राजनीतिक भाइरसले संक्रमित छ साहित्य

अहिले के लेख्दै हुनुहुन्छ ?
हिजोआज लेख्ने काममा कमी छ । पढाइमा धेरै समय लगाइरहेछु । तैपनि दुईवटा कृतिको तयारीमा निकै समय खर्चिएँ । ती दुवै अब प्रकाशनतिर गइसके । एउटा निबन्धसंग्रह, अर्कोचाहिँ नियात्रासंग्रह । फुटकर निबन्ध लेखन त नियमितैजस्तो छ ।
तपाईं कसका लागि लेख्नुहुन्छ ?
समाजको अन्तर्मनलाई आफ्नो भाव र भाषा बनाएर लेखिरहेको छु । विषय समाजको तर भाषा मात्र मेरो हो । अब प्रस्ट होला, आफू पोखिन दुनियाँको बैसाखी टेको लिन्छु ।
तपाईंका लेखाइमा नितान्त निजी कुरा बढी हुन्छ भनिन्छ । त्यो पढेर पाठकलाई के लाभ होला र ?
निबन्ध भनेकै कुराको जालो हो । जति बढी कुराको जालो बुन्न सकियो, उति नै उत्कृष्ट निबन्धको निर्माण हुन सक्छ । हिजोका दिनमा निबन्ध टाक्सिएको पनि अनावश्यक दर्शन र सम्भ्रान्त लेखाइले हो । तर, म सधैँ समकालीन जीवन, समय र संस्कृतिका अन्तर्भावलाई सम्बोधन गर्ने शैलीको पक्षधर हुँ । आफूलाई विशिष्ट र गहु्रँगो बनाउन ‘पाखण्ड बोली’ बोल्नुभन्दा आफ्नो जीवनले भोगेका शाश्वत चिन्तनलाई पाठकसामु बाँड्नु इमानदारी हो । ती प्रिय पनि भएका छन् । यदि लाभ नहुँदो त किन मेरा सबै संग्रहहरू धमाधम अनेक संस्करणमा पुगेका होलान् त ?
तपाईंका निबन्धका भावभूमि के हुन् ?
व्यक्तिमाथि समाजले गर्ने व्यवहारलाई निबन्धको भावभूमि बनाउँछु । त्यसो गर्दा संवेद्य चरित्र र पात्रलाई नै बढी स्पर्श गर्न मन लाग्दोरहेछ । धेरैले उपेक्षा गरेका सन्दर्भलाई म आफ्ना निबन्धको प्रमुख पृष्ठभूमिका रूपमा रोज्छु । त्यसो गर्दा तिनीहरूप्रति मेरो हार्दिक न्याय भएको सन्तोष हुर्किन्छ ।
तपाईंको निबन्ध वास्तविकता हो कि जीवन यस्तो भइदिए हुन्थ्यो भन्ने कल्पना हो ?
आशाविहीन जीवन हुँदैन । म कुनै अलौकिक पुरुष होइन । आशाअनुरूप जीवन र सभ्यता नहुँदा त्यसको चित्रण गरिरहेको हुन्छु म आफ्ना निबन्धमा । ती वास्तविकताको भुइँमा बोलिएका हुन्छन् । साहित्यमा कल्पना र यथार्थ दुवैले आफ्नो स्वर ठूलो पार्न खोज्छन् । कहिलेकाहीँ कल्पनाको आवाज तिखो त कहिले यथार्थको स्वर मधुरो हुन्छ । तर, म सन्तुलित पार्ने चेष्टामा लागेको छु ।
लेखनमा भाषालाई अनावश्यक थेत्तरो बनाउनुहुन्छ भन्ने आरोप छ नि ?
