ठोस सहमति हुन सकेन

काठमाडौं, २० भदौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालावीच आज भेटवार्ता भएको छ ।
दाहाल निवास लाजिम्पाटमा भएको भेटमा राजनीतिक र संवैधानिक संकट समाधानका विषयमा दुई शीर्ष नेता वीच छलफल भएको हो । आज पनि अध्यक्ष दाहालले कोइरालासँग संविधानसभा पुनःस्थापनाको प्रस्ताव दोहराए ।
सभापति कोइरालाले दाहालको सो प्रस्तावलाई यथास्थितिमा सहमति जनाउन नसकिने भन्दै अस्वीकार गरिदिएका छन् ।
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठनपछि मात्रै अन्य विकल्पका वारेमा सोच्न सकिने बताए ।
मुलुकको गतिरोध अन्त्यका बारेमा कुराकानी भएको भन्दै उनले छिट्टै सहमति आउनेमा आफू आशावादी रहेको उल्लेख गरे ।
संविधानका विवादित विषयमा सहमति कायम गरेर अघि वढ्ने बारेमा दाहाल र कोइराला सहमत भएका छन् ।
पछिल्लो समय राष्ट्रिय सहमति निमार्णका लागि भन्दै दलहरु छलफलमा जुटेका छन् । कोइरालाले मंगलबार एमाले नेता केपी ओलीसँग पनि भेटबार्ता गरेका थिए ।
एकीकृत माओवादीले संविधानका विवादित विषयमा सहमत गरेर नयाँ संविधान जारी गर्न संविधानसभा पुनःस्थापनामा सहमति भए सरकारको नेतृत्व कांग्रेसलाई दिन सकिने प्रस्ताव गरेको थियो ।
यद्यपी विपक्षी दलहरु कांग्रेस र एमालेले भने राष्ट्रिय सहमतिको सरकार गठन पछि मात्रै अन्य विषयमा सहमति हुने अडान लिँदै आएका छन् ।

प्रतिक्रिया