निगमको घाटा एक अर्ब १७ करोड

काठमाडौं, १८ भदौ । नेपाल आयल निगमको मासिक घाटा एक अर्ब १७ करोड ५१ लाख रुपियाँ पुगेको छ । भारतीय आयल निगम
(आइओसी) ले १ सेप्टेम्बरमा पठाएको पेट्रोलियमको नयाँ मूल्य सूचीअनुसार निगम घाटा गत महिनाभन्दा बढेको हो ।
गत महिना अर्थात् १६ अगस्टमा निगमको घाटा ४१ करोड थियो । तर, अहिले निरन्तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटा बढ्दै गएको निगमले जनाएको छ ।
करिब एक महिनाबीचमा मात्र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निकै बढेकाले निगमले घाटा बढ्दै गएको जनाएको छ । यसले करिब चार वर्षपछि नाफामा देखिएको निगम फेरि ठूलो घाटामा जाने भएको देखिएको छ । निगमका कामु महाप्रबन्धक सुरेशकुमार अग्रवालले नाफा/घाटा अन्तर्राष्ट्रिय बजारसँग निर्भर रहेकाले विदेशी बजारमा मूल्य वृद्धि हुँदा घाटा बढेको जनाए ।
भारतीय आयल निगम (आइओसी) ले १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । आइओसीले एक सेप्टेम्बरमा पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १५ पैसा, डिजलमा १३ रुपियाँ ४९ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर चार सय १२ रुपियाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ । यस्तै, नयाँ मूल्य सूचीअनुसार मट्टीतेलमा प्रतिलिटर तीन रुपियाँ ७४ पैसा, आन्तरिक हवाई इन्धनमा नौ रुपियाँ ६९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धनमा २१ रुपियाँ ९ पैसा नाफा रहेको जनाएको छ । योसँगै निगमलाई पेट्रोलमा २६ करोड, डिजेलमा ८७ करोड ६७ लाख र एलपी ग्यासमा ४९ करोड ४७ लाख कुल घाटा रहेको निगमले जनाएको छ । यस्तै, मट्टीतेलमा दुई करोड २४ लाख, आन्तरिक हवाई इन्धनमा दुई करोड ९१ लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा १४ करोड ७६ लाख कुल घाटा रहेको निगमको दाबी छ । यसले समग्र घाटा बढेको जनाएको छ । आइओसीले पठाउने मूल्य विगतभन्दा बढी भए पनि नेपाली बजारमा पेट्रोलियको मूल्य नबढ्ने भएकाले घाटा वृद्धि हुने निगम अधिकारीको तर्क छ । निगम भने महँगोमा किनेर ल्याएको पेट्रोलियम सस्तोमा बिक्री गर्नुपर्दा घाटा चुलिँदै गएको जनाउँदै आएको छ । निगमले गत १ अगस्टमा भारतीय आयल निगमले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर सात रुपियाँ ३५ पैसा, मट्टीतेलमा १० रुपियाँ ६२ पैसा, आन्तरिक हवाई इन्धनमा १६ रुपियाँ ५० पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा २१ रुपियाँ ८९ पैसा नाफा रहेको जनाएको छ । तर, एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय ५ रुपियाँ ९६ पैसा र डिजेलमा प्रतिलिटर ५ रुपियाँ ४१ पैसा घाटा रहेको निगमले जनाएको थियो । त्योबेला निगम घाटा १६ करोड ४७ लाख थियो । यसअघि एक जुलाईमा आइओसीले पठाएको मूल्यअनुसार निगम चार वर्षपछि १३ करोड ११ लाख मासिक नाफामा आएको थियो । सो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले १३ करोड ११ लाख नाफा भएको निगमको दाबी छ ।
तर, त्यसको १५ दिनपछि निगमको नाफा एक करोड ३२ लाख मात्र सीमित भएको थियो । नेपाली बजारमा भएको मूल्य वृद्धि र विदेशी बजारमा कच्चा तेलको मूल्य गिरावटले आशालाग्दो नाफामा देखिएको निगम १६ जुलाईमा भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार एक करोड ३२ लाख नाफामा झरेको भए पनि त्यसको १५ दिनपछि अर्थात् १ अगस्टमा भने एकैपटक १६ करोड ४७ लाख घाटामा आएको थियो ।

प्रतिक्रिया