अफगान सैनिकलाई अमेरिकी तालिम

वासिंगटन, १८ भदौ । अफगा–निस्तानमा अमेरिकी विशेष बलद्वारा नयाँ अफगान सिपाहीलाई तालिम दिने समाचारमा जनाइएको छ । स्थगित रहेको उक्त तालिमको कार्यक्रम अब सुरु हुने अमेरिकी विशेष बलका कमान्डरले बताएको द वासिंगटन पोस्टले शनिबार जनाएको छ । तालिममा २७ हजार सिपाहीले तालिम पाउने पनि समाचारमा उल्लेख छ ।
यस वर्ष आफ्नै अफगान सहकर्मीबाट ४५ जना नेटोआबद्ध विदेशी सैनिकको हत्या भएपछि यो तालिम स्थगित भएको समाचारमा उल्लेख छ । अफगानिस्तानमा करिब एक दशकदेखि अफगान सरकारको सहयोग गर्दै तालिबानसँग युद्धरत एक लाख ३० हजार विदेशी सैनिक छन् । नेटो सैनिकलाई सन् २०१४ को अन्त्यसम्म फर्काउने अमेरिकाको नीति सार्वजनिक भइसकेको छ ।
त्यसपछि युद्धग्रस्त आफ्नो देशको सुरक्षाको भार अफगान सैनिकले लिनुपर्नेछ । अफगान सुरक्षाबलले केही प्रान्तमा सुरक्षाको जिम्मेवारी लिने काम यसअघि नै सुरु गरिसकेको छ । तर, सन् २०१४ पछि सम्पूर्ण जिम्मा अफगान सैनिकमाथि आउने हुनाले यस प्रकारको तालिमको बन्दोबस्त अमेरिकाले गरेको समाचारमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया