मत-विमत

पुस्तक फेर्दै म, मलाई फेर्दै पुस्तकहरू

सौर्य अनलाइन २०६९ भदौ १६ गते २:०८ मा प्रकाशित

सायद म तिनै ‘भाग्यमानी’मध्ये एक हुँ, जसले आमाका स्तनसँगै कागज चुस्ने मौका पायो, मुखमा माड हाल्नुअघि कागज हुल्ने र हलो देख्नुअघि कलमले कागजमा केर्ने मौका पायो । चार वर्ष नपुग्दै जसले ठूलो वर्णमाला स्वात्तै निल्यो, त्यसका उत्तरखण्डमा राखिएका फलफूल र तरकारीका अंग्रेजी नाम कण्ठ गरिदियो, तिनका चित्र पनि नक्कल गरिदियो, अरू धेरैजना चकित पर्ने गरी तिनका हिज्जेसमेत बताइदियो । त्यसैले उसले आफ्नो गाउँको प्राइमरी स्कुलमा शिशु वर्गमा बस्नै परेन ।
विद्यालय कालमा पाठ्पुस्तकभन्दा बाहिर गएरै बढी पढ्ने आदतका कारण म साहित्यतिर तानिएँ क्यार † त्यतिबेला जे उपलब्ध हुन्थे त्यही पढियो । विद्यालय तह उक्लेपछि मेरो बाटो ओरालो लाग्यो । कलेज पढ्ने आकांक्षामा तुषारापात भयो । म मास्टर भएर सुदूर गाउँमा पुगेँ, जहाँको जीवन कष्टकर मात्र थिएन, मेरो जत्तिको हीन जीवनलाई पनि पाठ पढाइदिने क्षमता राख्थ्यो । त्यहाँ किताब त पाइँदैनथ्यो, हजारौँ किताब लेख्न मिल्ने विषय र चरित्र भने त्यहाँ मौजुद थिए । किताबमा असीम विश्वास राख्ने तर किताबको मुख देख्न नपाउने त्यस ठाउँमा म दिव्य तीन वर्ष रेडियो सुनेर बसेँ ।
नेपालगन्जको शैक्षिक यात्रामा म फराकिलो हुन थालेँ । केही बजारमा पाइन्थे, केही महेन्द्र पुस्तकालयमा । त्यहाँ नपाइने पुस्तक लिन लखनौ पुगिहालिन्थ्यो । अमिनावाद पार्क पुगेपछि आफूसँग पैसा भए मुताबिकका पुस्तक प्राप्त भइहाल्थे । हिन्दी साहित्यका कतिपय ख्यातिलब्ध पुस्तकहरू मैले त्यसैबेला पढ्ने मौका पाएँ । अंग्रेजी साहित्यसँगको सामान्य परिचयलाई गहिर्‍याउन भने मैले काठमाडौंकै यात्रा तय गर्नुपर्ने भयो । कतिपय कारणले मलाई काठमाडौंको चुम्बकले तान्यो, ठूलो शुष्क सरोबरको माछा बन्न यस उपत्यकामा प्रवेश गरेँ मैले । माक्र्सवादप्रतिको निष्ठा र आन्दोलनमा संलग्नता आदि कतिपय कारणले मैले त्यतिबेला प्रगति प्रकाशन मास्कोलगायत कतिपय रेनमेनरिबाओका (चिनियाँ प्रकाशन गृह) का किताब छिचोलेँ । पुस्किनदेखि चेखब, दोस्तएब्स्की, लेर्मेन्तोभ, गोर्की, सोलोखोब, आस्त्रोब्स्की, आइत्मातोभ, गोगोल, तुर्गनेव र लेर्मेन्तोभ, आन्ना आख्मातोभा, के पढिएन र † माओ, लु सुन, माओ तुन, कोमोजो, याङ मो, आइ छिङ कतिका पुस्तक पढिएन र † तर पाभेल कर्चागिन, पाभेल र बेलाजस्ता चरित्र कहिल्यै भुलिनेछैनन् ।
हो, जब काठमाडौं छिरियो, अध्ययनको क्षेत्र फराकिलो बन्न लाग्यो । नयाँसडकको अमेरिकी पुस्तकालय र भारतीय पुस्तकालयमा समय बित्न थाल्यो । पोयट्री र न्युयोर्कर पढ्न थालियो । रवीन्द्र, शरत्चन्द्रदेखि, भुवनेश्वरका नाटक, बादल सरकारका ‘एवं इन्द्रजित’, ‘जुलुस’ र विजय तेन्दुलकरका ‘गिधाडे’, ‘सखाराम बाइन्डर’ आदि नाटक निकै पढिएका थिए त्यसबेला । हजारीप्रसाद द्विवेदीका ‘अनामदासका पोथा’ र ‘वाणभट्टकी आत्मकथा’ मात्र होइन, ‘अशोक के फूल’ शीर्षकको निबन्ध त्यसैबेला पढेँ । गहन किसिमले मैले समीक्षा पढेको समय पनि त्यही थियो । नामवर सिंह, मैनेजर पाण्डे, शिवकुमार मिश्र आदि नामी समालोचकका पुस्तक पढियो । मुक्तिबोधको ‘नयाँ कविताको आत्मसंघर्ष’ ले ममा गहिरो प्रभाव छोड्यो ।