म नेपाली भाषाको चोखोपन र मौलिक चरित्रको पूजा गर्ने व्यक्ति हुँ । नेपाली भाषामा अनेपाली भंगिमा र हमलालाई म सहन सक्तिनँ । गणतन्त्रको भाँडभैलोमा धर्म, राष्ट्रियता, पहिचान र समन्वयकारी चरित्र सबै ध्वस्त भएको बेलामा सबै नेपालीबीच परस्पर ‘दर्बिलो साइनो’ जोड्ने भनेकै नेपाली भाषा मात्र हो । मैले आफ्नो भाषाप्रति गरिएको अगाध प्रेम र पूजालाई थेत्तरो भन्नु– ठेट्नो चरित्र हो । त्यो आरोपमा कुनै आधार छैन, तर्क छैन र विज्ञानसम्मत प्रमाण छैन ।
तपाईंको लेखन बडो रोमान्टिक टाइपको हुन्छ र धरातलीय हुन्न भन्छन् नि ?
म मंगलग्रहबाट यो लोकमा पदार्पण भएको व्यक्ति होइन । यस पृथ्वीका मानिस, समाज, सभ्यता, पद्धति र आचारमै म यात्रारत छु । मेरा निबन्धमा यै धरातलका घामपानीबाट सिर्जित इन्द्रेनीको बयान हुन्छ । धेरैले घाम खोज्लान्, कतिले पानी खोज्लान् । तर, म यी दुवैको मिलनबाट सजिएको इन्द्रेनी लेखिरहेको छु । यहीँनेर कुरा नमिलेको हो कि † आखिर साहित्य त पेचकसले कसकास गर्ने किला त होइन नि । साँचोमा ढालेर बनाइने इँटा, पाउरोटी वा ओखतीको गोली पनि त साहित्य होइन । रोमान्टिक त्यही एकआँखे हेराइ र रुवाबासी हो भन्ठान्छु म त †
लेखाइमा अभिव्यक्त गरिने सबै कुरामा काव्यात्मक सहभागितालाई कति स्वीकार गर्नुहुन्छ ?
साहित्य नारा वा गाली गरिने फलाको होइन । यसले कला र शिल्पसँगै प्रस्तुतिमा काव्यात्मक भाव र भाषाको अपेक्षा गर्छ । चट्ट मन छुने भाषा नबोलिने र नलेखिने हो भने त्यो साहित्यको आयु लामो हुँदैन । काव्य र कला साहित्यका जति प्राण हुन् त्यत्तिकै अपरिहार्य पक्ष हुन् विचार र प्रस्तुति । अझ काव्य त सम्झौता गर्न नमिल्ने पक्ष हो । नयाँघरेको एक चिनारी नै हो यो पाटो ।
तपाईंका निबन्ध आफ्नै अनुभव वा अनुभूतिबाट जन्मेका हुन् कि ती सीमान्तकृत पात्रका कथाहरूमा काल्पनिकता हाबी छन् ?
म आफ्ना सिर्जनाको ठूलो हिस्सा हुँ । कति विषय वा सामग्रीका निम्ति यो समाजलाई बुझ्न समुदाय वा सभ्यतातिर फर्कन्छु । कति विषयलाई समाजबाटै लिएर महिनौँको मन्थनपछि पुन: समाजतर्फ दिने गर्छु । कल्पना र यथार्थको बीचधारबाट म आफ्ना निबन्धको पाइला लम्काउँछु । कला भर्न, कल्पना र परिणाममा यथार्थका लागि अनुभूतिलाई समात्ने गर्छु । यो पद्धति धेरै लेखकले गर्दा हुन् । आफ्नो अनुभवलाई अरू पात्रमा प्रत्यारोपण गर्दा पनि निकै रचनाहरू लेख्न सकिँदो रहेछ ।
साहित्य र धर्मबीचको साँधसिमाना खुट्याउनु कत्तिको जरुरी छ ?
दुवै भावानात्मक कुरा हुन् । धर्मले संस्कार वा जीवन पद्धतिसँग परोक्ष र प्रभावकारी हस्तक्षेप गरेको हुन्छ । तर, साहित्य उग्र खालको नभई मन्द खालको विषको कार्य गर्ने हुन्छ । यी आफँै विपरीत ध्रुवका विषय हुन्, बहस हुन् र विम्बसमेत हुन् । तर, दुवैले हृदयसँग गहिरो नाता जोड्न पुगेका हुन्छन् । दुवैलाई सीमाहीन दर्शनसँग जोडेर हेर्नुपर्छ जस्तो मैले ठानेको छु ।
लेखनमा आफ्नो हृदयलाई मात्र पोख्न चाहनुहुन्छ कि पाठकलाई पनि ध्यानमा राख्नुहुन्छ ?
नलेखुन्जेल हरेक विषय वा रचना आफ्नो हो । सिर्जनाको स्वामित्व आफूमा मात्र राख्ने हो भने नलेखी बस्नुपर्‍यो । तर, म गतिशील लेखक हुँ । यसैले पाठक निरपेक्ष कसरी बस्न सक्छ र लेखक ? तर, सापेक्ष हुने भन्दैमा न्यूनतम लेखकीय चरित्रबाट स्खलित हुने कुरो पनि आउँदैन । पढ्नै कठिन, दुरुह प्रयोग, अव्यवस्थित प्रस्तुति वा अमर्यादित भाषा प्रयोग गरी म पाठकहरूको ‘मस्तिष्क मुण्डन’ गर्न रुचाउन्न । सहज, सरल र सरसताको परिकार पस्केर पाठकीय हृदयको सम्मान गर्न रुचाउँछु । त्यसो त पाठकको उपस्थिति ५० प्रतिशत हुन्छ भने अरू ५० प्रशितशतमा लेखकले लेखेको समाज, व्यक्ति र चरित्रको हिस्सा हुन्छ । लेखकलाई पूरा गरिदिने नै पाठक हुन् । एक अर्थमा लेखक सधैँ अपूर्ण हुन्छ ।
यहाँ कस्तो साहित्य लेखियो भन्दा पनि कसले लेख्यो भन्नेमा बढी चासो राखिन्छ ? यस्तो किन हुन्छ ?
सिर्जना सजिलो र सहज साधनाको प्राप्ति होइन । निकै समर्पण र गम्भीर मन्थनबाट आउने साहित्य विशिष्ट र अर्थपूर्ण हुन पुग्छ । केही समय यता आफ्नो दलबल र बाहुबलद्वारा केही बाम्पुड्काहरू भीमकाय बन्ने प्रयासमा छन् । ती काठेच्याउ र चेपागाँडाले नेपाली साहित्यमा सुनगाभाको सुन्दरता र कोइलीको स्वर दिन सक्तैनन् । विकृति र विसंगतिको छोइछिटो नेपाली साहित्यमा पनि छ । त्यसैले एक लेखकले लेखेको सबै कृतिलाई उही तराजुमा राखेर तौलनु त्यत्ति स्वाभाविक र न्यायपूर्ण दृष्टि हो भन्ने पक्षमा म छैन । बढ्ता अन्धपरम्पराको पक्षधर वा मूर्तिपूजक संस्कारले पनि यसो भएको हो कि ? साहित्यमा मूर्तिपूजक वा गणेश परम्परालाई डाँडो कटाउनुपर्ने हुन्छ ।
निबन्ध लेखनका पुराना दिन कस्ता थिए ?
औधी प्रयोग कि अति ढुलमुले यात्रामा नेपाली निबन्धले हिजोका दिनमा हिँडायो आफूलाई । अर्कातिर निबन्ध भन्नेबित्तिकै ज्यादै हाउगुजीका रूपमा पाठक र अध्येयतामा प्रभाव पार्ने प्रचेष्टा गरियो । विश्वविद्यालय तहमा वा विद्यालय तहमा निबन्ध भनेको मनको भाषामा लेखिने कोमल, तरल र काव्यिक गद्य रचना भन्ने सन्देश पुर्‍याउने प्रयत्न ठ्याम्मै भएन कतैबाट पनि । उल्टै जटिल, दुरुह र कठोर रचनावली नै निबन्ध हो भन्ने यातनापूर्ण विचार फैलियो ।
म आफ्नो निबन्ध पाइलामा सधैँ सम्झौताहीन, प्रतिबद्ध र जुझारु नै भएर लागेँ । हो, नयाँ गोरेटो खन्न सहज र सुगम छैन । तैपनि ‘कुमारी मार्ग’ को ‘तन्नेरी’ लेखक हुने आँटलाई नडगमगाईकन हिँडे म । कसैको काँध वा बुईमा चढेर मैले निबन्धको रचना पनि गरिनँ, परिभाषा कथ्ने लेघ्रो पनि तानिनँ ।
लेखक बजारअनुसार चल्नुपर्छ कि आफैँ बजार क्रिएट गर्नुपर्छ ?
लेखकले अरूको आदेश मान्ने होइन । बजार बनाउनुको अर्थ त्यही हुन्छ । लेखकको कृतिले बजार आफैँ सिर्जना गर्छ । बजार भनेको त हौवा र प्रचारबाजीको परिणाम हो । बजारमा चामल र पीठो एकनासले बिक्री भएको हुँदैन । हल्ला गर्नेहरूले पिठो बेचिरहेका हुन्छन् । त्यसको संकेत हामी आजका दिनमा मज्जाले पाइरहेका छौँ । आँखामा पुगेको कृतिलाई नै सर्वस्व मान्न मिल्दैन । मनमा तरंगित कृतिले नै लामो आयु पाउँछ । म बजारको पछि लाग्दिनँ, बजारले मलाई खोज्दै आओस् भन्ठान्छु ।
लेखनमा कत्तिको जोखिम उठाउनुहुन्छ ?
म चर्को क्रान्तिकारी र अराजक लेखक होइन । साहित्यमा ‘डन’ र ‘चौकीदार’ शैलीको म सधैँ विपक्षमा रहेँ । निरन्तरता, प्रतिबद्धता र स्वाभाविकताको अनुयायी हुँ म । मेरा लागि साहित्य जोखिम उठाउनुपर्ने विषय होइन, साधन होइन र लक्ष्य पनि होइन । प्रकृतिको लयमा गति छ मेरो ।
नेपाली साहित्यले राजनीतिलाई कसरी प्रभावित पारिरहेको छ ? र, हाम्रो साहित्य यो मामिलामा कत्तिको प्रभावकारी छ ?
नेपाली साहित्यले राजनीतिलाई एक रत्ति असर पारेको छैन । उल्टै साहित्यलाई राजनीतिको भाइरसले संक्रमित पारेको छ । अनपेक्षित रूपमा अनेक वाद र विषवमन गर्ने आँगनका रूपमा स्थापित हुँदो छ– नेपाली साहित्यिक समाज । यो अत्यन्त दु:खद् र उदासीन तुल्याउने खबर हो । संसारका धेरै परिवर्तनकारी आन्दोलन र क्रान्तिमा साहित्यले वैचारिक ऊर्जा दिएको तथ्य छ । तर, हामीसँग त्यति ठूलो प्रयास र चेतनाको हुँकार भएन । हामी साहित्यकारले प्रभावकारी काम गरेनौँ बरु हामी नै राजनीतिको रोगी, पंगु र भ्रष्ट संस्कारले प्रभावित भयौँ ।
आफ्ना निबन्धहरूको लामो आयुप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
युगको मर्म र कम्पन समातेरै म हिँडिरहेको छु । मेरो आफ्नो प्रयत्न चोखो साहित्य सिर्जना गरौँ भन्ने नै छ । नेपाली निबन्धको नयाँ अनुहार र चरित्रका निम्ति मेरो कहिल्यै र कतै सम्झौता हुनेछैन । मेरो काम र निष्ठाको मूल्यांकनको जिम्मा भोलिको समाजलाई नै छाड्छु म । मसला पिँध्ने जाँतो र ग्राइन्डरको मूल्य आ–आफ्नो ठाउँमा रहने तथ्यलाई पनि म यतिखेर सम्झिरहेको छु ।

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया