै स्वदेश फिर्ता भएपछि उनमा लागेको दर्जनौँ मुद्दाको बयान दिने क्रममा सहजै भनेका छन् । म पार्टी सभापति भएका हैसियतले पार्टीको कामका सिलसिलामा देशका कुनै पनि ठाउँमा कुनै पनि कार्यकर्ताबाट हुन गएका घटनाको म नैतिक जिम्मा लिन्छु । विपीको यही साहस नै इमानदारिताको नमूना हो । आफूले १२ वर्ष जेलमा बिताएका बेला जेलबाहिर पार्टीले गरेका सबै गतिविधिको जिम्मा लिने जुन साहस गरे, त्यो नै उनको जीवन दर्शनको यथार्थ प्रस्तुति हो । हामीमध्ये कतिसँग आफूबाट जानीजानी हुन गरेका कामको जिम्मा लिने साहस छ ? राम्रा सकारात्मक प्रशंसनीय, पुरस्कारीय कर्मको त हामी उफ्रीउफ्री जिम्मा लिउँला तर अपमान हुने, आलोचना हुने, आर्थिक वा सामाजिक हानि हुने कुराको हामी कति जिम्मा लिन्छौँ ? ठुल्ठूला हो–हल्ला हुने र चर्चामा आइन्छ भन्ने लागेमा केही नकारात्मक विषयको पनि जिम्मा लिइएला । जस्तो, कतै बम पड्काइएको अपहरण गरिएको, हत्या गरिएको वा देश बन्द गरेको । तर, के यस्तो जिम्मा कसैले लिएको देखिएको छ बलात्कार गरेको, लुटेको, चोरेको, हाडनाता करणी गरेको आदि ? कार्यालयमा घुस खाएको, उच्च ओहोदामा रहेर अकुत भ्रष्टाचार गरेको, कसैले स्वीकार गरेको छ ?
इमानदार हुन जति कष्टकर केही छैन तर आजसम्म इतिहासले स्मरण गरिरहेका ती महान् मानिसहरू अधिकांश इमानदारिताकै कारणले हाम्रा आदर्श मानिएका छन् । आफूले दिएका वचनप्रति इमानदार रहनु पर्दा राजा दशरथले प्राण त्याग्नु पर्‍यो । बाबुको वचन पूरा गर्न राम वनबास हिँडे । राजा हरिश्चन्द्र दास बने । वचनको पक्का भएकैले विपीले मोहन शमशेरका अघि भनेका थिए, ‘भगवान्का अघि उभिएर यो पोल कसैलाई खोल्ने छैन भनेको छ, आज तपाईं मान्छेका अघि किन खोल्छ ?’ यो साहस नै हरेकको जीवनको मेरुदण्ड हो, जसले गलतका अघि नैतिकतालाई झुक्न दिँदैन ।
आज दिनप्रतिदिन भ्रष्टाचारको सजाय पाएर जेलयात्रा गरिरहेका अधिकांश नेताहरू विपीकै मार्गको अबलम्बन गर्छाैं भन्नेहरू नै हुन् । गोविन्दराज जोशी, खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जयप्रकाश आनन्द । यी नामका पछि कुनै समय कति ठूलो भिड थियो । आस्थाको त्यस पार्टीका हरेक कार्यकर्ताका लागि यी नाम आदर्श थिए । तर, आज निर्लज्ज अनुहार बोकेर ‘अदालतको निर्णयको स्वागत र्छु’ भन्दै जेल प्रस्थान गरिरहँदा पनि प्रकारान्तरले भने त्यो कर्मप्रति अझै सत्य बोलिरहेका देखिँदैन । झन् लाज मर्दा कुरा त यो पछिल्लो कालमा भएको छ । जब खुमबहादुर खड्का भ्रष्टाचारको मुद्दामा जेल गएका छन् र उनका केही कार्यकर्ताले पार्टीलाई दबाब दिँदै ‘खुमबहादुर खड्का सहयोग कोष’ खडा गरी सर्वसाधारण जनताबाट रकम संकलन गर्न आव्हान भएको छ । यो कस्तो सन्देश होला इतिहासलाई । एउटा भ्रष्ट नेता भ्रष्टाचार अभियोगमा जेल पर्छ र त्यसको भ्रष्टाचारको क्षेतिपूर्ति जनताले फेरि चन्दा उठाउनु पर्छ ? विपीवादी यी नेता र तिनका कार्यकर्ताको यो नांगो स्वरूप देख्दा हिजो विपी र सुवर्णले केका लागि लडार्इं गरेका थिए भनी आँखा रसाएर आउँछन् ।
जुन नेताले इमानदारिताको युद्धका नाममा जिन्दगीलाई नै सधैँ धरापमा पारे । जसको नैतिक आदर्शका हातहरूले उठेको झन्डामुनि बस्न पाएर जो आज सुखयोगको निष्कंटक यात्रामा जान पाएका छन्, उनीहरू नै भनिरहेछन्, प्रजातन्त्र संकटमा छ । प्रजातन्त्र संकटमा हुँदा हिजो विपीले के गरे, सुवर्णले के गरे, गिरिजाले के गरे ? र आज उनीहरूकै उत्तराधिकारी के गरिरहेका छन् ?
