अशोक राईका नाममा…

आदरणीय कमरेड,
सुनेको र पढेको भन्दा अनुभवबाट सिकेर बुझेका कुरा बढी उपयोगी हुन्छन् रे । यहाँ मेरा अनुभव होइन, पढेका र सुनेका विषयमा आधारित भएर लेख्ने जमर्काे गरेको छु । दिक्तेल बहुमुखी क्याप्पस खोटङमा आइए पढ्दा तपाईंका बारेमा सुनेको थिएँ, एकजना मेरा ब्राह्मण मित्र दीपनारायण रिजालबाट तपाईंभित्र रहेको गीताको ज्ञानका बारेमा । यही कारणले क्याम्पसमा धेरै जनजाति राई साथीहरूलाई नजिकका साथी मात्र बनाइनँ, जनजातिहरू इमानदार र सबैको मन जित्न सक्छन् भन्ने मेरो बुझाइले नेता बन्न पनि सहयोग गरेँ । अर्का हलेसी घर भएका ब्राह्मण मित्रले आमनिर्वाचनताका बासँग अशोक राईको प्रचारमा हिँडेकैले गाउँका राईहरूको नमज्जाले पिटाइ खाएको कथा पनि सुनाएका थिए । यस कारण पनि मेरो पारिवारिक पृष्ठभूमि कांग्रेस भए पनि विद्यार्थी जीवनमा सहयोग र सहानुभूति अखिलका साथीहरूलाई नै भयो ।
तपाईंको प्रभावकै कारण एमाले भएका गैरजनजातिहरूले पाएको पीडालाई अहिले तपाईंले आफूहरूमाथि ब्राह्मणहरूले सिन्डिकेट लगाएको भन्ने आरोपले दुखेको मन र तपाईंले अहिले उठाएको जातीय मुद्दाका बारेमा रहेको असहमतिबारे केही लेख्ने जमर्को गरेको हुँ । क्षत्री–बाहुनहरूकै सहयोगले सांसद्, मन्त्री र अन्तत: एमालेको उपाध्यक्षजस्तो पदमा पुगेर तिनै तपाईंलाई भोट माग्दा टाउको फुटाउने गैरजनजातिमाथि लगाएको आक्षेपसँगको असहमति हो । यद्यपि, आदिवासी जनजातिहरूको सहयोग थिएन भन्ने होइन । तपाईंले पार्टीको नेतृत्व तहमा पुगेर जनजातिहरूमाथि अपमान गरेको अनुभूति गर्नु फरक पाटो हुन सक्छ । एमाले नेतृत्वमा त्यस किसिमको प्रवृत्ति नहोला भन्न सकिन्न । तर, तपाईंलाई त्यही किसिमको प्रवृतिविरुद्ध पार्टीभित्रै सच्याउन नेता बनाएका हुन्, आमआदिवासी जनजाति र क्षेत्री, बाहुन नेता कार्यकर्ताले । हुन सक्छ, तपाईंमा पनि अर्कै पार्टीको अध्यक्ष बन्ने भूत चढेको होला । तर, तपाईंले अहिले सबै वर्गीय मुद्दा त्यागेर केवल जातीय राजनीतिको वकालत गरे पनि तपाईंले भनेजस्तो एकल पहिचान र अग्राधिकारसहितको जातीय राज्य केही जातीय राजनीति गर्नेहरूबाहेक अन्य आमजनजाति नेताको एजेन्डाभित्र पर्न सकेको छैन ।
राजनीतिक नेतृत्वमा रहन त्यही सांस्कृतिक पहिचानसँग गाँसिएर आएको हुनुपर्ने नेपाली परम्पराचाहिँ भत्काउन जरुरी छ । तर, जनजातिको अधिकारका नाममा अन्य जातजातिलाई निषेध गरेर होइन, हातेमालो गरेर मात्र सम्भव छ । तपाईंलाई थाहा हुनुपर्छ कि नेपालको इतिहासमा सन् १९७० को दशक लिम्बुवान विद्रोहदेखि सन् १९९२ मा गोपाल खम्बुको खम्बुवान सशस्त्र विद्रोह हुँदै माओवादीले सन् २००० मा ल्याएको जातीय मोर्चाको आन्दोलनले