भारु अभाव चर्किंदो

जनकपुर २१ भदौ । जनकपुर र यसको आसपसामा भारतीय रुपियाको अभाव चर्केको छ । यस क्षेत्रमा भारु र नेपाली रुपियामा कारोबार भए पनि लामो समयदेखि भारतीय रुपियाँको अभावका कारण सर्वसाधारण थप अन्योलमा परेका छन । यो सँगै यहाँका वासिन्दा औषधोपचारको लागि दिनहुँ सयौको संख्यामा भारतको दरभङ्गा र पटनातिर जाने गरेका हुन्छन् । तर, भारु चाहिएजति सहज रूपमा नपाउँदा बिरामीको उपचारमा समस्या पर्ने गरेको फूलकुमारीदेवी सहनीले बताइन् ।
सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सिन्धुली र सर्लाहीमा नेपाली रुपियाँ साथसाथै भारतीय रुपैयाँ उपलब्ध गराउँदै आएको नेपाल राष्ट्र बैंक जनकपुर शाखाले आवश्यकभन्दा कम रकम उपलब्ध गराउदा यस्तो समस्या देखिएको स्थानियनको भनाइ छ ।
मनी चेन्जर व्यवसायी सङ्घका अध्यक्ष रवीन्द्र सिंहले जनसङ्ख्या वृद्धि हुनु र मान्छेको आवश्यकता बढेकोले नेपाल राष्ट्र बैंकले भारु दिन कम गर्दै जाँदा भारतीय रुपियाँको अभाव सिर्जना भएको बताए । दुई वर्षअघि दैनिक ६० लाख भारु साटन पाउने गरेकोमा अहिले राष्ट्र बैंकले दैनिक दुई लाख ५० हजार मात्र ३० वटा मनी चेन्जमा प्रदान गर्दै आएकाले भारतीय रुपैयाँको अभाव बढ्दै गएको उनको भनाइ छ ।
राष्ट्र बैंकका नायब महाप्रबन्धक रमण नेपालले भारतमा उपचार गराउन कागजात लिएर आउने बिरामीलाई २५ हजारसम्म भारतीय रुपैयाँ दिने गरेको बताए । तर, पीडित सहनीको कुरा बताउँदा उनले केही जवाफ दिएनन । उपचारका लागि मागेजति भारु रकम नपाइने गरेकाले बिरामीलाई समयमै भारत लगेर स्वास्थ्य उपचार गर्न निकै समस्या उत्पन्न हँुदै आएको पीडितहरु बताउँछन् ।
भारत सरकारले ५ सय र एक हजारको भारतीय नोटमा लगाएको रोकका कारणले पनि नेपालमा भारत रुपैयाँको कमी हुँदै आएको तर्क केही ब्यावसायीको छ । तर बैंकहरुले भने एटिएम र ड्राफ्टबाट भारतीय रुपैया जतिसुकै निकाल्न सक्ने जनाएको छ ।
राष्ट्र बैंकले मनी चेन्जरलाई दिनैपिच्छे भारु दिनमा कमी ल्याएकाले नै जनकपुरमा मात्र पाचवटा मनी चेन्जर बन्द भएका छन । भारु अभावको मौका छोपी खुलारुपमा हुदै आएको कालोबजारीलाई रोकथामको प्रयास कतैबाट नभएकाले अझ बढ्न थालेको छ ।

प्रतिक्रिया