आफँै होचिएका कारण अग्ला देखिन पुगेका इमानदारिताका पर्खालहरू अब कसरी नाँघ्ने होला हामीले । नेपालको राजनीतिमा आएको यस विकृतिले सबैतिर ल्याएको ‘कुम्भीपाक’ भेलबाट समाज कसरी मुक्त होला ? के हामीसँग सत्यलाई आत्मसात गर्ने शक्ति छ ? के हामीसँग अझै पनि आत्मआलोचना गर्ने क्षमता बाँकी छ ? सन्दर्भले विपी र उनका अनुयायी यहाँ उदाहरण बने तर के यस देशका कुनै पनि पार्टी, व्यक्ति वा संस्थासँग आफ्ना अनैतिकताका विरुद्ध आफँै उभिने साहस छ । संस्थाका नाममा गरिने लुटलाई ‘लुट’ नै हो भन्ने तागत छ ? विपीले भने जस्तो, तिमी यदि लुट्न चाहिँ इमानदारीपूर्वक लुट्दैछौ भने लुट, तर त्यो लुटप्रति चाहिँ नैतिक जिम्मा लिन सक्छौँ ?
हरेक कर्मप्रति बेइमान भएर त्यसको सुखद परिणामको अपेक्षा गर्ने आँट हामीमा कसरी आएको होला ? म हरेकपल्ट यही कुरामा घोत्लिरहेको हुन्छु कि म आफँै कति इमानदार छु ? मलाई इमानदार हुने अवसर मुलुकले कति दिएको छ ? के मैले चाहेर इमानदार हुन पाउँछु ?
बेइमानीको भारले थिचिएर लचक्कै भएको टाउको बोकेर ‘मनिर्ङ वाक’ गरिरहेका हामीले हावामा इमानदारी खोज्न मिल्छ ? घुस खाएर कमसल मल भित्र्याउने मन्त्रीजीको भान्सामा स्वस्थ्यकर तरकारी कसरी पाक्न सक्छ ? अरूलाई बेच्न भनी फोरेट बीस हालेर ‘स्वाँठ्ठ’ फलाइएको उखु त्यही किसानका छोराले पहिला नचुसी छोड्ला ? आत्मघातको यो महायात्रातिर प्रस्थान गरिरहेको हाम्रो मुलुकले अझै पनि इमानदारिताको प्रकाशलाई कुनै सानो प्वालबाट मात्र पनि प्रवेश गर्न दिए देश बौरिने थियो कि ? नेपालको इतिहासमै सबैभन्दा ठूला राष्ट्रवादी नारे नेताहरू आज प्रत्येक दिन दिल्लीमा खाएर काठमाडौंमा खकारिरहेको देख्दा उनीहरूको सारा खकार आफ्नै टाउकोमा परेझैँ जिउ चिलाइरहन्छ । कहिलेकाहीँ त लाग्छ, तिनले पनि बरु इमानदारपूर्वक भनिदिनु नि– ‘म नयाँ लेन्डुप हुँ, कृपया मलाई माफ गरिदिनोस् ।’

प्रतिक्रिया