प्याराग्लाइडिङ र र्‍याफ्टिङको गन्तव्य बन्दै सुर्खेत

सुर्खेत, १९ भदौ । सुर्खेत प्याराग्लाइडिङ र र्‍याफ्टिङको गन्तव्य बन्नसक्ने भएको छ । सुर्खेतको भेरी नदीमा विदेशीले यदाकदा र्‍याफ्टिङ गरे पनि प्याराग्लाइडिङ भने यस क्षेत्रका लागि नयाँ हो । यी दुवै कार्यका लागि सुर्खेत उद्योग वाणिज्य संघले पहल थालेको छ । सुर्खेत हुँदै बग्ने भेरी नदीमा धेरै पहिलेदेखि नै र्‍याफ्टिङ सुरु भएको हो । धेरैजसो विदेशीले नै र्‍याफ्टिङको मज्जा लिने गरेका छन् । सुर्खेतमा राकम हँुदै तातापानी र घाटगाउँको कुइनेसम्म र्‍याफ्टिङका लागि महत्त्वपूर्ण मानिन्छ ।

र्‍याफ्टिङबाट पनि विदेशी मुद्रा आर्जन गर्न सकिने र त्यसका लागि आउने पर्यटकलाई एकदुई रात सुर्खेत बसाल्न सकिने वातावरण बन्यो भने यहाँको पयर्टनमा टेवा पुग्ने अपेक्षा सुर्खेत उद्योग वाणिज्य संघले गरेको छ ।
त्यसैका लागि संघले आफ्नो कार्य योजनाभित्र आगामी पुस मसान्तभित्र र्‍याफ्टिङको अवधारणा सार्वजनिक गर्ने योजना अगाडि सारेको छ । भेरी नदी मात्र होइन कर्णाली नदी पनि र्‍याफ्टिङका लागि उत्तम मानिएको छ । कर्णाली चिसापानी त यसको आधार क्षेत्र नै हो । भेरी नदीलाई र्‍याफ्टिङका लागि बढी प्रचारप्रसार गर्न आवश्यक रहेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए । तीन महिनाभित्र र्‍याफ्टिङको बढी सम्भावना भएको क्षेत्रलगायत अन्य कुराको अध्ययन गरी अवधारणा तयार गरिने अध्यक्ष शाही बताउँछन् ।
यसैगरी पुरानो सदरमुकाम गोठीकाँडाबाट पनि प्याराग्लाइडिङ थालिने छ । पुस महिनाभित्र प्याराग्लाइडिङको परीक्षण गरिने छ । पोखरामा प्याराग्लाइडिङ भइरहेको र सुर्खेतको भौगोलिक स्थिति पनि पोखराजस्तै भएकाले यहाँ पनि प्याराग्लाइडिङको सम्भावना भएपछि कार्य योजनामा पारिएको संघले जनाएको छ । गोठीकाँडादेखि सुर्खेत उपत्यकासम्म प्याराग्लाइडिङ गरिने भनिएको छ । यी दुवै कार्यका लागि चितवन, पोखराका व्यवसायीसँग पहिलो चरणको छलफलसमेत गरिसकिएको छ ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जिविसलगायत अन्य कार्यालयसँग पनि सो विषयमा छलफल गरिने संघका अध्यक्ष शाहीले बताए । ‘दुवै कार्यका लागि बाह्य लगानी भि×त्र्याउन पनि कोसिस भइरहेको छ,’ उनले भने । र्‍याफ्टिङका लागि नदीका आधार क्षेत्रमा सुरक्षाको व्यवस्था र राम्रो होटल बनाउन आवश्यक छ । दुवै कार्यलाई पूर्ण रूपमा सुरुआत गरिने शाही बताउँछन् ।

प्रतिक्रिया