गुलियो एकादेशको कथा

प्रा.डा. केशवप्रसाद उपाध्याय, समालोचक

स्वभावले शिष्ट, परिश्रमले विशिष्ट अनि नाट्य क्षेत्रको सोधखोज र अनुसन्धानमा सदा कर्तव्यनिष्ठ छन् वरिष्ठ समालोचक प्रा.डा. केशवप्रसाद उपाध्याय (घिमिरे) । उमेरले चार बीस छुन एक वर्ष बाँकी रहेका यी दुई छोरा र एक छोरीका पिता परिवारसाथ चाबहिलको सरस्वतीनगरमा बस्छन् ।

नाट्य विधाका डाक्टर केशव आफ्ना रोगको प्रेमपूर्ण मृदुस्वरमा प्रसारण गर्दै भन्छन्, ‘कम्मर दुख्ने रोग पहिलेदेखि नै थियो । बेलाबेलामा पेट पनि गडबड भई नै रहन्थ्यो । एमआरआई गर्दा डाक्टरले कम्मर दुख्ने रोगलाई नसा च्यापिएको भने । के गर्नु धेरैबेर हिँड्न पनि नहुने र एउटै आसनमा लगातार बस्न पनि नमिल्ने ।’ पावरदार चस्माको डन्डी मिलाउँदै उनी फेरि छोटकरीमा भन्छन्– ‘के गर्ने, नेपाली साहित्यप्रतिको आफ्नो कर्जो र गर्जो टार्दै छु ।
आफैँले चाहिँ रंगमञ्चमा कहिले अभिनय नगरेका नाट्य गुरु केशव सेतो कपाल कन्याउँदै अनि कोलेस्ट्रोलका औषधि घुटुक्क निल्दै सोफामा केहीबेर उत्तानो पर्छन् अनि उठ्छन् । त्यसपछि आफ्ना आनन्दका क्षणबारे गफिन थाल्छन्, ‘यसरी पल्टिँदा कम्मर दुख्दैन, आनन्द आउँछ । तर पनि हामी लेखपढ गर्ने मान्छेको जीवन यसरी सुतेर आनन्दमय त कहाँ होला र †’ गिजा दुख्ने रोगले प्राय: झरिसकेका दाँत देखाउँदै मुसुमुसु हाँस्दै थिए उनी ।
‘आफूलाई हरिश्चन्द्र भन्न त मिल्दैन, विधिव्यवहार मिलाउन पक्कै झूटको खेती गरियो होला’, एकछिन मौन रहेपछि उनी एउटा सामूहिक झूटबारे भन्छन्, ‘राजविराजमा पढाउँदा बैंकमा काम गर्ने एक कर्मचारीको कालगतिले मृत्यु भयो । उसका चार–पाँच जना स–साना छोराछोरीको बिजोग देखेर गाउँमा सल्लाह भयो, सबैले ऊ कालगतिले मरेको होइन, माथि छतबाट ओर्लिंदा खुट्टा लटपटिएर अल्झेर टाउकामा चोट लागेर ठहरै मर्‍यो भन्ने निधो गरे । सबैले बिमा कम्पनीको मानिस आउँदा रिट्ठो नबिराई त्यही कुरा दोहोर्‍याइदियौँ ।’
दैनिक पाँचथरी औषधि सेवन गर्दा महिनाको चार हजारजति त्यसैका लागि खर्चनुपर्दो रहेछ उनले । ०११ सालदेखि ५३ सालसम्म देशका विभिन्न विद्यालय तथा महाविद्यालयमा अध्यापनरत रहेका केशव आफूले पढाएको पहिलो पाठशालाको पहिलो कक्षा सम्झँदै सुदूर अतीतमा पुग्छन्– त्यतिखेर मकवानपुर गढीमा हिउँदको समयमा यता टाले उता चुहिने र उता टाले यता चुहिने छाप्रोमुनि १५–२० विद्यार्थी ओछ्यान लिएर आउँथे । उनलाई राडी ल्याइदिन्थे अरे † उनी त्यही राडीमा आसन जमाएर पढाउँथे । त्यति बेला उनको तलब ४० रुपियाँ र पियनको ३० रुपियाँ थियो रे † अतीतबाट वर्तमानमा फर्कंदै उनी भन्छन्– ‘जीवनको अन्तिम कक्षा पढाएर निस्कँदा टाउको हलुका भए पनि शून्य–शून्य बुचो–बुचो लाग्यो ।’
कुनै बेला गुलियो खुब मन पराउँथे, सुगरले च्यापेपछि त्यो पनि एकादेशको कथाजस्तो भएको छ । भेट्टाएदेखि कलिलो दहीचाहिँ मनपर्छ । उनी आफ्नो खान्कीको बान्की प्रस्तुत गर्छन्, ‘खानामा खासै लगाब र झुकाब छैन । जे भेट्टायो वा जे दियो खाइदिन्छु, बुढेसकालमा खाने रुचि पनि घटेर ‘चरी आहार’ गर्न मन लाग्दोरहेछ । जिब्रोको स्वाद पनि क्रमश: घट्दै जाने रहेछ । आँतले पेट खाली भएको चाल पाउँछु, दाँतले गर्दा स्याउ खान पनि महाभारतको लडाइँ लड्नुपर्छ । कोरेसोमा कोरेर अनि बफ्याएर वा ग्राइन्डरमा धयाइँ पारेर खानुपर्छ ।’
बाल्यकालको एउटा घटना सम्झन्छन् । उनकी विमातालाई सर्पले हातमा टोकेछ । उनी दौडँदै गाउँको झारफुक गर्न जान्ने मान्छे निस्फिक्रालाई बोलाउन गए । निस्फिक्राले खोरबाट पाँचवटा चल्ला टिप्यो र उनीसँगै घरमा आयो । निस्फिक्राले हातारहतार विमातालाई सर्पले डसेको ठाउँमा चल्लाको विस्ट्याउने अंग छुवायो । चल्ला चिँ.. चिँ र पिँ… पिँ गर्दै छट्पटिन थाल्यो । एकछिनपछि चल्ला शान्त भयो, उसले मरेको चल्ला एकातिर राख्यो । पाँचौँ चल्ला मरेपछि बल्ल विमाता बौरिइन् रे । त्यो अचम्मको इलाज सम्झिँदा उनलाई अहिले पनि महाअचम्म लाग्दो रहेछ ।
एक महिनाको फरकमा सुगरको डाक्टरलाई भेट्ने, तीन महिनामा एकचोटि सम्पूर्ण शरीरको चेकअप गर्ने, दिनहुँ आधा बाल्टी तातो पानीले भंगेरी स्नान गर्ने, दिउँसो समय मिलाएर एक घन्टा सुत्ने, टिभीमा पुरानो फिल्म र धाराबाहिक हेर्न रुचाउने, पूजापाठ र ध्यानमा दैनिक आधा घण्टा समय लगाउने, बिहान ५:३० मा उठेर राति १० बजे सुत्ने उनको बानी रहेछ । आफू प्रज्ञामा रहेका बेला भएको विदेश भ्रमणको सन्दर्भ झिक्छन् उनी । परिषद्को मिटिङमा एक जना चल्तापुर्जा प्राज्ञले चीन जाने टोलीमा उनको नाम जोडदार रूपमा सिफारिस गर्दै भने, ‘केशव सरले अहिलेसम्म भारतबाहेक कतै भ्रमण नगरेकाले वहाँलाई पहिलो ६ जना जाने लटमै लानुपर्छ । तिनले दरो अडान लिएका कारण उनको नाम जाने ६ जनामा पर्‍यो । पासपोर्ट पनि बनाए । जाने दिन नजिक आएपछि भिसाका लागि आवेदन दिनुअघि फेरि मिटिङ बस्यो । तिनै चल्तापुर्जा प्राज्ञले दह्रो र खरो स्वरमा फेरि भने, ‘खै † केशव सरले आफू जाने/नजानेबारे केही प्रतिक्रिया दिनुभएन, अरूलाई नै छानियो ।’ उनको ठाउँमा अर्कै जल्दाबल्दा र खाइलाग्दा प्राज्ञको नाम सिफारिस गरिदिएका रहेछन् । यसरी यात्रामा जानुअगावै आफ्नो पहिलो विदेश भ्रमण तुहेर गएको कुरा हाँस्दै सम्झिरहेका थिए उनी ।
म पनि कस्तो हुस्सु, ती चल्तापुर्जा र जल्दाबल्दा दुई भाइ प्राज्ञ को हुन् त भन्ने सोध्दै नसोधी अभिवादन गर्दै बिदा भएर हिँडिसकेछु ।

प्रतिक्रिया