कस्तो ठग बुद्धि †

साह्रै बाठा छन्, हाम्रा निर्देशक शोभित बस्नेत । कति ‘पीडित दुस्मन’ ले त उनलाई धूर्तको पगरी पनि गुथाएका छन् । तर, उनको खुबीचाहिँ सलाम गर्न लायकै छ । क्वालिटियस चलचित्र बनाउन नसके पनि उनका चलचित्रको संख्या २५ नाघिसक्यो । शोभितबाट राम्रो चलचित्र बन्दैन भन्ने जान्दाजान्दै पनि निर्मातालाई मोहनीवाणले लट्ठ्याएरजसरी खुरुखुरु लगानीका लागि फकाउन सक्नु सानो खुबी त कहाँ हो र ? निर्माता पट्याउने खुबीका लागि धुरन्धर निर्देशकले पनि उनका अगाडि सरन्डर गर्नैपर्छ । यो अर्कै कुरा हो कि एकचोटि काम गरेको निर्माता फेरि उनीसँग जोडिन मुस्किल छ । हल्ला सुनिन्थ्यो– शोभितको बेइमानी चालाका कारण निर्माताले दोहोर्‍याएर विश्वास नगरेका रे † तर ‘उनका भक्तहरू’ लाई यो हल्लामा कत्ति पनि विश्वास थिएन– ‘यदि बेइमान हुँदा हुन् त यत्तिका चलचित्रको निर्देशन गर्ने जिम्मा कसरी पाउँथे ?’ तर भर्खरै आएको एउटा गाइँगुइँ हल्लाले भने शोभितको शैलीमा अहिलेसम्मकै सबैभन्दा गतिलो प्रश्नचिह्न लगाइदिएको छ । उनैले निर्देशन गरेको एउटा चलचित्रबाट उनको नामै हटाउने सुरसार गरेको छ रे निर्माणपक्षले । सुनिएअनुसार चलचित्र प्लानकी निर्माता कविता श्रेष्ठले उनको नाम हटाउने सुरसार गरेकी हुन् । यसको कारण रहेछ, शोभितको पुरानै ‘धूर्त’ बानी । पोस्ट प्रोडक्सनमा पुगेपछि उनले चलचित्र अलपत्र छोडिदिएछन् । प्रदर्शन हुने बेला भएपछि चाहिँ ‘मै हुँ चलचित्रको निर्देशक’ भन्दै हलहलबाट पैसा उठाएर झ्वाम पारेछन् । एक त राम्ररी काम नगरिदिने, अर्कातिर निर्माताले पाउने पैसा पनि आफैँले उठाएर खाने । निर्माताका कन्सिरी त तात्ने नै भए † उनका भक्तहरू नै भन्न थालेका छन्– ‘पैसा कमाउने नै भए इमानदार भएर कमाउनु नि † स्थापित निर्देशक भएर कस्तो ठग्ने बुद्धि आएको होला † धन्न नाम मात्रै हटाएछन् †’

प्रतिक्रिया