कुनै दशर्नको प्रतिनिधित्व गर्न सकेन, केवल वर्गीय आन्दोलनको सहायक भएर विलिन भयो । अहिले तपाईंले नेतृत्व गरेर बनाउन खोजेको मोर्चा पनि अन्तत: कुनै राजनीतिक विचार वा दशर्नको सहायक भएर समाप्त हुने कुरामा दुईमत छैन । विश्वको राजनीतिक इतिहासमा निश्चित जातको हितमा गरिने जातीय राजनीतिले कुनै दर्शन वा वादको रूप लिएको थाहा छैन । यदि यो भ्रममा पर्नुभएको हो भने समयक्रमले देखाउनेछ ।
तपाईंमा अस्तित्वबोध र पहिचानको चिन्ताले जातीय मोर्चा बनाउने र त्यसलाई पार्टीकरण गर्ने लहड चलेको हो भने अस्तित्व र पहिचान आदिवासी जनजातिहरूको मात्रै खोज्दा गैरजनजातिको पहिचानको विषयमा अर्को मोर्चा खडा हुने अवस्था आउँछ । जातीय पहिचान नहुनुमा बाहुनहरूको भूमिकाले काम गरकै हो भने विकट गाउँमा बसेर बाह्रै महिना भारी बोक्दा पनि खान नपुग्ने बाहुनहरूको के दोष छ ? किन केही बाहुन समुदायका नेताको कार्यशैलीलाई सामान्यीकरण गरेर आमबाहुन, क्षेत्री समुदायलाई गाली गरिन्छ ? सधैँजसो सत्ता, सरकार र नेतृत्वमा बसेर अरूमाथि शासन गर्ने, जनजातिको पहिचान र अस्तित्वको खोजी गर्नेले वर्षभरमा एक जोर लुगा फेर्न नसक्ने गरिब जनजाति र बाहुनहरूको पहिचान अस्तित्व खोज्नु
पर्दैन ? कमरेड, यो विषयलाई गम्भीर भएर सोच्न अनुरोध गर्छु । अन्यथा तपाईंको जातीय मोर्चा गोपाल खम्बुको जस्तो कुनै दलमा विलीन नहोला भन्न सकिन्न । नेपालका आदिवासी जनजातिले राज्यमा पहिचानको माग गर्दै आएका छन् । आफ्नो सांस्कृतिक मूल्य मान्यताको पुन: स्थापनाका लागि उनीहरूको आन्दोलनमा अगुवाइ गर्नु गलत होइन । तर, पहिचानका नाममा अन्य समुदायको पहिचालाई बिर्सएर उछालिएको जातीय मुद्दाले उनीहरूका हक अधिकार सुनिश्चित गर्न सहयोग गर्छ कि गर्दैन भन्नेतर्फ सोच्नु आवश्यक छ ।
कमरेड, जातीय कुरा गर्दा तपाईंजस्तो वर्गीय मुक्तिको आन्दोलनमा आफ्नो जीवनको ६० प्रतिशत अंश बिताएका व्यक्तिले सबै वर्गीय मुद्दालाई तिलाञ्जली दिएर जातीय अतिवादको वकालत गर्नु कति सान्दर्भिक होला ? अहिलेको जातीय मुद्दाले सबै खाले जातजाति, धर्म, वर्ण, क्षेत्र, लिंगको मन भाँडिएको छ । आपसी सौहाद्रता र सहिष्णुता खल्बलिएको छ । यसले देशलाई कुनै समयमा जातीय द्वन्द्वमा नलैजाला भन्न सकिन्न । तपाईंहामी जोकोहीलाई जातीय भड्कावले फाइदा गर्दैन । फाइता पुर्‍याउँछ त केवल अग्रगमनका विरोधी र प्रतिगामीहरूलाई । त्यसैले हामी सबैले राष्ट्रियतालाई माथमा राखेर सबै जातजाति, भाषा र समुदायका बीच सौहाद्रता कायम गरेर उत्पीडित र पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्ने साझा अभियानमा लाग्दा सबै नेपालीको हित गर्दैन र ?

प्रतिक्रिया