एकपटक मेरो हातमा अमेरिकी कवि कार्ल स्यान्डवर्गको एउटा सानो पुस्तक हात पर्‍यो । त्यतिबेला म ‘फिफ्टी अमेरिकन पोयट्स’ र ‘क्यारेबियन स्टोरिज’ पढिरहेको थिएँ । फुटकर कविता पढेको हुनाले
मलाई उनका कविताले दिनसक्ने प्रभावबारे रामै्र अनुभव थियो । त्यसैले त्यो पुस्तक एकैदिनमा पढिसकेँ र ‘लिबर्टी’ शीर्षक कविताको त अनुवादसमेत गरिभ्याएँ । फिल्म जगत्मा जति नाम स्ट्रिन्डवर्गको थियो, कवितामा एलेन गिन्सवर्गले दुनियाँ पिटेको समय थियो त्यो । त्यसमै थपिएका अर्का वर्ग थिए स्यान्डवर्ग । यी तीन वर्ग अद्यापि मेरा प्रिय नाम हुन् ।
मैले त्यतिबेलासम्म जर्मन लेखक, कविहरू पनि पढ्न भ्याएको थिएँ । तीमध्ये एकदमै छिटो प्रभावित गर्नेमा बर्तोल्त ब्रेख्त थिए । मैले भेटाएजति तिनका कृति पढेँ । सम्भवत: सबैभन्दा बढी उनका कविता अनुवाद गरेको रहेछु मैले । उनका केही नाटक पनि पढेको छु तर, मलाई उनले लेखेका कविता निकै छरिता, व्यंग्यपूर्ण र साहसिक कलात्मक प्रक्षेपणका नमुनाजस्ता लाग्छन् ।
हुन त अल्वेयर कामुका ‘द फल’, ‘द स्टान्जर’, ‘द प्लेग’ जस्ता विख्यात आख्यान र ‘कालिगुला’ र ‘द क्रस पर्पस’जस्ता नाटक पढियो तर दक्षिण अफ्रिकी उपन्यास ‘द डिस्ग्रेस’मा छोरीको बलात्कारको दृश्य हेरिरहेको मेरै उमेरको गोरे प्रोफेसरलाई कसरी भुल्न सक्छु म ? शरत्चन्द्रको जीवनचरित्र ‘आबारा मसीहा’ले लामो समय मजस्तो सामान्य एक लेखकको सोचलाई बदलिदिएको थियो । जापानी युकिओ मिसिमाको ‘द टेम्पल अफ डान’ वा होस् बंगाली समरेश वसुको ‘वैरंग और लावारिस,’ म तिनका लेखनशैली र सोचप्रति निकै आकर्षित छु ।
नेपाली लेखकहरूले पनि ध्यान तानेका तान्यै छन् । सबै पढ्न पाइएको छैन । अमर न्यौपानेको ‘सेतो धरती’ हेर्न मन छ, अन्य युवाकवि र आख्यानकारका रचना हेरिरहेछु, तिनले पनि मलाई नेपाली लेखनप्रति अझ बढी आशावान् बनाइरहेका छन् ।
धेरै वर्षअघि कोलम्बियाली उपन्यासकार गाब्रियल गार्सिया मार्खेजको ‘लिफ स्टोर्म एन्ड अदर स्टोरिज’ भन्ने पुस्तक पढेपछि ममा ल्याटिन अमेरिकी साहित्यमा औधी नै रुचि बस्यो । त्यसअघि उनकै ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ को भाषाशैलीले मलाई कला कतिसम्म चामत्कारिक हुन सक्तोरहेछ भन्ने बोध गराइसकेको थियो ।

केही वर्षअघिको कुरा हो– एक दिन गोविन्द वर्तमानले मलाई मार्खेजको एउटा कथा एकै दिनमा अनुवाद गरिदिन भने र मैले त्यही दिन गरिदिएको थिएँ । त्यो मूल्यांकनको साहित्य अंकका लागि थियो । ‘बाल्थजार्स मार्बलस् नाइट’ शीर्षकको त्यस कथाको बुनोट र शैलीले मलाई अत्यन्त प्रभावित तुल्याएको थियो ।
चितवनका उत्साही युवा साहित्यकार, अध्येता र अंग्रेजीको प्राध्यापन गर्ने उदय अधिकारी पनि मेरो किताबका स्रोत भइदिएका छन् । जब म केही नयाँ पढ्ने मेसो पाइरहेको हुन्न, आफ्नो मनचिन्ते झोलाभरि पुस्तक ल्याएर यी मेरो घरभित्र छिर्छन् । र, केही थान किताब ‘दाइलाई पढ्न भनेर ल्याइदे’को, पढ्नू नि बूढा †’ भनेर थुपारेर जान्छन् । उनी अर्कोपटक आउन्जेल मैले पढिसकेको छैन भने फेरि नयाँ पुस्तक थपेर जान्छन् । मलाई अत्यास हुन्छ । के म यत्रा मोटा पुस्तक पढेर काठमाडौंमा बसिरहन सक्ने हैसियतको मानिस हुँ ? ओर्हान पामुकको ‘स्नो’, भिएस नैपालको ‘अ हाउस फर मिस्टर विश्वास’जस्ता दर्जनौँ पुस्तक मलाई पढाउने श्रेय उदय भाइलाई जान्छ ।
पछिल्लो समय गत वर्ष मात्रै सांग्रिलाका मणि शर्माले मलाई मेरो जन्मदिनको बेला पारी एक उपहार दिए । त्यो थियो लि क्वान युको ‘द सिंगापुर स्टोरी’, जो पढ्न मलाई करिब १ महीनाको समय लाग्यो । ६९१ पृष्ठको यो सिंगापुर गाथा साना मुलुकका नेता अभिनेतादेखि किशोरकिशोरी र वृद्धवृद्धासम्मले पढ्नैपर्ने पुस्तक हो भन्ने मलाई लाग्यो । संसारमै साना मुलुकमध्येको एक भएर पनि आजको समृद्ध दक्षिण पूर्वी एसियाली द्वीप राष्ट्र सिंगापुरको निर्माण गाथा कम्ती रोचक पाराले लेखिएको छैन । यसले नेतृत्वमा हुनुपर्ने दूरदर्शिता, कौशल, क्रियाशीलता र समर्पणका थुप्रै दृष्टान्त प्रस्तुत गर्छ ।
केही वर्षयता मेरो ध्यान अंग्रेजीमा लेखिएका वा अनुदित उत्कृष्ट आख्यान गैरआख्यानपट्टि एकोहोरिएको छ । करिब ३ महिनाभित्र मैले नौवटा पुस्तक पढेको थिएँ गत वर्ष, तीमध्ये मार्खेजको ‘लिभिङ टु टेल द टेल’ शीर्षकको आत्मकथा औधी रोचक लाग्यो । कोलम्बियाको यति अनौठो चित्रण छ, कि पढ्न थाले रोक्न मन लाग्दैन । तर, त्यसैबीच वरिष्ठ कलाकार तथा आर्किटेक्ट शंकरनाथ रिमालको सौजन्यमा साल्भाडोर डालीका बारेको एक निकै ठूलो ग्रन्थ पनि मैले पढ्ने मौका पाएँ, उनले आफ्नी पत्नी गालाका बारेमा लेखेको एउटा कविताको पनि अनुवाद गरेँ मैले । इम्प्रेसनिस्ट शैलीका उन्नायक पाउल सेजाँका बारेको गहकिलो कृति पनि पढ्न पाएँ । यिनले मलाई मभन्दा टाढाको दुनियाँबाट ल्याएर मेरै काठमाडौंको घरमा ज्ञानको अंश राखिदिए ।
मेरो फुच्चे आल्मारीमा अझै असरल्ल परेका छन् मार्खेजको ‘लभ इन द टाइम अफ कलेरा,’ ‘क्रोनिकल अफ डेथ फोरटोल्ड,’ जोन फौल्सको ‘द फ्रेन्च ल्युटिनेन्ट्स उमन’ । समकालीन नेपाली लेखनमा चम्किरहेका झलक सुवेदीको गोर्खा कथाले पनि मेरो पठनको स्पेस राम्रैसँग ओगट्यो– पछिल्लो समय । अब केही समय उत्कृष्ट कविता पढ्न पाए हुनेजस्तो लाग्दै छ । नयाँ नेपाली कविहरू खासगरी पुस्तकाकारमा विनोदविक्रम केसी, वैजयन्ती मिश्र, विश्व सिग्देल, सीमा आभासजस्ता कविलाई पनि पढ्न मन छ । यिनले नयाँ नेपाली कविताको निर्माणमा कस्तो हस्तक्षेप राख्छन् भनी हेर्न खोजिरहेको छु ।
म नयाँनयाँ र उत्कृष्ट किताबको खोजमा हुन्छु । किताब फेरिरहेको हुन्छु । तिनले पनि मलाई फेर्दै छन् । किताबको प्रभाव के हुने रहेछ भनी जाँच्न म स्वयं परीक्षणमा गइसकेको विद्यार्थी हुँ । हो, म फेरिएको छु भने, तिनै किताबले मलाई फेरिदिएका हुन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय