लडाकु छनोट प्रक्रिया सुरु

काठमाडौं, २३  भदौ । शुक्रबारदेखि विभिन्न सात स्थानमा रहेका लडाकु शिविरमा सेना समायोजनका लागि छनोट प्रक्रिया सुरु भएको छ । बिहीबार नै छनोट प्रक्रियाका लागि इलामको चुलाचुली, सिन्धुलीको दुधौली पुगेको टोलीले काम सुरु गरेको हो । छनोट प्रक्रियाका लागि पुगेको टोलीले छनोट प्रक्रिया अघि बढाएको छ ।
यस्तै, चितवनको शक्तिखोरमा रहेको माओवादी लडाकुको तेस्रो डिभिजनमा बिहीबारदेखि सेना समायोजनको भर्ना छनोट प्रक्रिया सुरु गरिएको छ । लडाकु रेखदेख तथा पुन:स्थापना विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्मासहितको टोलीले प्रक्रिया सुरु गरेको हो । विशेष समिति सचिवालय, नेपाली सेना र लोकसेवा आयोगका प्रतिनिधि संलग्न टोलीले ९७ जना लडाकुको फारम भराएको संयोजक शर्माले जानकारी दिए ।
जन्म मितिको विवादलाई नागरिकतामा उल्लेख भएको जन्म मितिलाई आधार मानिने र १२ जेठ ०६३ अघि १८ वर्ष पुगेका लडाकुलाई भर्ना प्रक्रियामा समावेश गरिएको र  १८ वर्ष पुगेको मितिदेखि नै सेवा अवधि गनिने शर्माले बताए । बिहीबार पहिलो दिन सुबेदार तहसम्मको पदका लागि भर्ना सुरु भएको  र २७ भदौबाट अधिकृत तहको भर्ना प्रक्रिया सुरु हुने बताइएको छ । तेस्रो डिभिजनअन्तर्गत रहेका लडाकुको पूर्वी चितवनको चैनपुरमा रहेको नेपाली सेनाको मध्यक्षेत्रीय महाविद्यालयमा भर्ना प्रक्रिया अगाडि बढाइने शर्माले जानकारी दिए ।
नेपाली सेनाले बनाएको योजनाअनुसार एक महिनाभित्र समायोजन प्रक्रिया सम्पन्न गर्ने लक्ष्य सचिवालयले लिएको छ  । यसअघि अनमिनले प्रमाणित गरेको कागजातका आधारमा समायोजन प्रक्रियामा बसेका लडाकु नागरिकताको तिथिमितिलाई आधार बनाएर भर्ना प्रक्रिया सुरु गरिएपछि उमेर नपुगेर अवकाश लिन बाध्य भएका थिए ।
यस्तै, नवलपरासीस्थित चौथो डिभिजनमा रहेका एक सय ४५ लडाकुले सैन्य छनोटका लागि  फारम बुझाएका छन् । यस अगावैको वर्गीकरणमा सेना समायोजन रोजेका चार सय ८१ लडाकुमध्ये  छनोट प्रक्रियामा फारम बुझाउने  संख्या एक सय ४५ रहेको छ । तीमध्ये छनोट समितिसँग एक सय आठ लडाकुले  फिजिकलको परीक्षा दिएको सेना समायोजन समितिका विशेष समितिका सदस्य सदानन्दन कुर्मीले बताए  ।
यस्तै, रोल्पाको दहवन शिविरमा पनि छनोट प्रक्रिया सुरु भएको छ । यता, सुर्खेतको दशरथपुरस्थित छैटाँै डिभिजनमा सेना समायोजनका लागि लडाकु भर्ना छनोट प्रक्रियाको काम सुरु हुनसकेको छैन । अन्य सबै शिविरमा बिहीबारबाटै काम सुरु भए पनि छैटौँ डिभिजनमा लडाकुको अवरोधका कारण प्रक्रिया सुरु हुन नसकेको हो ।  लडाकु र सेना समायोजन विशेष समितिको टोलीबीच बिहीबार भएको छलफलबाट शुक्रबार बिहान ९ बजेदेखि काम सुरु गर्ने सहमति भए पनि समायोजन प्रक्रियाप्रति नै असन्तुष्टि जनाउँदै लडाकुले फाराम भर्न नमानेका हुन् ।
नागरिकताको आधारमा एक सयभन्दा बढी लडाकुको उमेर नेपाली सेनामा भर्नाका लागि नपुग्ने भएपछि लडाकुले फाराम भर्न अस्वीकार गरेका हुन् । सेना समायोजन विशेष समितिका सदस्य डा.दीपकप्रकाश भट्टले लडाकुसँग छलफल भइरहेको र फाराम वितरणको काम सुरु हुने बताए ।
यस्तै, कैलालीस्थित तालबन्द शिविरमा पनि शुक्रबारबाट छनोट प्रक्रिया सुरु भएको छ । सातवटा शिविरबाट समायोजन रोजेका तीन हजार एक सय २३ लडाकु छन् ।

प्रतिक्रिया