अव्यवस्थित सहरीकरण

बढ्दो जनसंख्या र अव्यवस्थित सहरीकरणका कारण काठमाडौं उपत्यका यतिबेला अस्तव्यस्त बनिसकेको छ । कतै सार्वजनिक जग्गा अधिग्रहण गरेर घरहरू निर्माण गरिएका छन् भने कतै भवन निर्माणसम्बन्धी प्रक्रिया नपुर्‍याई बनाइएका भवन तथा निर्माण संरचनाले काठमाडौंको मुहार दिनानुदिन कुरुप बन्दै गइरहेको छ । यतिसम्म कि अब एक्लो काठमाडौं महानगरपालिकाको प्रयासले मात्रै यो सहरको पुन:संरचना गर्न सकिने अवस्था रहेन । विगतमा पनि केशव स्थापित महानगरपालिकाको प्रमुख हुँदा केही पुराना संरचना भत्काएर अलिकति भए पनि व्यवस्थित बनाउने प्रयास गरेका थिए । तर, उनको एक्लो प्रयासले पनि यसले पूर्णता प्राप्त गर्न सकेन । पछिल्लोपटक प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले सडकपेटी मिचेर महानगरपालिकाबाट स्वीकृति नलिई बनाइएका संरचनाहरू भत्काउन थालेको छ । स्थानीयवासीले आफ्नो व्यक्तिगत स्वार्थका कारण सरकारको यो कदमको विरोध गरे पनि यसले यो अव्यवस्थित सहरीकरणको वर्तमान अवस्थालाई केही हदसम्म सहज बनाउने छ । यससँगै सडक क्षेत्र बिस्तार हुँदै उपत्यकाको ट्राफिक जामको समस्या पनि थोरबहुत समाधान हुनेछ । घन्टौँसम्म जाममा समय व्यतीत गर्नुपर्ने बाध्यता यसले समाधान गर्न सक्छ । तसर्थ, अव्यवस्थित तबरबाट बनाइएका संरचनाहरू भत्काएर यो काठमाडौं सहरलाई कुरुप हुनबाट जोगाउनै पर्छ ।

प्रतिक्रिया